बाहुनडाँगी | मानिसमा भित्रैदेखि गर्ने चाहाना इच्छा र दृढ संकल्प भए न उमेरले रोक्दो रहेछ , न त धन कमाउन विदेशिनु नै पर्ने रहेछ । यस्तै उदाहरण पेश गर्नुभएको छ, झापाको मेचीनगर —४ आमडाँगी जागृति टोलका सातदशक उमेर पार गर्नुभएको कर्णाखर चौलागाईँले ।
झापाको मेचीनगर —४ आमडाँगी जागृति टोलका कर्णाखर चौलागाईँ अहिले ७० वर्ष पुग्नुभयो । नेपालमा राणा शासनकै बखत २००७ सालमा उहाँ जन्मिनु भयो । तर, उहाँको अहिलेको जोस जागर र उत्साह हेर्ने हो भने उसबेलाको १८ वर्षको भन्दा कम छैन् । उहाँको यो दैनिकीले निक्कैलाई एउटा गतिलो सन्देश दिएको छ । घरले जा जा र बनले आइज आइज भन्ने बेलामा समेत उहाँको यो मिहिनत र लगानी प्रशंसायोग्य छ ।
अहिले उहाँले व्यावसायिकरुपमै करीव अढाई विगाह जमीनमा जडीबुडी र काठजन्य विभिन्न प्रजातिका १ सय ३ वटा बोट विरुवा लगाउनुभएको छ । यो उहाँको आम्दानीको मुख्यः स्रोत हो । ६ देखि ८ लाख रुपैयाँको लगानीमा शुरु गर्नुभएको यो व्यवसायले अहिले उहाँले वार्षिक ३ देखि ४ लाख रुपैयाँ आम्दानी गरीरहनु भएको छ । विहान ५ बजे उठेर दैनिक पुजा पाठ सकेर बारीमा छिरे पछि तीनै बोटविरुवाको रेखदेख र हेरचाह गर्दागर्दैं झमक्कै हुन्छ ।
शुरु शुरुमा सिमित वोटविरुवा लगाएर व्यावसायिक खेती शुरु गर्नुभएका उहाँले यसबाट राम्रै आम्दानी हात पर्न थालेपछि अहिले करीव अढाई विगाह जमीनमा जडीबुडी र काठजन्य विभिन्न प्रजातिका १ सय ३ वटा बोट विरुवा लगाउनुभएको हो । रामफल, सवैप्रजातिका जमुना, लिच्ची, आप कागती भोगटे, निम्बु अथवा अमिलो प्रजातिका सवै फलफूलदेखि जडीबुडीकारुपमा प्रयोग हुने हर्राे, बर्राे अमला, कपुर, इञ्चार्ज, अर्जुनगाछ, रुद्राक्ष,अलैचीलगायतका बोट विरुवा अहिले चौलागाईँका बारीमा छन् ।
आफ्ना बारीमा उत्पादन भएका हरेक वस्तु विक्री गर्न उहाँलाई बजारको पनि कुनै समस्या छैन् । घरमै आएर फलफूलदेखि जडीबुटी समेत खरिद गरी लैजाने गरेको उहाँको भनाई छ । रुद्राक्ष किन्न चाइनाबाट मानिसहरु घरमै आउछन् । तर, अहिले कोभिड १९ का कारण उनीहरु आउन छाडेको उहाँको भनाई छ ।
विभिन्न समयगरी ५ पटक ठूल्ठूला दुघर्टनामा परेर निक्कै कठिन खालका ३ वटा शल्यक्रिया गर्नुभएका चौलागाईँ अहिले पनि अधिकाँश समय बारीमा विताउनुहुन्छ । आफूलाई यसैले आनन्द दिएको बताउने उहाँ एउटा लौरोको भरमा सवै जग्गा डुलेर बोटविरुवाको गोडमेल र हेरचाहमा लाग्नुहुन्छ । उहाँले मसीक ८ देखि १० हजार रुपैयाँ पारीश्रमिक दिएर दुईजना सहयोगी समेत राख्नु भएको छ । तर उनीहरुसँगै उहाँ पनि काममा व्यस्त हुनुहुन्छ । उहाँलाई परिवारका अन्य सदस्यले समेत बेला बखत सघाउने गर्दछन् । बोट विरुवमा कीरा र विभिन्न समयमा अनेक खालका रोगले सताउने र यसबाट ठूलो क्षति व्यहोर्नु परेको उहाँको गुनासो छ । समयमै प्राविधिक नपाईने अर्गयानिक मलको अभाव सिञ्चाईको समस्याले बेला बेला आफूलाई निक्कै सताउने उहाँको भनाई छ ।
यो सत्तरी वर्षको उमेरमा एउटा लाठीको सहाराले उहाँले यतिमात्र गर्नुभएको छैन् उन्नत जातका गाई, कुखुरा टर्कीलगायतका पशुपक्षीसमेत पाल्नुभएको छ । समाजका यस्ता लगनशिल व्यक्तित्वहरुको पहिचान गरी उनीहरुको यो जोस जागरमा सम्बन्धित निकायले उत्साह थप्न सके चौलागाईँ जस्ता धेरैलाई यस्तै कर्ममा रमाउने प्रेरणा मिल्ने थियो । यसकारण पनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन जरुरी छ ।