२१ असार, झापा : बिर्तामोड नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा आइतबार बसेको दोश्रो बैठकले असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७८/७९को नीति, कार्यक्रम तथा बजेट माथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो ।
नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष धुर्वकुमार शिवाकोटीले नगरपालिकाको आर्थिक वर्ष २०७८/७९को निति,कार्यक्रम र बजेट, बिर्तामोड नगरपालिका आर्थिक विधेयक २०७८, विनियोजन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक २०७८ र बिर्तामोड नगरपालिका विनियोजन विधेयक २०७८ संयुक्त रुपमा निर्णयार्थ सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । सभामा बोल्ने सम्पुर्ण सदस्यहरुले बजेट राम्रो र जनमुखी भएको धारणा राख्नु भएको थियो ।
बिर्तामोड नगरपालिका नम्बर ३का अध्यक्ष भोजराज सिटौलाले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट नगरबासीहरुको भाग्यसंग जोडीएको भन्दै यसको कार्यान्वयनमा नगरप्रमुख लगायत सिङ्गो टिम लाग्नु पर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरु राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गर्दै आएको भन्दै विकास निर्माणका काममा जोड दिनु भयो । यस्तै वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले बिर्तामोडको ४ र ५ नम्बर वडाका क्षेत्रमा हुने डुवानका समस्या हल गर्र्नु पर्ने बताउनु भयो । उहाँले नगर गौरवका आयोजनाहरुलाई ध्यान दिनु पर्ने भन्दै रोकिएका योजनाहरु पुरा गर्नु पर्नेमा जोड दिनु भयो ।यस्तै वडा नम्बर १ का सदस्य प्रेमकुमार खरेलले पनि वडा नम्बर १ र २ का अधिकांस स्थान बर्षातको समय डुवानमा पर्दै आएको भन्दै यसलाई व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
यस्तै वडा नम्बर २ का सदस्य उपेन्द्र पराजुलीले बिर्तामोडमा भारतीय मजदुरहरु धेरै रहेको भन्दै उनीहरुलाई करको दायरामा ल्याउनु पर्ने धारणा राख्नु भयो । यस्तै वडा नम्बर २का सदस्य किशोर पौड्यालले कोभिड –१९को कारण चालु आर्थिक वर्षमा नसकिएका जनता आवासका अधुरा कामहरुलाई निरन्तरता दिन आवश्यक नीति बनाउन आग्रह गर्नु भयो ।
यस्तै वडा नम्बर ५ का सदस्य डि.आर. कडरीयाले बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनमा आएको विवाद जतिसक्दो चाँडै टुंग्याउनु पर्ने बताउनु भयो । उहाँले नगरवासिको लागि कोभिड–१९ विरुद्वको खोप अत्यन्त आवश्यक रहेको भन्दै जतिसक्दो चाँडो पहल गर्नपनि आग्रह गर्नु भयो । यस्तै वडा नम्बर ८ का सदस्य दिपक भट्टले प्रदेश सरकारले स्थानिय तहको अधिकार खोसेर बन्चित गरेको भन्दै असन्तुष्टी पोख्नु भयो ।
नगरसभाको दोश्रो बैठकमा उठेका सवालहरुको उपप्रमुख पवित्रादेवी महतरा प्रसाईले जवाफ दिनु भएको थियो । यस्तै उपप्रमुख प्रसाईले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन, कार्यालय व्यवस्थापन, सुसासन पारदर्शीता एवं सेवा प्रबाहलाई प्रभावकारी बनाउन निर्णयको लागि प्रस्ताव पेश गर्नु भएको थियो । बैठकमा उपप्रमुख प्रसाईले न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत गर्नु भयो । यस्तै अर्थ तथा सार्वजनिक लेखा समितिकी संयोजक भागिरथा आचार्यले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभाका अध्यक्ष शिवाकोटीले नगरसभामा प्रस्तावित विधेयक माथि छलफल गरि निति, कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको घोषणा गर्नु भएको थियो । बिर्तामोड नगरपालिकाले आगामि आर्थिक वर्ष २०७८/७९को लागि १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।