काँकरभिट्टा, २३ असार / मेची भन्सार एजेण्ट संघ मेचीनगरले एकसाताभित्रमा सरकारले कोभिड १९ विरुद्घको खोप उपलब्ध नगराए सवै काम ठप्प पारेर शन्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका लागि उपयोगि भनिएको खोप लगाउने सम्बन्धमा स्वास्थ्यकर्मी सुरक्षानिकाय लगायत अग्रस्थानमा काम गर्नेलाई प्राथमिकतामा राखिएको भएपनि उद्योगी व्यवसायी तथा त्यसक्षेत्रमा काम गर्ने कामदारहरुलाई यसतर्फ ध्यान नदिइएको भन्दैं संघले आक्रोश व्यक्त गरेको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा रहेका विभिन्न भन्सार एजेण्ट, एजेण्ट प्रतिनिधि, लोड अनलोडमा कार्यरत सवैखाले मजदुरहरु सहित अन्य सरकारी कर्मचारीलाई समेत कोभिड १९ विरुद्घको खोप उपलब्ध गराउन संघले माग गरेको हो । मेची भन्सार अन्तर्गत सीधा सम्पर्क भारत बंगलादेश तथा तेस्रो मुलुकबाट निकासी पैठारी भई आउने सामान त्यसमा प्रयोग भएका सवारी साधन र त्यसमा कार्यरत चालक सहचालकहरुसँग भन्सारमा रहेका एजेण्टसहित अन्य कर्मचारीले सोझै सम्पर्क गर्नुपर्ने र कोभिड १९ को उच्च जोखिममा रहेकाले सरकारले तत्काल खोप उपलब्ध गराउनुपर्ने मेची भन्सार एजेण्ट् संघ मेचीनगरका अध्यक्ष मोहन निरौलाको भनाई छ ।
यसअघि आफुहरुले पटक पटक खोप उपलब्ध गराइदिनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएको उहाँको भनाई छ । संघले जिल्ला प्रशासन कार्यालय झापामा र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ ले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई समेत भ्याक्सिनको व्यवस्था गरिदिन माग गदैं ध्यानाकर्षण पत्र बुझाएको थियो ।
‘केहीदिनअघिमात्र संघले खोप उपलब्ध गराउन माग गदैं झापाका प्रमुख जिल्ला अधिकारीलाई र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ ले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई समेत भ्याक्सिनको व्यवस्था गरिदिन माग गदैं ध्यानाकर्षण पत्र बुझाएको थियो ‘ अध्यक्ष निरौलाले मेरो मेचीनगर डट कमसँग भन्नुभयो —‘प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले असार २४ गतेभित्र खोप उपलब्ध गराउने आश्वसन दिनुभयो । अहिले विविध कारणले खोप प्राप्त नभएको भन्दैं आठ दशदिन पर्खिनुपर्ने जानकारी पायौ अब हामी पर्खेर बस्ने अवस्थामा छैनौं । हामी कोभिडको अत्यन्तै जोखिममा छौ । सातदिनभित्रमा खोप उपलब्ध नगराए सम्पूर्ण काम ठप्प पारेर शान्तिपूर्ण आन्दोलनमा उत्रिने छौ । ’
बंगलादेशमा अहिले कोभिड संक्रमण उच्च रहेको भन्दैं उहाँले भारतमा पनि संक्रमण दर दैनिक बढिरहेका बेला ती देशबाट आउने सवारी साधन र त्यसमा कार्यरत चालक सहचालकहरुसँग भन्सारमा रहेका एजेण्टसहित अन्य कर्मचारी लोडअनलोड गर्ने मजदुरहरुले सोझै सम्पर्क गर्नुपर्ने भएकाले कोभिडको उच्च जोखिममा रहेको बेला सरकारले कोभिडविरुद्धको खोप समयमै उपलब्ध गराउनुपर्नेमा उहाँको जोड छ । समयमै खोप उपलब्ध हुन नसक्दा आफुहरु उच्च जोखिममा रहेको र अग्रपंक्तिमा काम गर्नुपरेकाले कोरोना रोगको जोखिम नियन्त्रण र रोकथाम, उपचार तथा व्यवस्थापन गर्न कोरोना भाइरसविरुद्धको भ्याक्सिन चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्नेमा अध्यक्ष निरौलाले नेपाल सरकारसँग माग गर्नुभएको छ । निरौलाले भ्याक्सिन चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्ने भन्दै नगरवासीसहित अन्य व्यक्तिबाट अत्यधिक माग तथा अनुरोध आएकाले नागरिकको जीवनरक्षाका लागि सरकारको मूल्य र मापदण्डअनुसार कोरोना भ्याक्सिन सरकारले तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
