काँकरभिट्टा, २१ असार : अध्यगमन विभागले कोभिड १९ को दोस्रो लहरका कारण जारी गरेको लकडाउन अवधिभरको भिसामा लाग्ने विलम्ब र जरीवाना निःशुल्क गरेलगत्तै सम्बन्धित कार्यालयमा भिसा नविकरण धमाधम हुन थालेको छ । चारदिनमा दिनमा अध्यगमन कार्यालय काँकरभिट्टाबाट ३० जनाले यो सेवा लिइएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको सम्भावित जोखिम न्यूनिकरणका लागि अध्यगमन विभागले २०७८ जेठ ५ गतेदेखि विभागबाट प्रवाह हुन् आकस्मिक सेवा बाहेकका सवै सेवा स्थगन गरेको थियो । साविकको तुलनामा अन्तर्राष्ट्रिय एवम् आन्तरिक उडानहरु सूचारु हुँदै गइरहेको तथा स्थानीय प्रशासनबाट जारी निषेधाज्ञ समेत केही खुकुलो भई सार्वजनिक सवारी साधन समेत सञ्चालन हुन थालेको हुँदा भिसा सेवा सुचारु गरिएको अध्यगमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख जनक कोइरालाले जानकारी दिनुभयो ।
नेपाल सरकार गृह मन्त्रालय अध्यगमन विभागले असार १६ मा सूचना जारी गरी २०७८ वैशाख १५ वा २०२१ अप्रिल २८ तारीखसम्म नेपालको वैध भिसा भएका विदेशीहरुका हकमा २०७८ असार २४ गतेभित्र नेपालमा प्रस्थान हुने भएमा प्रस्थानको समायमा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै निःशुल्क भिसा नियमित गरिने विभागले जनाएको छ । नेपालमा बस्न चाहाने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा अवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । तर, असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमअनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने उहाँको भनाई छ ।
साथै विभागले स्थगन गरेका सम्पूर्ण सेवाहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी असार १८ गतेबाट सुचारु गरेको छ । सरकारले भिसा सेवा सुचारु विलम्ब शुल्क र जरिवाना छुट गरेपछि अहिले धेरैले यो सेवा लिइरहेको कोइरालाले बताउनुभयो । १८ गतेदेखि शुरु भएको सेवा ४ दिनमा अध्यगमन कार्यालय काँकरभिट्टाबाट ३० जनाले लिइएको बताइएको छ ।
प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक भिसा बर्षमा पर्यटक भिसामा एकसय पचास दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेको र २०७८ जेठको ५ को सूचनामा निषेधाज्ञको अवधि एकसय पचास दिनमा गणना नहुने भनि उल्लेख भएकोले निषेधाज्ञको अवधि थप गरीयो भिसा वर्षका लागि २ सय १० दिनसम्मबस्न सकिने गरी कायम गरिएको कोइरालाको भनाई छ ।
सन् २०२१ को जनवरीदेखि जुलाई ५ तारीख आजसम्म काँकरभिट्टा नाका भएर १ हजार ३ सय ५ मानिस नेपाल प्रवेश गरेका छन भने ७ सय २८ जनाले नेपाल छाडेका छन् । आउने र जानेमा अधिकाँश नेपाल विद्यार्थी रहेको कार्यालयले जनाएको छ । विदेशी नागरिकको आवगमन यो नाकाबाट शुन्य रहेको छ ।