११ माघ, मेचीनगर : बजारमा केही स्थान छन्, जहाँ गफ गर्नेहरूको कमी हुँदैन। बात मार्नेहरूको भिडमा शिक्षक दामोदर निरौला पनि भेटिन्छन्। चियाको चुस्किसँगै चुरोटको धुवा उडाउँदै रहेका एक युवक भन्छन्- देशमा केही छैन, अब विदेश जानुपर्छ यार!
काँधमा झोला भिरेर चिया पसलेसँग वात मार्दै अर्का युवक सोध्छन्- तपाईंलाई यस पटकको चिया कस्तो लाग्यो? संवाद फरक-फरक व्यक्तिबीचका हुन्। तर, स्थान भने एउटै हो। पसलमा देशमा भविष्य नदेख्ने युवाहरूसँगै छन् देशमै उत्पादित चियापत्ति बेच्ने शिक्षक दामोदर। युवामा भविष्य छैन भन्दै देश छोड्ने सोच छ। शिक्षकले देशमै भविष्य छ है भन्ने सन्देश दिइरहेका छन्।
मानिसमा इच्छाशक्ति हुनुपर्छ। इच्छाशक्ति ठूलो कुरा हो। दामोदर पढाउने कर्ममा मात्रै सीमित भएको भए त्यसरी चिया बेच्दै गरेको देखिँदैन थिए। तर, उनी कलेज समयमा पढाउँछन्। बचेको बाँकी समय चियापत्ति बेच्नमा खर्चिन्छन्।
कपुरी चिया उनको सानो व्यवसाय हो। उनले २०७५ देखि चियापत्ति व्यवसाय सञ्चालन गरिरहेका छन्। कपुरी चिया बेचेरै उनले मासिक ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का अनुसार नेपालको कूल जनसङ्ख्या ३ करोड मध्ये ८० लाख युवाहरू भारतमा कार्यरत रहेका छन्। मलेसिया, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, बहराइन, दक्षिण कोरियालगायत देशमा झण्डै ५० देखि ६० लाख युवा श्रमिकका रूपमा कार्यरत छन्। वैदेशिक रोजगारीमा जानेहरूमध्ये ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला छन्।
आर्थिक वर्ष २०२२/२३ मा ७ लाख ५० हजार युवाले वैदेशिक रोजगारीका लागि देश छाडेको अनुमान गरिएको छ। प्रत्येक दिन २ हजारभन्दा बढी युवा कानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गइरहेको तथ्याङ्कले देखाउँछ। अवैध रूपमा बिदेसिनेहरू पनि छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार १५ देखि २९ वर्ष उमेर समूहका नेपाली युवाहरूमा १९.२ प्रतिशत बेरोजगार रहेका छन्।
यसरी आफ्नै देशमा रोजगारी नपाइने भएपछि युवा हताश छन्। स्वदेशमा रोजगारी नपाइने भएपछि जीविको पार्जनका लागि बिदेसिनु पर्ने अवस्था युवाहरूका लागि बाध्यात्मक जस्तै बनेको छ। केही युवाहरू भने देशमै केही गर्नुपर्छ भनेर लागि परेका पनि छन्। ती मध्ये एक हुन् शिक्षक दामोदर।
शिक्षण पेसा गरिरहेकै समयमा उनमा व्यवसाय गर्ने सोच पलायो। कस्तो व्यवसाय गर्ने भन्नेमा उनी सोचमै परिरहेका थिए। सोहीबीच उनी केही दिनका लागि झापास्थित आफ्नो घर गए। टोकला चिया बगानका मालिक उनका छिमेकी थिए। उनलाई पनि चिया व्यवसाय गर्न मन लाग्यो।
शिक्षक हुनु गौरवपूर्ण र सम्मानको पेसा हो। शिक्षकले भावी पुस्तालाई सही दिशा निर्देश गरिरहेको हुन्छ। अहिले शिक्षकहरू कक्षाकोठामा मात्र सीमित हुनुपर्छ भन्ने धारणा पुरानो भइसकेको छ। शिक्षकहरूले अन्य साना व्यवसायहरू अंगाल्दा उनीहरूको जीविको पार्जनमा निकै सहयोग पुग्ने गरेको छ। शिक्षकले बचेको समय उद्यमशीलतामा खर्चिदा यो समाजका लागि पाठ पनि बन्छ। शिक्षक दामोदरको संघर्ष विद्यार्थीहरूका लागि पनि एक पाठ जस्तै बनेको छ। जसले स्वदेशमै केही गर्नुपर्छ र बचेको समयको सदुपयोग गर्नुपर्छ भन्ने सन्देश दिइरहेको छ।
विगत लामो समयदेखि शिक्षण पेसामा आबद्ध दामोदर केही वर्ष यता व्यवसायी बनिरहेका हुन्। आजभोलि बिहानी चिसोसँगै उनी पढाउन कलेज गइरहेका हुन्छन्। दिउँसोदेखि अबेर बेलुकी सम्म उनी चियापत्ति बोकेको झोला बोकेर पसल-पसल चहारी रहेका हुन्छन्।