भन्सार परिसरमा नेपाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल इन्टरमोडल यातायात विकास समिति, नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनि लि शाखा कार्यालय, नेपाल सरकार पशुपक्षी विकास मन्त्रालय पशु सेवा विभाग अन्तर्गतको पशु क्वारेन्टाइन कार्यालय र पशु क्वारेन्टाइन चेकपोष्ट, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रहेका छन् ।
यी सहित भन्सार परिसरमा कार्यरत लोडअनलोड मजदुरगरी २ सय ५० जनालाई खोप उपलब्ध गराउन माग गदैं संघले झापाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाए पनि कुनै सुनुवाई नभएकाले सरकारले तत्काल मागको सम्बोधन गरेर सातदिनभित्रमा खोप उपलब्ध गराएर सम्पूर्ण काम ठप्प पारेर शान्तिपूर्ण आन्दोलनमा उत्रिने अवस्थाको अन्त्य गर्न बेलैमा सरकारलाई लाग्न उहाँले सुझाव दिनुभयो ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक मौलिक हकका रूपमा स्थापित गरिएको र अनुसूची ८ मा आधारभूत स्वास्थ्य स्थानीय तहको अधिकारको सूची एवम् अनुसूची ९ मा स्वास्थ्य साझा अधिकार भएकाले नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध गराई उनीहरूको जीउज्यानको सुरक्षा दिनु राज्यका तीन तहको मुख्य दायित्व रहेको भन्दै उनीहरुलाई समयमै खोप उपलब्ध गराउनुपर्ने संघका सचिव कृष्णकान्त ‐नवराज) खनियाँ को भनाई छ ।
व्यवसायीहरुलाई व्यवसाय ठप्प पारेर आन्दोलनमा उत्रिन बाँध्य नपार्न अर्का एजेण्ट दिपेन्द्रराज पाण्डेको सुझाव छ । ‘कोभिड १९ को दोस्रो भेरियन्टको कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिएको छ । यसको रोकथामका लागि पहल भइरहेपनि औषधि उपचारका सामग्रीहरुको अभावका कारण अकालमा मानिसहरुले मृत्युवरण गर्नु परिरहेको छ ’ मेची उद्योग बाणिज्य संघका कार्यकारिणी सदस्य समेत रहनुभएका पाण्डेले भन्नुभयो —‘बढ्दो कोभिड १९ संक्रमणका कारण उद्योग व्यवसाय, बजार आदि बन्द गर्नुपर्ने बाध्यात्मक स्थिती उत्पन्न भएको छ । दैनिक रोजगारी गरेर आफ्नो परिवारको गुजरा गरिरहेका हजारौ कामदारहरुको अवस्था नाजुकहुदैं गएको छ । यसैगरी अतिआवश्यक वस्तुहरुको अभाव खटकिन् थालेको छ भने उद्योगमा उत्पादति वस्तुहरु गोदाममै थन्कयाएर राख्नुपर्ने अवस्था छ । बजारबाट पैसा संकलन हुन सकिरहेको छैन् । सरकारले समयमै कर राजस्व बुझाउन बैंकहरुले बैंकको व्याज बुझाउन दवाब दिइरहेको अवस्था छ । तर, सरकारले भने उद्योगी व्यवसायी तथा त्यसक्षेत्रमा काम गर्ने कामदारहरुलाई खोप लगाउने भन्नेतर्फ ध्यान नदिइएकाले दुःख लागेको छ ।’
उद्योगको उत्पादनदेखि लिएर बजार सञ्चालनमा उनीहरुको महत्वपूर्ण योगदान रहेको भन्दैं पाण्डेले जस्ले राष्ट्रको राजस्वदेखि आम उपभोक्ताको आवश्यकलाई पुरा गरिएको छ । उसलाई प्राथमिकतामा नराख्नु गलत भएकाले उद्योगी व्यवसायी तथा त्यसक्षेत्रका कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखी खोप दिने व्यवस्था मिलाई उद्योग धन्दा कलकारखाना बजार आदि खोल्ने वाताबरण बनाईदिन र कोरोनाको अवस्था भयावह हुँदै गएपछि आफुहरुले खोप सरकारसँग मागेको बताउनुभयो ।
मेचीनगर नगरपालिकाले खोप खरिदका लागि संघीय सरकारसँग अनुमति मागेको बताएको छ । विकास बजेट काटेरै भए पनि खोप किन्न तयार भएको नगरपालिकाले अझै स्वास्थ्य मन्त्रालयबाट अनुमति पाउन सकेको छैन । ‘ मेचीनगर नगरपालिकाका नागरिकबाट भ्याक्सिनको धेरै माग भएकाले मन्त्रालयबाट तत्काल उपलब्ध गरादिनुहुन अनुरोधका साथै यदि त्यहाँबाट उपलब्ध गराउन नसकेमा यस नगरपालिकाले आफ्नै खर्चमा मापदण्डअनुसार भ्याक्सिन खरिद गर्न अनुमति मागेको थियो ’ नगरप्रमुख विमल आचार्यले भन्नुभयो—‘नगरका उद्योगी व्यवसायीसहित सवै नगरवासीका लागि स्थानीय सरकारले खोप माग गरेको छ । ’