बुद्ध एयरको लागि आइतबार विशेष दिन थियो– २३ वर्ष निरन्तर उडिरहेको बुद्ध एयर २४ औं वर्षमा प्रवेश गर्दैै थियो।
गत वर्षहरुमा भव्य रुपमा वार्षिकोत्सव मनाइन्थ्यो– कर्मचारी र व्यवस्थापनका लागि नयाँ आशाको दिन।
तर, आइतबारको वार्षिकोत्सव कसरी आयो र गयो, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नै चाल पाएनन्। त्यसैले मोबाइल वालेट खल्तीको ‘ह्याप्पी बर्थडे’ केक सोमबार मात्रै बस्नेतको कार्यकक्षमा पुग्यो।
‘अरुले नसम्झे पनि खल्तीले सम्झियो,’ बस्नेतले भने, ‘मैले त झन्डै चालै पाइनँ।’
६ महिनायता कोरोना संकटले गर्दा निजी क्षेत्रको व्यवसाय अस्तव्यस्त छ। उड्डयन क्षेत्रमा महामारीको असर अझ बढी छ। कम्पनीका वार्षिक तालिका बिग्रेका छन्। योजनाहरु भताभुंग छन्।
बिग्रेकै तालिकाबीच पनि बुद्ध एयरले आइतबारका केही यात्रुलाई मायाको सौगात बाँड्यो। सामाजिक सञ्जालमा केही प्रतिबद्धता जाहेर गर्यो।
बुद्ध एयरले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि पोस्ट गरेको छ। जसमा छन्, बुद्ध एयरका दुई पुस्ता अर्थात्, बस्नेत र उनकी छोरी आस्था।
२३ वर्षदेखि अनवरत रुपमा लागिरहेका बस्नेतले बुद्ध एयरलाई निजी क्षेत्रको मुलुककै ठूलो उड्डयन कम्पनी बनाए। अबको दुई वर्षमा उड्डयन व्यवसायलाई विस्तार गर्दै कम्पनीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य बस्नेतको छ।
२७ वर्षीया आस्था पनि बुबाको चाहनालाई पूरा गर्ने लक्ष्यमा छिन्। कम्पनी हाँक्न सक्छु भन्ने आत्मविश्वास उनीसँग छ।
बुबाले अबको दुई वर्षमा कम्पनी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेपछि उनी झनै उत्साहित छिन्।
‘हजुरबुबा र बुबाले सतप्रतिशत योगदान दिएर बनाएको यो कम्पनीलाई अझ उचाइमा पुर्याउन सक्छु भन्ने मेरो पूर्ण विश्वास छ,’ नेपालखबरसँग आस्थाले भनिन्, ‘त्यसको लागि म अहिले व्यवसाय सिक्ने चरणमा छु।’
भारतमा स्कुल पढेकी आस्थालाई सानैदेखि यही व्यवसायमा आउने रुचि थियो।
त्यसैले उनले कलजेको पढाइ नेपालमै गर्ने निर्णय गरिन्।
‘नेपालको व्यवसायबारे परिचित हुन काठमाडौं युनिभर्सिटीबाट बीबीए गरें,’ आस्थाले भनिन्।
पछिल्लो तीन वर्षदेखि उनी बुद्ध एयरमा जोडिएर काम गरिरहेकी छन्।
सुरुको डेढ वर्ष विभिन्न शाखामा तीन-तीन महिना गरेर ‘ट्रेनी’को रुपमा काम गरिन्।
उनले कम्पनीको लागि केही नयाँ गर्ने सोचसहित एक टिम पनि बनाएकी छन्। पहिले यो ‘रिसर्च एन्ड डेभलपमेन्ट टिम’ का रुपमा थियो भने अहिले यसले ‘कम्युनिकेसन टिम’ को रुपमा काम गरिरहेको छ।
