३० असार, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाममा हात्ती मैत्री ता पर्यापर्यटन प्रवद्र्धनका लागि बाँस तथा काठबाट निर्मित हस्तकलाका सामाग्री निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । बाँस तथा काठबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ तालिम समापनपछि उद्यमी उत्साहित बनेका छन् । बेरोजगार भएर बसिरहेका नगरवासीलाई उद्यमी बनाएर आम्दानीसँग जोड्न आयोजकले तालिम सञ्चालन गरेपछि आफूहरु उत्साहित बनेको सहभागीहरुले बताएका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, मेचीनगर नगरपालिका वडा नम्बर ४ र उज्यालो नेपाल बर्दियाको संयुक्त आयोजनामा गाउँमा बेरोजगार रहेका स्थानीयलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन बाँस तथा काठका सामग्री निर्माण सम्बन्धी सञ्चालन भएको एक महिने तालिम सोमबार समापन भएको हो ।

बाँस तथा काठबाट सामाग्री निर्माण सम्बन्धी आधारभूत तालिम लिएका थिए । तालिममा सहभागीहरुलाई शाक्य हस्तकला केन्द्र भद्रपुर झापाका सञ्चालक निर्मल शाक्य र भारतीय प्रशिक्षक गोपाल रोय सिंङ्गले बाँस तथा काठबाट सामान बनाउने सीप सिकाएका थिए ।
करीव एक महिनाको तालिम अवधिमा सहभागीहरुले बाँसबाट विभिन्न किसिमका आर्कषक सामाग्रीहरु तयार गरेका छन् । बाँसबाट तयार पारिएका ती सामाग्रीहरु विक्री गरिने र बनेका अधिकांश सामानहरुको अर्डर भईसकेको नगरपालिका वडा नम्बर—४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

तालिमको समापनमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले बाँस तथा काठबाट हसतकलाका सामग्री निर्माण गरेर राम्रो आम्दानी गर्न सकिने देखिएको र यसको निरन्तरता हुनुपर्ने बताईन् ।

सीप सिकेकाहरुले निर्माण गरेका सामाग्रीहरु विक्रीका लागि बजारको व्यवस्थापन नगरपालिकाले गरिदिने उहाँले जानकारी गराईन् । गाउँमा बेरोजगार रहेका महिलालाई बाँस तथा काठका हस्तकलाका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउन सकिने उपप्रमुख उप्रेतीको भनाई थियो ।
तात्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष एवम बाहुनडाँगी नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारीले समाजलाई गतिशील बनाउनका लागि बाँसले काम गर्ने गरेको भए पनि त्यसको उपयोगिता नभएकाले हाम्रो तहबाट प्रयत्न गर्नुपर्छ भनेर बाँसलाई आयआर्जनसँग जोड्न खोजिएको बताए ।
मेचीनगर नगरपालिका वडा नम्बर —४ का वडाध्यक्ष अर्जुन कार्कीले बाँसले दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वासका व्यक्त गरे । ‘बाँस तथा काठजन्य सामग्रीको माग देशका विभिन्न ठाउँ बाट आउन थालेकै कारण उद्यमीको संख्या बढाउन तालिमको आयोजना गरेको हौँ, ‘उद्यमीलाई बजारको कुनै चिन्ता हुँदैन, उद्यमीबाट खरिद गरिएको सामग्री नगरपालिकाले बजारीकरण गर्छ, उद्यमीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै ढुक्क भएर सामग्री उत्पादन गर्ने वातावरण मिलाएका छौँ ।’ वडाध्यक्ष कार्कीले भने ।
बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेपछि स्थानीयवासीसमेत आशावादी बनेका छन् । बिनाप्रयोग खेर गइरहेका बाँस आफ्नै ठाउँमा प्रशोधन गरेर आकर्षक सामग्री उत्पादन गर्न थालेपछि उनीहरु आम्दानीको स्रोत बन्नेमा आशावादी बनेका हुन् ।

तालिमपश्चात् यही पेसा अपनाएर व्यावसायिक बन्ने योजना बनाएको तालिममा सहभागीहरुले बताएका छन् । ‘तालिममा बाँसबाट बन्ने सजावटका सामग्रीदेखि घरायसी तथा फर्निचरका आकर्षक सामग्री निर्माण गर्न सिकेका छौँ, यो तालिमले हामीलाई व्यावसायिक बन्न उत्साहित बनाएको छ’, मेचीनगर —४ का शैलेस वरालले भने, “तालिम सकिएपछि यो पेसालाई व्यावसायिकीकरण गर्ने योजनामा छु, यसको सम्भावना राम्रो रहेको छ, यसैबाट आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा ढुक्क छु ।’


समापनमा तालिममा सहभागीहरुलाई प्रमाण —पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथिहरु रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल —भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष उदयकुमार श्रेष्ठ, रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ रिजन ७ का सहसचिव सुजन प्रधान, लायन्स क्लब काँकरभिट्टाका अध्यक्ष दीपक कार्की, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरी बल बीओपी बाहुनडाँगीका प्रतिनिधि, जनप्रतिनिधिहरुले सहभागिताको प्रमाण—पत्र प्रदान गरेका थिए ।




