शिक्षण पेसासँग व्यवसाय पनि गरिरहेका दामोदर ५ वर्षदेखि चियापत्ति व्यवसायमा आबद्ध छन्। दामोदर झापा मेची नगरपालिका-७ मा संयुक्त परिवारमा वि. सं. २०४० साल पुस १७ गते जन्मिएका हुन्। तीन दाजुभाइ मध्य उनी माहिला सन्तान हुन्। उनको परिवार सामान्य कृषिमा निर्भर थियो। परिवारमा उनलाई धेरै पढ्नुपर्छ भनेर सम्झाइन्थ्यो। सोही प्रेरणाले उनी पढाइमा निकै ध्यान दिन्थे।
उनले प्रारम्भिक शिक्षा गाउँ नजिककै लक्ष्मी प्राविबाट हासिल गरे। उनले ज्ञानोदय शिक्षा निकेतनबाट २०५५ सालमा एसएलसी दिए। त्यसपछि उनले बिर्तामोडस्थित विर्ता उच्च मा. विबाट २०५७ सालमा १२ पास गरे। पछि मेची बहुमुखी क्याम्पसबाट बिबिएस गरे। उनले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन संकायमा मास्टर्स गरे। अध्ययन सकेपछि उनले मासिक चार हजार तलबमा एउटा कम्पनीमा काम गरे। त्यसपछि उनले कलेजहरूमा अध्यापन गराउन थाले। एक पिरियड पढाएको उनले मासिक २५ सय पाउँथे। यसबाट उनको मासिक ७ देखि ८ हजार आमदानी हुन्थ्यो। अहिले पनि उनी शिक्षण पेसामा आबद्ध छन् नै। लगनखेलस्थित नेश्फिल्ड इन्टरनेशनल कलेजमा उनले अध्यापन गराउँदै आएका छन्।
शिक्षण पेसा गरिरहेकै समयमा उनमा व्यवसाय गर्ने सोच पलायो। कस्तो व्यवसाय गर्ने भन्नेमा उनी सोचमै परिरहेका थिए। सोहीबीच उनी केही दिनका लागि झापास्थित आफ्नो घर गए। चिया बगानसँग सम्बन्धित केही व्यत्तिहरुसँङ उनको राम्रो चिनजान थियो। उनलाई पनि चिया व्यवसाय गर्न मन लाग्यो। उनले मध्यस्थकर्ता मार्फत झापाबाट केही झाेला चियापत्ति ल्याएर बेच्न थाले। बुबा-आमाले दुःख गरी पढाएकाले सानैदेखि उनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो। लामो समय शिक्षण पेसा गरे पनि उनको आर्थिक अवस्था खासै सबल बन्न सकेको थिएन। ‘समाजले जागिरेलाई ठूलो देख्छन्। सामान्य व्यवसायीलाई नेपाली समाजले कमजोर देख्छ। यो भ्रमबाट हामी मुक्त हुनुपर्छ,’ उनले भने।
२०७५ साल असोज २ गते उनले घरेलुमा व्यवसाय दर्ता गरे। उनले व्यवसाय सुरु त गरे तर व्यवसाय बारे कसैलाई खुलेर भन्न सकेका थिएनन्। उनी भन्छन्, ‘म बसेको समाजमा मानिसलाई उसको काम अनुसारको नाम दिइन्छ। त्यसैले अब मलाई पनि चियापत्ति वाला भन्ने छन् लागि रहेको थियो। मलाई अनुहारको मास्क खोल्न ६ महिना लाग्यो। सुरुमा मास्क लगाएर चियापत्ति बेच्न चिया पसलहरूमा धाउने गर्थे। झोलामा चियापत्ति राखेर बजार खोज्दै हिँड्थेँ। कोही चिनेको मान्छे आइरहेको पो छ कि भनेर लुक्दै चियापत्ति बेच्थेँ। कसैलाई देखे भने उसले नदेख्ने ठाउँमा गएर लुकेर बस्थेँ।’
‘मैले बजारमा बेचेको चिया पिउँदै युवाहरूले देश छोड्ने कुरा गरिरहेका हुन्छन्। नेपालमा सम्भावना छैन भनिरहेका हुन्छन्। हामीले आफ्नै देशमा सम्भावना खोज्नुपर्छ। यही आफ्नो श्रमको सदुपयोग गर्नुपर्छ। त्यसपछिमात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ,’ उनी भन्छन्।
यसरी उनले ६ महिना मास्क लगाएरै चियापत्ति बिक्री गरे। ‘म एक शिक्षक हुँ। तर, त्यो भन्दा पहिले एक सामान्य मानिस हुँ। जसले सामाजिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बाच्नुपर्ने हुन्छ। पेसा अनुसार दिइने अनेक नामबाट म पनि छुट्न सकिनँ। समाजले के भन्ला भन्ने सोचले गर्दा म लुकेर व्यवसाय गर्न बाध्य भए। लुकेर आखिर कति दिन चल्थ्यो र? एक दिन आफूले गरेको कुनै काम सानो हुँदैन, म व्यवसायी हुँ लाग्यो।’
त्यसपछि उनले लाजलाई परास्त गर्दै हटाइदिए मास्क। जुन व्यवसायले आफूलाई नाफा दिइरहेको छ र जीवनयापनमा सहज गरिरहेको छ त्यो व्यवसायलाई लाजको रूपमा सञ्चालन गर्नु हुँदैन भन्ने लागेका कारण आफैँले आफैँलाई हिम्मत दिएको उनी बताउँछन्। उनले अहिले नाफा भन्दा पनि आफू ब्रान्डमा केन्द्रित रहेको बताएका छन्।
चियापत्ति के हो त ?
