कोशी प्रदेशमा पहिलो चरणको खोरेत रोग विरुद्धको खोप अभियान मेचीनगरबाट शुरु

२३ कात्तिक, मेचीनगर :  कोशी प्रदेशमा पहिलो चरणको खोरेत रोग विरुद्धको खोप अभियान झापाको मेचीनगरबाट शुरु भएको छ । मेचीनगर नगरपालिका क्षेत्रभित्र आइतबारदेखि गाई–भैसीलाई खोरेत रोग विरूद्धको खोप लगाउन शुरु गरिएको हो ।
राष्ट्रिय पशुपंक्षी खोप कार्यक्रम अन्तर्गत कोशी प्रदेशका १४ वटा जिल्लामध्ये पहिलो चरणको खोरेत रोग विरूद्धको खोप अभियान झापाको मेचीनगरमा शुरु भएको नगरपालिकाको पशु शाखाले जनाएको छ ।
कोशी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलयकी पशु चिकित्सक पवित्रा दाहालले नगरका १५ वटै वडामा खटिएका भ्याक्सिनेटरहरूलाई राम्रो सहज भएर काम गर्न आग्रह गरेकी छन् ।
नगरपालिकाका पशु सेवा शाखाको सिफारिसमा भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाबाट नियुक्त भइ खटिइ आएका भ्याक्सिनेटरहरूलाई सहयोग, सहजीकरण, अनुगमन र व्यवस्थापन गर्न प्रत्येक वडामा पुग्न टोल, समूह र फोकल पर्सन समेत तयारी गरिएको छ ।
नगरपालिकाका पशुसेवा शाखाका पशु प्राविधिक बिक्रम गुरूङका अनुसार नौ वटा टोली चार वटा समूह, खोप कार्यक्रम रेखदेख, अनुगमनका लागि वडा नम्बर १, २, ३ र ४ मा वडा प्राविधिक मदनकुमार भण्डारी, वडा नम्बर ५, ६ र ७ मा वडा प्राविधिक रञ्जु खड्का, वडा नम्बर ९, १० र ११ मा वडा प्राविधिक कञ्चन दाहाल, वडा नम्बर १२, १३, १४ र १५ मा वडा प्राविधिक रेशबहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै सम्पूर्ण वडाको खोप वितरण, रेखदेख, तथा खोप फोकल व्यक्ति पशु प्राविधिक छत्रबहादुर राईलाई तोकिएको उनको भनाई छ । इलाम जिल्लालाई खोरेत खोप मुक्त घोषणा गर्ने लक्ष्य अनुरूप छिमेकी जिल्लाहरूलाई बफर जोन अन्तर्गत झापामा पनि यो अभियान शुरु गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार कोशी सरकारले इलामलाई खोरेत मुक्त जिल्ला बनाएर त्यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय व्यापार बढाउने उद्धेश्य रहेको छ । ६÷६ महिनामा गाई–भैसीलाई लगाउने उक्त खोप अर्काे ६ महिनामा बुस्टर खोप लगाइने बताइएको छ । त्यसपछि बाख्रा, कुखुरा, बंगुर लगायतका पशुपंक्षीलाई अन्य खोप पनि लगाईने गुरूङले बताए ।
खोरेत रोगमा पशुसँग प्रत्यक्ष सम्पर्क र पशुजन्य पदार्थहरु दूध र मासु सेवन गर्दा वा अन्य कुनै माध्यमवाट मानिसमा सर्ने र मानिसवाट पशुमा सर्न सक्ने ‘जुनोटिक’ रोग नभएको बताउँदैं पशु चिकित्सक रामानन्द मण्डलले यसैले मानव स्वास्थ्यको दृष्टिकोणले यो रोगमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर, पशुबस्तुको उत्पादन र क्षति रोक्नका लागि किसानले ६–६ महिनामा खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) खोप लगाउन सुझाँव दिए । नेपाललाई खोरेत रोग मुक्त बनाउने अभियान शुरु भएसँगै मेचीनगरले आफ्ना वडाका हरेक किसानका घर गोठमा पुगेर चौपायाहरुमा खोप लगाईदिने गरेको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ । नगरपालिका भित्रको चौपायलाई विभिन्न रोगबाट सुरक्षित राख्न स्थानीय सरकारले कुनै कसर नराख्ने उनको भनाई छ । खोरेत रोग (फुट एन्ड माउथ डिजिज–एफएमडी), पीपीआर स्वाईन फिवरलगायत पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि नगरका प्रत्येक वडामा अहिले पशु प्राविधिक र भ्याक्सीनेटरहरुको संयुक्त रुपमा टोली बनाएर परिचालन गरिएको उपप्रमुख उप्रेतीको भनाई छ । दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुको सहकार्यमा यस्ता रोगहरुबाट बचाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । सहकारी र कुनै संघसंस्थामा आवद्ध हुन नसकेका विपन्न किसानहरुको गोठसम्म यस्ता सेवा सम्बन्धित सरोकारवाला निकायले पुर्याउनुपर्ने उनले बताईन । दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुले आफूहरुमा आवद्ध किसानका पशुबस्तुलाई खोरेत रोगबाट जोगाउन सक्रियता देखाउनुपर्ने उनको भनाई छ ।
सन् २०३० सम्ममा खोरेत मुक्त मुलुक घोषणा गर्ने उद्धेश्यसहित राष्ट्रिय पशु रोग खोप कार्यक्रम सञ्चालन भईरहेको बताईएको छ । ‘खोरेत रोगग्रस्त पशुवस्तुहरुको उपचार र रोग देखा परेका आसपासमा रोग फैलन सक्ने सम्भाव्य क्षेत्रमा खोरेतविरुद्धको एफएमडी खोप लगाउन सुरु गरेका छौं,’ पशु प्राविधिक राईले भने ।


गाई, भैँसी, बंगुर बाख्रा र भेँडामा यो रोग देखिने गरेको भएपनि गाई भैँसीमा बढी संख्यामा खोरेतको समस्या देखिने गरेको पशु चिकित्सकहरुको भनाई छ । ती पशु चौपायमा खोरेत विरुद्धको खोप लगाइने नगरपालिकाले जनाएको छ । खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाो खुरको कापमासमेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्षण देखापर्ने पशु चिकित्सक सत्यनारायण मण्डलले जानकारी दिए ।
रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उनले सुझाव दिए । निलोतुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी थप सङ्क्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत विरुद्धको खोप लगाउने गर्नुपर्ने चिकित्सक मण्डललको सुझाँव छ ।
[यो समाचारमा राखिएका फोटाहरु इलाम र मकवानपुर जिल्लामा खोरेत रोग विरुद्धको खोप अभियानको फायल फोटा हुन् ]

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.