मेचीनगरका गाउँबस्तीहरु सडक सञ्जालले जोडिदै, कृषकलाई लाभ

१५ फागुन, मेचीनगर : गाउँसम्मै सडक कालोपत्र भएपछि झापा मेचीनगरका कृषकको उत्पादनले बजार पाउँदा उनीहरु खुसी भएका छन् ।

गाउँसम्मै सडक कालोपत्र भएपछि झापा मेचीनगर—३ का पुष्प गुरागाईँ प्रसन्न छन् । सडक कालोपत्र गरेका कारण कृषकका खेतबारीमै गाडी पुग्न थालेका कारण यहाँका किसानद्वारा उत्पादित सागसब्जी सजिलै बजार पुर्याउ सकिएको गुरागाईँको भनाई छ । गुरागाईँसहित अन्य तीनजना मिलेर मेचीनगर—३ मा संयुक्तपमा समृद्धि कृषि फर्म सञ्चालनमा ल्याएका छन् ।

उनीहरु मिलेर व्यवसायिकरुपमा तरकारी खेती गदैं आएका छन् । अहिले उनीहरुले उत्पादन गरेको सागसब्जी तथा फलफूलले सहजरुपमै बजार पाउन थालेपछि कृषिकर्ममा जुट्न आफूहरुलाई थप बल पुगेको फर्मका सञ्चालक डिल्लीराम दाहालको भनाई छ । दाहाल तीनवर्षसम्म बैदेशिक रोजागरीका लागि विदेश पुगेर फर्किएका हुन् ।

विदेशमा जे जति मिहनत र परिश्रम गरिन्छ त्यति नै स्वदेशमा गर्ने हो भने मनग्य आर्थिक लाभ लिन सकिने उनको प्रतिक्रिया छ । त्यही भएर वैदेशिक रोजगारीबाट फर्किएर उनले व्यवसायिक तरकारी तथा फलफूल खेती शुरु गरेको बताए । उनीहरुले अहिले ५ कठ्ठा जमीनमा खरबुजा, १० कठ्ठामा करेला, १० कठ्ठामा गोलभेडा र लहरे फर्सी खेती लगाएका छन् । यसअघि ५ कठ्ठा जग्गमा बन्दाकोपी लगाएर मनग्य आम्दानी गरिएको फमका सञ्चालक गुरागाईँले जानकारी दिए ।

मेचीनगरका गाउँगाउँमा सडक पुगेपछि त्यत्तिकै खेर गइरहेको बन्दाकोपीले राम्रो मूल्य पाउन थालेको छ । सडक नपुग्दासम्म किसानले बन्दाकोपी करेला (इस्कुस) लाई गाईवस्तुको कुँडो पकाएर दिने गर्थे । तर, अहिले गाउँगाउँमा सडक पुगेपछि यी वस्तुले मूल्य पाउनुका साथै घरघरमै व्यापारी पुग्ने गरेको अर्का सञ्चालक इन्दिरा दाहालको भनाई छ । दाहालका श्रीमान रामचन्द्र साउदी र कतार गरेर १३ वर्षसम्म विदेश बसेर फर्किएका हुन् । अहिले रामचन्द्रले पनि श्रीमतीलाई कृषि कर्ममा सघाउछन् ।

बर्सेनि खरबुजालगायत तकारी उत्पादनबाट राम्रो आम्दानी गरेर घर खर्च धान्दै आएका झापा मेचीनगर—६ का प्रकाश थापाले व्यवसायिक तरकारी खेतीको कमाईबाट सन्तुष्टी मिलेको प्रतिक्रिया दिए । प्रकाशले उत्पादन गरेका कृषिवस्तुको आम्दानीनै हो छोराछोरीको पढाई, दशै तिहारको खर्च टार्ने र पारिवार पाल्ने मुख्यःआधार हो । झापाको मेचीनगर —७ मा उनले व्यवसायिक तरकारी फलफूलको खेती गदैं आएका छन् ।

यहाँ उत्पादित वस्तु अहिले मेचीनगरका मुख्यः बजार काँकरभिट्टा, धुलावारी चारआली हुँदै नगर बाहिरसमेत निकासी हुने गरेको उनले बताए । यातायात सुविधा गाउँ–गाउँ पुगेपछि यहाँ उत्पादन भएका फर्सी, करेला, खरबुजा, साग, टमाटर, आलु, बोडीलगायतका उत्पादन खरिद गर्न भारतीय तथा नेपाली तरकारी व्यापारी विभिन्न स्थानबाट घर–घर गाडी लिएर आउने गरेको प्रकाशको भनाई छ । ‘सडक कच्ची हुँदा यात्रा गर्न निकै सकस हुन्थ्यो, धुलो र हिलोले सास्ती खेप्नु परेको थियो ’ प्रकाशले भने —अहिले कालोपत्र भएपछि व्यपारीलाई पनि सहज र सजिलो भएकोले गाडी लिएरै घर घर पुग्ने गरेका छन् । ’

कच्ची हुँदा यस क्षेत्रका स्थानीय व्यवसायीले मात्र होइन ठूल्ठूला व्यपारी समेतले हैरानी बेहोर्दै आएका थिए । मेचीनगर नगरपालिकाले नगरका अधिकाँश कालोपत्र गरी दिएपछि स्थानीयवासी खुसी भएका छन् । मेचीनगर नगरपालिकाको विभिन्न वडाका किसान अहिले व्यावसायिक रूपमै तरकारी खेतीमा लागेका छन् ।

‘यातायातको सुविधा नहुँदा धेरै समस्या थियो’ कृषक पुष्प गुरागाईँले भने—‘अहिले झापाको मेचीनगरका सडक नपुगेका गाउँबस्तीहरु सडक सञ्जालले जोडिदै गईरहेका छन् ।’अहिले गाउँबस्तीहरु जोड्ने सडक सञ्जालको शिलान्यास तथा उद्घाटन निक्कै हुने गरेको छ । सडक विस्तार भएपछि मेचीनगरका स्थानीयवासीका लागि सहज भएको छ । सडक विस्तार भएपछि स्थानीयले कृषि उत्पादनको बिक्री गरेर राम्रै आम्दानी गर्न सुरु गरेका छन् ।

सडक निर्माणपछि उत्पादित कृषि उत्पादन बिक्री गर्दै स्थानीयवासीहरूले लाभ लिईरहेका छन् । मेचीनगरका सडकले आर्थिक समृद्धिको ढोका खोलेपछि स्थानीयवासीको जीवनशैलीमा पनि परिवर्तन आएको नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ ।

सडक सञ्जाल विस्तार भएपछि कृषि उत्पादन बेचेर स्थानीयले राम्रै आम्दानी गर्न थालेको उनको भनाई छ । सडकले गाउँ जोडेपछि अहिले किसानहरूले सडकसम्म निकालेर बेच्दै आम्दानी लिन थालेको उनले जानकारी दिईन् । सडक सञ्जाल विस्तार भएपछि स्थानीय पनि जाँगरिलो बनेका छन् ।

नगरपालिकाका पूर्वाधार शाखा प्रमुख इञ्जिनियर रोशन रिमालका अनुसार पहिलो पटकको स्थानीय तहको निर्वाचन भएयता नगरपालिकालेमात्र करीव ७० किलो मिटर सडक कालोपत्र गरेको छ । संघीय र प्रदेश सरकारले समेत नगरका विभिन्न वडामा कालोपत्रका लागि बजेट विनियोजन गरी सडक कालोपत्र गरेको इञ्जिनियर रिमालको भनाई छ ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.