१३ चैत, मेचीनगर – गतिलो रोजगारी भेटिएन भन्दै विदेशिने युवाका लागि गतिलो प्रेरणाका स्रोत बनेकिछन् झापा मेचीनगर—७ की चन्दा रिजाल । ३५ वर्षीया रिजालले गाउँमै बसेर च्याउखेतीमार्फत वार्षिकरुपमा तीनदेखि चारलाख रुपैयाँ आम्दानी गरीरहेकी छन् । स्थायीरुपका दुईवटा टनेलमा च्याउखेती गरिरहेकी उनलाई अहिले ७० वर्षीय ससुरा र ६५ वर्षीया सासूआमाले पनि साथ दिएका छन् ।
अहिले झण्डै १० धुर जग्गामा टनेल बनाएर उनले गरेको च्याउखेतीले गतिलै आम्दानी दिइरहेको छ
गतवर्ष गाउँमै ५० रुपैयाँ पावा वा प्रतिकेजी दुईसय रुपैयाँसम्म लिएर च्याउ बेचेको अनुभव सुनाईन् । च्याउको बजारका लागि पनि समस्या नभएको उनको अनुभव छ । रिजालले उत्पादन गरेको च्याउ मेचीनगरका गाउँ गाउँमा पुग्ने र आफैंले घरदैलोमा पुर्याउने बताइन् । कति ब्यापारीले उनको उद्योगमै पुगेर उठाउँछन् । उनले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेकी छन् । यसबाट उनको जीवनयापन सहज बन्दै गएकोमा यो खेतीबाट उनी निक्कै खुशी छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेको र च्याउ खेती रोजेपछि आम्दानी गतिलो स्रोत बनेको रिजालको भोगाई छ । घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती सँगै रमाउन पाएकोमा धेरै खुशी पनि छन् उनी ।
युवाहरू रोजगारको खोजीमा विभिन्न देश पुग्ने गरेका छन् । तर उनले गरेको लोभलाग्दो च्याउ खेती एक उदाहरण बनेको स्थानीय मणिराम काफ्लेको भनाई छ । करीब छ लाख लगानीमा च्याउ खेती सुरु गरेका रिजाल यतिबेला यही खेतीबाट राम्रो आम्दानी लिँदै अहिले १० देखि १२ लाख रुपैयाँको जेथो भएको बताउँछिन् । सातवर्षअघि स्थानीय जोरसिमल सहकारी संस्थाबाट च्याउ खेती सम्बन्धी तालिम लिएर त्यस लगत्तै उनले व्यवसायिकरुपमा च्याउ खेती शुरु गरेको उनको भनाई छ । त्यस लगत्तै करीब छ लाख रुपैयाँको लगानीमा सरस्वती च्याउ उद्योग दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएकी छन् । दुईवटा टनेलमा च्याउ खेती गर्दै आएका उनले दैनिक दुई सयदेखि दुईसय पचास किलो च्याउ उत्पादन गर्दै आएको बताईन् ।
गाउँमै च्याउ खेती सुरु गरेकी उनी मात्रै व्यवसायी बनेकी छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेकि छन् । प्याकेजिङ्गको समयमा उनको उद्योगबाट ७÷८ जनाले रोजगार समेत प्राप्त गरेका छन् । अन्य समय आफूले घरपरिवारबाटै साथ सहयोग प्राप्त गर्ने गरेको रिजालले बताइन् । उनका श्रीमान वैदेशिक रोजगारका लागि साउदी पुगेका छन् । अब श्रीमानलाई समेत स्वदेश फर्काएर यहि खेतीमा लगाउने योजनामा रहेकी उनका श्रीमान स्वदेश फर्किन तयार छन् ।
‘पराईको भूमिमा गरेको श्रम र मिहिनेत आफ्नै गाउँमा गर्ने हो भने रोजगारका लागि भौतारिरहनु पर्दैन । व्यवसायी हुँदै गाउँमै रोजगारको सिर्जना गर्ने लक्ष्यका साथ च्याउ खेती सुरु गरेको हुँ । जहान परिवारसँगै रमाउँदै घरमै सुरु गरेको व्यवसायबाट हामी खुसी छौं, अब श्रीमान समेत विदेशबाट स्वदेश फर्किनु हुँदैछ’ चन्दाले भनिन् । च्याउ बिक्रीबाट मात्रै एक सिजनमा लाखौं रुपैयाँसम्म आम्दानी लिँदै आएको उनले बताईन् । बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ मेचीनगरका हरेक वडा र अन्य बजारमै खपत हुँदै आएको छ । उनले उत्पादन गरेको च्याउ बजारमा दुई सय ५० रुपैयाँले बिक्री हुँदै आएको छ । ‘च्याउबाट आम्दानी भरपुर छ’ उनी भन्छिन् –‘ सधैँ एकनासको कमाई हुँदैन ।’ व्यवसायी रञ्जन कार्कीका अनुसार स्थानीयस्तरमा उत्पादन गरिएको च्याउले स्थानीय हाटबजारमा राम्रो भाउ पाउने र भाउ नपाए अन्यत्रतिर पनि लैजानुपर्ने हुन्छ ।
उनी च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । उद्योगमा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पु¥याउने, फर्मको हेरचाहमै उनको दिन बित्ने उनले सुनाईन् । स्थानीय सरकारले समय समयमा प्रदान गरेको तालिमलगायत अन्य कारणले धेरै राहत मिलेको उनको प्रतिक्रिया छ ।
यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पनि पर्ने तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुनपर्ने उनले बताईन् । यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता मिल्ने गरिवी निवारण लघु उद्यम विकास कार्यक्रमकी गंगा सोरेनको भनाई छ । गाउँमा च्याउखेतीको तालिमका लागि योजना बनाएर स्थानीय सरकराले सहयोग गर्ने, विभिन्न संघ–संस्थाले गाउँ–गाउँमै पुगेर यस्ता तालिम चलाइरहेको सोरेनको भनाई छ ।
च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिने मेचीनगर नगरपालिकाका कृषि विज्ञ टेकेन्द्र प्रधानको भनाई छ । त्यस्तै, गाउँमा आफ्नै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिने । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त नहुने प्रधानको भनाई छ ।