‘यो टिमबाट कम्पनीको वेबसाइट अपडेट गर्नेदेखि मोबाइल एप ल्याउने र डिजिटल मार्केटिङ अलिकति परिवर्तन गर्ने काम गरेका छौं,’ आस्थाले भनिन्।
वीरेन्द्रले ‘बुद्ध एयर होलिडेज’को नेतृत्व आस्थालाई नै जिम्मा दिए। भारतको बनारस क्षेत्रको अध्ययन गरेर उनले यो काम गरिन्।
आस्थाको टिमले यो काम गरिरहेपनि नेतृत्वदायी भूमिका भने वीरेन्द्रकै छ।
‘म खाली सिक्ने चरणमा छु,’ आस्था भन्छिन्।
उनी कम्पनीको हरेक बैठकमा बुबासँगै बस्छिन्। धेरै बोल्दिनन् तर कम्पनीमा के भइरहेको छ, जानकारी लिन्छिन्।
केही विषयहरुमा बुबासँग छलफल गर्छिन्। कति कुरा आस्थाले भनेको पनि लागू हुन्छ।
२३ वर्ष पुरानो कम्पनीलाई नयाँ पुस्ता आएर एकै पटक यस्तो र उस्तो गरौं भनेर परिर्वतन ल्याउन खोज्नु ‘स्मार्ट’ काम हो जस्तो उनलाई लाग्दैन। त्यसैले उनी पर्खेर आफुभन्दा चार वर्षमात्र कान्छो कम्पनीलाई राम्ररी बुझ्न चाहन्छिन्।
आस्था आफ्नो कम्पनीको व्यवहारिक ज्ञानसहित विश्वको ‘ट्रेन्ड’ कस्तो छ, त्यो पनि बुझ्न खोज्दैछिन्।
त्यसैले त व्यवसायमा प्रखर बन्न आस्था अर्को वर्ष ‘एयरोस्पेस म्यानेजमेन्ट’ पढ्न फ्रान्स जाँदैछिन्। व्यवसाय गरेको पाँच वर्षको अनुभव भएकाहरुले यो कोर्स गर्न पाउँछन्। एक वर्षे उक्त कोर्स आउजाउ गर्दै पढ्न सकिन्छ।
यो कोर्सबाट उनले संसारभरीका उड्डयन क्षेत्रका व्यवसायीहरुको अनुभव थाहा पाउनेछिन्, जसले व्यवसायमा अगाडि बढ्न सजिलो बनाउनेछ।
ट्रेनीबाट छिरेकी आस्था अहिले सिनियर अफिसरसम्म पुगेकी छन्। नेतृत्वमा पुग्ने अवसर सिर्जना गर्न आफ्नो क्षमतालाई अझ तिखार्ने प्रयासमा उनी छिन्।
दुई वर्षपछि सक्रिय नेतृत्वबाट विश्राम लिन्छुः वीरेन्द्र बस्नेत
२३ वर्षअघि बुद्ध एयरले व्यवसाय सुरु गर्दा उडानको लागि एउटा मात्र जहाज थियो। २० जनाभन्दा कम कर्मचारी थिए। पोखरा र माउन्टेन फ्लाइटबाट वीरेन्द्रले व्यवसाय सुरु गरे।
दुई दशकको अवधिमा बुद्ध एयरसँग १३ वटा जहाज भइसकेका छन्। अबको दुई वर्षमा अरु तीनवटा थप्ने योजना छ। हाल कम्पनीमा ११ सय कर्मचारी छन्।
बुद्ध एयरले २५ औँ वर्ष पूरा गरेपछि नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने आफ्नो र कम्पनीको चाहना भएको बस्नेत बताउँछन्। लामो समय कम्पनीमा झुन्डिएर बस्नु हुँदैन भन्ने उनको मान्यता छ।
‘कम्पनी २५ वर्ष पूरा भएको दिन म सक्रिय नेतृत्वबाट विश्राम लिन्छु,’ ५६ वर्षीय बस्नेत आफ्नो योजनाबारे भन्छन्, ‘नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण हुन्छ।’
