५ माघ, मेचीनगर ः कुनै बेला भन्सार विभागको राजस्व असुलीमा महत्वपूर्ण योगदान पुर्याउने कोशी प्रदेशकै मुख्यः भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टा पछिल्लो समयमा राजस्व असुलीमा पछि परेको छ ।
विगतका साढे चारवर्षको राजस्व असुलीमा उताव चढाव देखिएको छ । अहिले भन्सार कार्यालयलाई विभागले दिएको वार्षिक लक्ष्य समेत पुरा गर्न धौ धौ परेको छ । आर्थिक वर्ष २०७६÷२०७७ देखि चालु आर्थिक वर्ष २०८०÷२०८१ को छ महिनाको अवधिमा भन्सार कार्यालयले संकलन गरेको राजस्वबाट स्वयम् भन्सार अधिकारीहरु नै सन्तुष्ट छैनन् ।
आर्थिक वर्ष २०७६÷२०७७ मा कुल राजस्वको ६३ दशमलव ५८ प्रतिशतमात्र राजस्व संकलन गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७९÷२०८० मा समेत लक्ष्य पुरा गर्न सकेको थिएन् । त्यो वर्ष भन्सार विभागले कार्यालयलाई २० अर्ब २४ करोड १८ लाख ३८ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिईएको थियो । तर, कार्यालयले भने, १४ अर्ब ४० करोड ५ लाख ९२ हजार रुपैयाँ वा ७० दशमलव १५ प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सकेन् ।
आर्थिक वर्ष २०७७÷२०७८ र २०७८÷२०७९ मा भने केही प्रगति गरेको थियो । ती वर्षमा लक्ष्यको तुलनामा क्रमस ८ दशमलव शुन्य ३ र ११ दशमलव ३४ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयको अभिलेखले देखाएको छ । आर्थिक वर्ष २०७७÷२०७८ मा कार्यालयले १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार रुपैयाँ वा १ सय ८ दशमलव शुन्य ३ प्रतिशत राजस्व संकलन गरेको थियो । कार्यालयको लक्ष्य भने १८ अर्ब ५४ करोड ५१ लाख ८५ हजार रुपैयाँ थियो ।
२०७८÷२०७९ मा १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार रुपैयाँ लक्ष्य भए पनि कुल १७ अर्ब ५३ करोड १९ लाख ३० हजार रुपैयाँ वा १ सय ११ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । यसकारण पनि कार्यालयको राजस्व असुलीमा निक्कै उताव चढाव देखिन्छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयात न्यून हुनु , सुपारी आयातमा कोटा प्रणाली लागू हुनु र आसामाबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको भनाई छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, सुपारी पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको छ ।
यस्तै नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पनि पूर्वीनाकाबाट व्यापार घटेको उहाँको भनाई छ । ‘विशखा पटनम बन्दरगाहमा ठुल्ठुला जहाजहरु आउँछन् व्यवसायीलाई निक्कै सहज हुन्छ,’ प्रमुख भन्सार अधिकृत रेग्मीले भन्नुभयो—’त्यसले पनि यो नाकाबाट हुने व्यापार क्रमस घट्दै गयो, २०७२ सालको महाभूकम्पबाट तातोपानी र रसुवा नाका अवरोध भएपछि कलकोत्ता हुदैं चाईनिज सामान आयात हुन्थे अहिले ती नाका पनि सञ्चालनमा आएका कारण यस नाकाबाट हुने राजस्व असुली कम भएको हो । ‘शुरु शुरुमा यसनाका हुदैं सुपारीको आयात निक्कै हुन्थयो, खुला थियो जस्ले राजस्व असुलीमा निक्कै टेवा पुगेको थियो । पछिबाट सरकारले सुपारी आयातमा कोटा प्रणाली लागू गर्यो र उद्योगीलेमात्र आयात गर्न पाउने व्यवस्था गर्यो, सुपारी खपत गर्ने उद्योग जिल्लामा नभएकै कारण सुपारी पनि आयात हुन छाड्यो र राजस्व असुलीमा समस्या भयो ’उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्ष २०८०÷२०८१ को पहिलो छ महिनाको राजस्व असुली समेत सन्तोषजनक नरहेको र यसले वार्षिक लक्ष्य पुरा नगर्ने लक्षण देखिएको एकजना भन्सार अधिकारी बताउँछन् । अर्थ मन्त्रालय भन्सार विभागले मेची भन्सार कार्यालय काँकरभिट्टालाई चालु आर्थिक वर्ष २०८०÷०८१ मा १८ अर्व २५ करोड ७८ लाख ६८ हजार रुपैयाँको वार्षिक राजस्व लक्ष्य दिईएको छ । तर, कार्यालयले भने चालु आर्थिक वर्षको साउनदेखि पुससम्म वा छ महिनाको अवधिमा ६ अर्व ७७ करोड ३० लाख७ ६ हजार रुपैयाँमात्र राजस्व असुली गरेको छ । जुन असुली लक्ष्यको तुलनामा ७६ दशमलव १५ प्रतिशतमात्र हो । वार्षिक राजस्वको लक्ष्यको तुलनामा ३७ दशमलव १० प्रतिशतमात्र हो ।
यसले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आव २०८०÷०८१ को वार्षिक राजस्व असुलीको लक्ष्य पुरा नगर्ने पक्का झै छ । कार्यालयले आर्थिक वर्षको शुरुवाती महिनादेखि नै लक्ष्यको तुलनामा प्रगति गर्न सकेको छैन् । चालु आर्थिक वर्षको २०८०÷०८१ को श्रावणमा ९६ दशमलव ४७ प्रतिशत , भदौमा ७८ दशमलव ७४ प्रतिशत, असोजमा ७५ दशमलव ९२ प्रतिशत, कात्तिकमा ६७ दशमलव ९० प्रतिशत, मंसिरमा ७५ दशमलव ३३ प्रतिशत र पुसमा ६८ दशमलव शुन्य ९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।