१८ माघ, काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषय अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गरेका हुन् ।
फाइल ।
उनले व्यवसायीहरुका बैंकिङ समस्यालाई ‘कन्जुमर प्रोटेक्सन’का लागि विभिन्न सुनुवाइ गर्ने गरिएको बताए । यस्तै कुनै पनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न पनि उनले आग्रह गरेका थिए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताए । ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरेको पनि उनको भनाइ थियो । अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहे पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने गभर्नर अधिकारीले बताए ।
गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको भन्दै यसले बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने बताएका थिए । ‘तपाइँहरूले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्सन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्था अनुसार रिकभरीका काम गर्नुस् भनेका छौं । बैंकिङ सिस्टममा नर्मल्ली त्यो हुँदैन तर पनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ । त्योसँगै अहिले कन्जुमर प्रोटेक्सनको सन्दर्भमा हामीसँग डेडिकेटेड डिभिजन छ, त्यसले विभिन्न किसिमका समस्याहरु सुनुवाइ गर्छ,’ गभर्नर अधिकारीले भने ।
यस्तै उनले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने पनि औंल्याएका थिए । उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने उनको सुझाव थियो । गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमा आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको पनि बताएका थिए ।
गभर्नर अधिकारीले यसअघि बैंकको चर्को व्याजविरुद्ध प्रदर्शनमा उत्रिएका व्यवसायीहरूलाई लक्षित गर्दै अराजकताको सीमा नाघेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले व्यवसायीको प्रदर्शनलाई अपराध भन्दै रोक्नुपर्ने बताएका थिए ।
इकान्तिपुरबाट