उनलाई कम्पनीको नेतृत्वमा बसिरहन मन छैन।
‘यत्तिका वर्ष अनवरत रुपमा एकनासले कम्पनीको नेतृत्व गरेँ,’ उनले आत्ममूल्यांकन गरे, ‘गर्न सक्नेजति गरें। जति अवसर आएका थिए, सबैलाई समात्न नसकेको पनि हुनसक्छ।’
पुरानो पुस्ताले नयाँ पुस्ताको सोचलाई गतिशीलता दिनै पर्छ। एउटै पुस्ताले लामो समय चलाउँदा कम्पनीमा शिथिलिता आउँछ।
‘सक्रिय नेतृत्व छोडेको एकदुई वर्षपछि बोर्डबाट पनि निस्किन्छु,’ उनी भन्छन्, ‘मेरा धेरै आकांक्षाहरु छैनन्।’
पुस्ता हस्तान्तरणलाई उद्योगधन्दा मात्र होइन, राष्ट्र, राजनीतिक दलहरुमा पनि लागू गर्नुपर्ने उनको विचार छ।
‘सबै कुरामा गतिशीलता दिनुपर्छ। नयाँ पुस्ता सधैँ गतिशील हुन्छ र त्यसको लागि उनीहरुलाई स्पेस दिनुपर्छ,’ उनले भने।
नयाँ पुस्ताले एकै पटक नेतृत्व लिन पनि सक्दैन। उनीहरुलाई तालिम दिनु पर्छ। व्यवस्थापनमा ल्याउनु पर्छ। उनीहरुको सोचलाई कदर गर्नुपर्छ।
पुरानो पुस्ताले खोजेको कुरा नयाँ पुस्तासँग मिल्नु पर्छ र उनीहरुको चाहना पनि हुनुपर्ने उनी बताउँछन्।
बस्नेतको दुई वर्षको योजना
बुद्ध एयरमा आफ्नो सक्रिय नेतृत्वको दुई वर्षमा कम्पनीलाई थप उचाइमा पु¥याउने बस्नेतको योजना छ।
उनले सन् २०२२ लाई विशेष वर्ष मानिरहेका छन्, सो वर्ष उनले नेपालको दुर्गम क्षेत्र जाने तीन जहाज थप्ने छन्।
अन्तर्राष्ट्रिय उडानका लागि जेट ल्याउने कुरा ‘आकाशको फल’ भएको भन्दै दुर्गममा उडाउन नयाँ जहाज थप्ने योजनामा बस्नेत लागिरहेका छन्। त्यसैले नयाँ व्यवसाय विस्तारको लागि दुर्गममा जाने निर्णय गरिसकेका छन्।
‘हामी आर्थिक रुपमा सक्षम छौं। व्यवसायको प्रगति पनि राम्रो छ,’ उनले भने, ‘अबको हाम्रो फोकस दुर्गम हो।’
दुर्गममा जान स्काइ कुरियरसँग कुरा भइरहेको छ। यसका लागि २०२१ मा उनीहरु एफए सर्टिफिकेसन गर्दैछन्। त्यो जहाज भएन भने ट्विनअटर किन्ने विचारमा उनी छन्।
‘२०२२ को सुरुमै तीनवटा नयाँ जहाज थप्छौैं,’ बस्नेतले भने।
२०२२ सम्म पर्खनुको कारण यही कोरोना संकट हो। पर्यटन व्यवसाय पुन चलायमान हुन २०२१ को अन्तसम्म लाग्ने उनको अनुमान छ। त्यसैले नयाँ व्यवसाय विस्तारको लागि २०२२ उपयुक्त समय भएको उनको ठम्याइ छ।
‘त्यसपछि बुद्ध एयरप्रतिको मेरो दायित्व पनि सकिन्छ,’ बस्नेत भन्छन्, ‘त्यसपछि नयाँ पुस्ताले अगाडि लिएर जान्छ।’
(आस्था र वीरेन्द्रको छुट्टाछुट्टै तस्बिर हामीले वाउम्यागनेपाल र इसीएस नेपालबाट लिएका हौं।)