गाईपालनमा रमाउदैं पूर्व जनप्रतिनिधि

१९ चैत, मेचीनगर  : देशभित्रै प्रशस्त अवसर हुँदाहुँदै पनि रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर केही त्यस्ता पनि छन्, जो देशभित्रै बसेर कृषि र पशुपालनमा रमाइरहेका छन् ।
झापा मेचीनगर —८ का राजकुमार कार्कीले आफ्नो जीवनका अधिकांश वसन्तहरु जनप्रतिनिधि भएर र विदेशमा श्रम गरेरै विताए । जनप्रतिनिधि हुँदाको बखत त ठिकै लागछ उनलाई तर, वैदेशिक रोजगारका लागि विदेशी भूमिमा विताएका ती दिनहरु सम्झदा अहिले पछुतो लाग्छ ।

जनप्रतिनिधि भएर गरेका कामबाट उनी त खुसी नै भए, तर विदेशमा पुगेर ठग्गिएर त्यहाँ विताएको उमेर र समय सम्झिदा भित्रभित्रै मन बेखुसी छ । उनले १२ वर्ष विदेशी भूमिमा पसिना बगाए । आफ्नो परिश्रम सीप बेचेर जीवन गुजारे । विदेशिनु अघि केही सामाजिक सेवाको काममा समेत उनी तल्लीन थिए । यही सिलसिलामा २०४८ सालको स्थानीय निकायको निर्वाचनमा तात्कालिन नगरउन्मुख काँकरभिट्टा गाविसको वडा नम्बर—६ को वडाध्यक्षको टिकट पाए । जनताले उनलाई जिताएर नगरउन्मुख काँकरभिट्टा गाविसको जनप्रतिनिधि बनाइदिए ।

झापा जिल्लाका दुई प्रमुख बजारहरू काँकरभिट्टा र धुलावारीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर मेचीनगर नगरपालिका घोषणा गरियो । तात्कालिन वडानम्बर —६ वडा नम्बरमा —७ मा परिणत भयो । वि.सं. २०५४ को पहिलो चुनावमा नेपाली काँग्रेसकातर्फबाट कार्कीले वडा नम्बर —७ को वडाध्यक्षमा टिकट पाए । चुनावमा बाजी मारेकै कारण वडा नम्बर —७ को वडाध्यक्ष निर्वाचित भई वि.सं. २०५९ को असार मसान्तसम्म पदमा बहाल रहेका थिए । जनप्रतिनिधि भएपछि वडावासीको काम र सामाजिक कार्यमा व्यस्त बने राजकुमार ।

जतिबेला स्थानीय जनप्रतिनिधि विहीन बने त्सवेला उनी वैदेशिक रोजगारका लागि मलेसिया हानिए । त्यहाँ उनले १२ वर्ष विताए । शुरुमा एउटा काम गर्ने भनेर एजेण्टमार्फत त्यहाँ पुगेका कार्कीले पोल्ट्र ीफर्ममा काम पाए । दुःख सुःख त्यही काम गरे । तर, त्यस काममा उनको चित्त बुझेकै थिएन् । ‘शुरुमा एउटा काम गर्ने भनेर मलाई त्यहाँ लगियो त्यहाँ पुगेपछि अर्के काममा लगाईयो’ कार्कीले भने—‘ तर, पनि गएको ऋण तिर्नु नै थियो र, १२ वर्ष विदेश बसेर फर्के । ’

विदेशबाट फर्किएपछि उनले कृषि कर्म रोजे । विदेशमा गर्ने श्रम देशभित्रै गर्न सके मनग्य आम्दानी हुने सोचका साथ कार्कीले ‘कार्की कृषि फर्म’ मेचीनगर—८ दर्ता गरेर व्यवसायिकरुपमा पशुपालन गर्न थाले । राजनीतिले मात्रै जीवन गुजारा नहुने भन्दैं उनले आम्दानीको स्रोतका लागि व्यवसाय गरेका हुन् । उनले राजनीति सँगसँगै पशुपालन व्यवसायलाई समेत अगाडि बढाएका छन् । जुन कुरा अरुका लागि प्रेरणा बनेको छ ।

