८ बैशाख, मेचीनगर ः २२ वर्ष ७ महिना सैनिक जीवनमा रमाएका झापा मेचीनगर —२ का ४४ वर्षीय कुवेर खडका यतिखेर बोइलर कुखुरा पालनमा लागेर मनग्य आम्दानी गरिरहेका छन् । खड्काले यमुना कृषि फर्म दर्ता गरेर व्यवसाय सञ्चालन गरेका छन् ।
२०५६ साल माघ २६ गते नेपाली सेनाको सैनिक दर्जामा भर्ना भएर २०७८ साल साउन महिनामा नेपाली सेनाको जमदार पदबाट सेवा निवृत्त भएका खडकाले नेपाली सेनाबाट सेवा निवृत्त भए लगत्तै कुखुरा पालन व्यवसाय शुरु गरेका थिए ।
आफ्नो व्यवसायप्रति निक्कै खुशी देखिएका खड्का कुखुराका चल्ला, मासु तथा दाना विक्री गरेर मसिक ७० हजार देखि एकलाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको बताउँछन् । ‘धेरै युवाहरु गाउँमा जमिन बाँझो राखेर विदेश गए पनि आफू भने सेवा निवृत्त भए गलत्तै कुखुरा पालनमा लागे यो पेसाबाट म धेरै सन्तुष्ट छु ।’ उनले थपे । बिहान झिसमिसै उठेर मासु उत्पादन गरी स्कुटरमा राखेर नजीकै विक्रीका लागि पुर्याउने र कुखुरालाई दानापानी खुवाउने, उनको दैनिकी छ । ‘यो दैनिकीप्रति आफूलाई गर्व लागेको छ ’ खडकाले भने—‘ आफ्ना सन्तानलाई अध्ययनको खर्च देखि चाडपर्वका बखत मिठो मसिनो समेत खाने र नयाँ वस्त्र लगाउने रकम पनि यहि पेशाबाट प्राप्त भएको छ । ’यसकारण पनि कृषिकर्ममै रमाएको उनले बताए ।
सेवा निवृत्तपछि र पेन्सन पाकेपछि थुप्रै मानिसहरु गफ गरेर अनि आराम गरेरै समय खेर फाल्छन् । तर खड्का भने बिहान झिसमिसैदेखि साँझ आखाँ बन्द नभईञ्जेलसम्म कृषिकर्ममा रमाएका कारण थुप्रैका लागि उनी उदारहणीय बनेका छन् । नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएका खडकाले ६ सय कुखुराबाट मासिक करिब ६ लाखको मासु तथा मासुजन्य वस्तु दानालगायत बिक्री गरी मासिक ७० हजार देखि एकलाख रुपैयाँसम्म बचत गर्दै आएका छन् ।
मासु तथा मासुजन्य वस्तु उत्पादन गरी उनले आफ्नो दुई सन्तानलाई उच्च र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । जेठी छोरी आसामको डाउन टाउन विश्व विद्यालय गुवाहाटीमा बिएसि नर्सिङ्ग पढाउँदैं छन् भने एक छोराले सुनसरीको धरानमा रहेको नेपाली सेनाको स्कुलबाट भरखर एसइइ परीक्षा दिएका छन् । थप २ देखि ३ जनालाई राजगारी समेत दिएका छन् ।
शुरुमा फर्ममा २ लाख रुपैयाँ लगानी गरेको र अहिलेसम्म आइपुग्दा २५ देखि २६ लाख रुपैयाँसम्मको सम्पति पुगेको खड्काले बताए । खड्काले १८ कठ्ठा क्षेत्रफल जग्गामा दुईवटा फर्म कुखुराको लागि संरचना बनाएका छन् । २२ वर्ष नेपाली सेनाको जागिरपछि उनले कृषि पेसामा लाग्नु उपयुक्त भएको बताए । सरकारले सर्वसुलभ रुपमा ऋणको व्यवस्था गर्ने उत्पादित सामानको उचित मूल्यमा बिक्रीको बजारको व्यवस्थापन गर्न सरकारले ध्यान दिने हो भने जमिन बाँझो हुने क्रम रोकिने, देश खाद्यान्नमा आत्मनिर्भर र युवाहरुले स्वदेशमै रोजगारी पाउने उनको भनाइ छ ।
कुखरा पालन (ब्रोइलर) पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा भएको उनको भनाई छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्ने अर्का व्यवसायी झापा मेचीनगर— ६ काँकरभिट्टाका ५३ वर्षीय रुद्रप्रसाद पराजुलीको भनाई छ । उनी पनि ९ वर्ष विदेश भएर फर्किएर आफ्नै गाउँ ठाउँमा अहिले कृषि कर्म गरेका बसेका छन् ।
मेचीनगर— ७ मा ८ कठ्ठा जग्गा खरिद गरेर करीव ५० देखि ६५ लाख रुपैयाँ खर्च गरेर उहाँले पशुपक्षी व्यवसाय शुरु गरेका छन् । फर्ममा साना र ठूला गरेर विभिन्न जातका २९ वटा खसी बाख्रा, चारवटा गाई, २४ वटा हास, १५ वटा टर्की, २६ वटा कुखुरा र ६ वटा तित्रा पालेका छन् । खसी ५ केजीदेखि १८ केजी सम्मका छन् । जिल्लामा पछिल्लो समयमा कृषिलाई व्यावसायिक बनाएर लगानी गर्ने र अनुदान माग गर्ने युवा किसानको संख्या पनि बृद्धि हुँदै गएको छ ।
काँकरभिट्टा बहुमुखी क्याम्पसका वरिष्ठ अध्यापक शिक्षा संकाय प्रमुख हेमकुमार खड्का नेपालमा कृषिलाई सम्मानको पेशा नबनाएसम्म विकास हुन नसक्ने बताउछन् । कृषि क्षेत्रमा युवाको आर्कषण नबढेसम्म यसले गुणात्मक फड्को मार्न नसक्ने हुँदा कृषिमा क्रान्ति गर्दै साच्चैका कृषिकहरुलाई अनुदान दिनुपर्ने, विभिन्न कार्यक्रम ल्याएर कृषिप्रति आर्कषण गर्न सरोकारवालाहरु गम्भीर बन्ने समय आएको स्पष्ट पारे ।
निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउन राज्यको नीतिले पनि तात्विक असर पार्ने भन्दै खड्काले प्रविधिमैत्री सिपलाई सरकारले प्रोत्साहान गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न सके यस्ता कर्ममा अन्य मानिसको समेत आर्कषण हुने देखिन्छ । सरकारले दिएको अनुदान भनेको खानलाई मात्र होइन, केही गरेर देखाउनुपर्छ भनेर व्यवसायी समेत लाग्न जरुरी छ ।