केरा खेतीप्रति कृषकको आर्कषण बढ्दै, विदेशबाट फर्केर केरा खेतीमा गिरी

२२ चैत, मेचीनगर : झापा मेचीनगर—८ का ४८ वर्षीय पर्शुराम गिरीकोे दिनचर्या फेरिएको छ । गिरीले चार वर्षदेखि झापा मेचीनगर—८ मा व्यावसायिक केरा खेती गर्दै आएका छन् । १७ वर्षसम्मको वैदेशिक रोजगारीको जीवनपछि र त्यसपछि पनि वैदेशिक आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उनी २०७८ सालदेखि व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् ।

उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकोले पछिल्लो समय गिरीको केरा खेतीतर्फ आकर्षण बढेको उनले प्रतिक्रिया दिए । उनले अहिले १५ कठ्ठा जग्गामा व्यवसायिकरुपमा विदेशी ‘जि —नाइन’ जातका केरा खेती गरेका छन् । व्यवसायिकरुपमा केरा खेती गर्नकै लागि अहिले ५ विगाह जमीनको खोजीमा आफू रहेको गिरीले बताए ।

‘विदेशबाट आएर कुखुरा पाले, वर्ड फ्‌लूले सवै मरे लगानी जति स्वहा भयो, त्यसपछि ६ वटा होलिस्टन जातका गाई पालन शुरु गरे आर्थिकरुपमा धेरै नोक्शान व्यहोरे, धान खेती गरे लगानीभन्दा आम्दानी कम भएर घाटा भयो ।’ गिरीले भने —‘ पछिल्लो समय अरुले केरा खेतीबाट गरेको आम्दानी देखे र मैले पनि शुरु गरे अहिले यसबाटको आम्दानी चित्त बुझ्‌दो र मनग्य छ , म सन्तुष्ट छु । ’ साउनदेखि मंसिरसम्म केराको राम्रो उत्पादन हुने समय हो । यो समयमा अयधिक केरा उत्पादन हुने गिरीको भोगाइ छ । खर्चिलो धान खेतीको विकल्पको रुपमा आफूले केराको खेती लगाउन थालेको बताए ।

१५ कठ्ठामा लगाएको केरा खेतीबाट एक सिजनमा सवै खर्च कटाएर २ लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ । ‘१५ कठ्ठा जग्गामा लगाएको धान उत्पादनले १० हजार रुपैयाँ हात पर्दथ्यो, त्यती नै जग्गामा उत्पादन गरेको केराले ३ लाख रुपैयाँ हात पर्छ, १ लाख सवै खर्च कटाउँदा २ लाख चोखो आम्दानी हुन्छ । ’ गिरीले थपे । उनको बारीमा उत्पादन हुने केराले जिल्लाको मुख्यः बजारसहित स्थानीय बजारसम्ममा खरिद बिक्री हुने गरेको गिरी बताउँछन् । ५ सयदेखि ७ सयसम्म प्रतिघरी केरा उनको बारीबाटै खदि विक्री हुने गरेको छ ।

केराको व्यवसायिक खेतीबाट मनग्ये आम्दानी भएका कारण अब तुरुन्तै १० विगाह जग्गा खरिद गरी केरा खेतीलाई विस्तार गर्नै योजनमा उनी छन् । अहिले बारीमै स्थानीयदेखि विदेशी व्यापारीले प्रतिगोटा सात रुपैयाँका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन । प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको गिरीको भनाइ छ । ‘उमेरमै विदेशिएँ, अहिले यही माटोमा पसीना बगाउन थाले केरा खेती गरिरहेको छु, विदेशमा १० घन्टा बगाउने पसीना यहाँ चारपाँच घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ । ’ गिरीले सुनाए । उनले गरेको व्यावसायिक केरा खेतीमा परिवारले समेत सघाउने गरेका छन् । उनी आफैं पनि पूर्ण रूपमा काममा लागेका छन् । अहिले केरा खेतीबाट मेहनत अनुसारको आम्दानी हुन थालेपछि उनलाई सन्तुष्टि दिलाएको छ ।

अहिले उनले बारीमा ६०० बोट केरा लगाएका छन् । केरा खेतीमा व्यवसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या व्यहोर्नुपर्ने उनको भनाइ छ । उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ आफू जस्ता थुप्रै किसानको आकर्षण बढेको सुनाए । समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनु जस्ता समस्याले केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव रहेको छ । पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको किसानहरुको भनाइ छ । कुनै वर्ष हावाहुरी तथा गभारा लाग्ने कारण केरा उत्पादनमा केही क्षति भोग्न परे पनि पछिल्लो समय केरा खेतीले व्यापकता पाएको छ भने यसबाट हुने आम्दानीले आफूसहित थुप्रै कृषकलाई झन् उत्साहित बनाएको गिरीको भनाइ छ ।

सिँचाइ, हावाहुरी र कीरा केरा खेतीको मुख्य समस्या रहेको उनको भनाई छ । रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावापानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले पनि आफूमात्र नभएर झापाका थुप्रै मानिस व्यावसायिक केराखेतीतर्फ आकर्षित भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा एक हजार ८९० हेक्टरभन्दा बढी जमिनमा व्यवसायिक उन्नत जातको केरा खेती भइरहेको छ । जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यवसायिक खेती भइरहेको केन्द्रले जनाएको छ । यहाँका किसानहरुले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए । तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोशा भएको र उत्पादन समेत बढी हुने हुँदा किसानले जी–नाइन जातका केरा लगाउन थालेको सरकारी अधिकारीहरुको भनाइ छ । पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ ।

केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन् । यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने समाजशास्त्री किशोरकृष्ण झाको भनाइ छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.