यतिबेला गोबर सोर्ने, कुटी काट्ने, दुध दुने, दुध डेरीमा पुर्याउनेदेखि गाईको स्याहारसुसारमा उनको दिन वित्ने गरेको छ । गाईपालनबाट व्यावसायिक कृषि पेसा थालेका कार्की अहिले निक्कै खुशी छन् । उनी आफ्नो वडामा व्यावसायिक कृषक जन्माउन लागि समेत परेका छन् । कुनै समय १० देखि १५ वटा सम्म उन्न्तजातका गाई थिए । उनको फर्ममा अहिले ५ वटा गाई छन् । कुनै ब्याउने छन भने कुनै दुध दिदैंछन् ।

कुनै बेला दैनिक ४० लिटर दूध विक्री गर्दै आएका कार्कीले गाईफार्मलाई विस्तार गर्ने योजना बनाएका छन् । गाईपालनलाई नै मुख्य परिचय बनाउने उद्देश्य सहित उनले यो व्यवसाय शुरु गरेका हुन् । दूध विक्रीबाट सम्पूर्ण खर्च र बैंकको किस्ता तिरेर राम्रै आम्दानी हुने उनले जानकारी दिए । जनप्रतिनिधि भएर पनि कहाँ गाई पालेको भन्ने पनि निक्कै थिए । तर उनलाई काम गर्न लाज लागेन । ‘जनप्रतिनिधि त केही समयका लागि मात्रै हो, यही व्यवसायलाई निरन्तरता दिन्छु ।’ उनले थपे । यसैबाट आत्मसन्तुष्टि मिलेको बताउँदै उनले व्यवसायमा थप लगानी गर्ने योजना रहेको बताए । दूध विक्रीका लागि बजारको कुनै अभाव नरहेको उनको भनाइ छ ।

‘विदेशबाट फर्केपछि मैले मेरो बाटो मोडेर कृषि कर्ममा लागेँ, अहिले कृषिमा रमाइरहेको छु । कार्कीले भने । अहिले मेरो परिवार कृषि कर्ममा जुटिरहेको छ । ’ कृषि कर्म गरेर नमुना बन्ने सोच आएरै कार्कीले यो कर्म रोजेका हुन् । त्यहाँका स्थानीयका लागि प्रेरणाको स्रोत समेत हुन कार्की । ‘उस्वेलाको म जनप्रतिनिधि हुँ, तर म विदेशबाट आएर यतिबेला कृषि कर्ममा जुटिरहेको छु । ’ उनले थपे । ‘केही समय वैदेशिक रोजगारीमा पनि गएँ, तर विदेशमा सन्तुष्टि मिलेन,” उनले भने , ‘अहिले आफ्नै देशमा व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ ।’ उनको देखेरै यहाँका स्थानीय पनि यतिबेला कृषि कर्ममा लागिरहेका छन् ।

यतिबेला कृषिमा लागत लगाइरहेका कार्कीलाई कति लागेको छ भन्ने हिसाब किताब नै छैन । उनले वार्षिकरुपमा दुईदेखि अढाईलाख रुपैयाँ आम्दानी गरीरहेका छन् । विदेशबाट फर्केर पनि उनले गरेको कृषि कर्म देखेर स्थानीय दंग छन् । निर्वाहमुखी कृषिलाई विस्थापित गर्दै व्यावसायिक कृषितर्फ स्थानीयवासीको आकर्षण बढाउनु पर्ने कार्कीको भनाई छ । अहिले जनप्रतिनिधिलाई जागीरका रूपमा लिने प्रचलन रहेको भन्दैं कार्कीले जनप्रतिनिधि हुनुभन्दा पहिला किसान भएको र अहिले पनि किसान कर्ममै रहेको बताए । कृषि अनुदान साच्चैका किसानले नपाएको उनको गुनासो छ ।

विदेश जानुभन्दा पनि स्वदेशमै बसेर व्यवसाय गर्नुपर्ने सुझाव दिँदै उनले भने ,‘विदेशमा गएर अरुको दास बन्नुभन्दा स्वदेशमै मालिक बन्नुपर्छ ।’

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.