चिया पत्ति विशेषगरी दुई प्रकारका हुन्छन्। लिफ टी र सिटीसी टी। लिफ्ट टी भनेको अक्सिडाइजेसन नगरेको गरेको हो भने सिटीसी टी भनेको अक्सिडाइजेसन गरेर बनाइएको हुन्छ। सिटीसी टी बनाउने प्रक्रिया भनेको बोटबाट ल्याएपछि धुल्याइन्छ र दाना बनाइन्छ।
चियामा हुनु पर्ने पहिलो गुण भनेको रंग हो। त्यसपछि वासना र स्वाद हुनु हो। त्यसैले चियालाई धेरैले मन पराउँछन्। शिक्षक दामोदर आफूले बिक्रीगर्ने चियापत्तिमा पनि यस्ता गुण रहेकाले ग्राहकले मन पराइरहेको बताउँछन्।
कपुरी चिया ग्राहकको रोजाइ किन्?
शिक्षक दामोदर आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष भेट्छन्। उनीहरूका कुरा सुनेर फिड्ब्याक लिन्छन्।
चियापत्ति कम बिक्री हुने ठाउँमा गएर उनले क्रेतासँग आफ्नो उत्पादनका बारेमा सोध्छन्। चिया पसलेहरूसँग सोध्छन्। चिया पसलमा आएका ग्राहकलाई पनि चिया कस्तो लाग्यो भनेर सोध्छन्। यसरी ग्राहकको इच्छा अनुसार आफूले उत्पादनलाई अगाडि बढाइरहेकाले धेरैको रोजाइ भन्ने गरेको र राम्रो बजार पाइरहेको उनी बताउँछन्।
असोजमा ल्याएको चियापत्ति उनले चैत्रसम्म बेच्ने गर्छन्। हावाको सम्पर्कमा आउने बित्तिकै चियापत्ति बिग्रिने भएकाले यसलाई राम्रोसँग स्टोर गर्नुपर्ने उनले बताए। ‘अगरबत्तिको धुवाले पनि यसलाई बिगार्ने हुँदा सुरक्षित स्थानमा स्टोर गर्नुपर्छ। सिमेन्टमा राख्नु हुँदैन। भित्ताहरूमा छुन दिनु हुँदैन,’ उनले भने।
उनलाई एउटा कुराले भने बिझाइरहेको हुन्छ। त्यो भनेको उनले बेचेको चियाको चुस्किसँगै युवाहरूले देश छोड्ने कुरा गरिरहेका हुन्छन्। ‘मैले बजारमा बेचेको चिया पिउँदै युवाहरूले देश छोड्ने कुरा गरिरहेका हुन्छन्। नेपालमा सम्भावना छैन भनिरहेका हुन्छन्। हामीले आफ्नै देशमा सम्भावना खोज्नुपर्छ। यही आफ्नो श्रमको सदुपयोग गर्नुपर्छ। त्यसपछिमात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ,’ उनी भन्छन्।
उद्यमशीलता कुनै सानो ठूलो नहुने बताउँदै परिश्रम गरे जुनसुकै ठाउँमा पनि सम्भावना रहेको उनको भनाइ छ।
उनले चिया पसलमामात्र होइन विद्यार्थीहरूलाई पनि उद्यमशीलता सम्बन्धी प्रेरणा दिइरहेका हुन्छन्। उनमा सकारात्मकता छ। उनी सकारात्मकताको सन्देश प्रवाह गरिरहेका हुन्छन्।
साभार :अनलाइनपाना