२२ चैत, मेचीनगर : सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दै व्यवसायीलाई निर्यात सहुलियत दिए पनि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात खासै सन्तोषजनक छैन् । सरकारले निर्यात प्रोत्साहन स्वरूप व्यवसायीहरूलाई ‘एस्सपोर्ट इन्सेन्टिभ’ निर्यात प्रोत्साहन भन्दै ५ प्रतिशत सहुलियत दिने गरेको सरकारी अधिकारीहरुको भनाई छ ।
सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यापार खासै सन्तोषजनक नरहेको मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेखले देखाएको छ । पूर्वी काँकरभिट्टा नाका भएर निर्यात हुने मुसुरो दाल हरेक वर्ष क्रमशः घट्दो क्रममा रहेको सरकारी तथ्याङ्क छ ।
कुनै समय बंगलादेशसँगको व्यापारमा मुख्य हिस्सा ओगट्ने मुसुरो (दाल) को निर्यात क्रमशः घट्दै जाँदा आयात भने दोब्बर बढिरहेको कार्यालयको अभिलेखले देखाएको छ । कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलका अनुसार खासगरी अस्ट्रेलिया र भारतबाट मुसुरोको आयात भइरहेको छ । यी देशसहित क्यानाडा, म्यानमारलगायतका मुलुकहरूबाट मुसुरोको आयात हुने सरकारी अधिकारीहरुको भनाई छ । नेपालले बंगलादेश मुसुरो दाल निर्यात गर्नै गरेको छ । सन् १९९७ जुन १ देखि काँकरभिट्टा–फूलबारी–बंगलाबन्द मार्ग सञ्चालन भएयता नेपालले बंगलादेशमा पहिले गहुँ र अहिले मुसुरो निर्यात गर्दै आएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठमहिनामा काँकरभिट्टा नाका भएर ४४ करोड ११ लाख ९८ हजार ८ सय ६१ रुपैयाँ मुल्य बराबरको ४४ लाख ११ हजार ७ सय ७९ केजी मुसुरोको दाल नेपाल भित्रिएको छ । चालु आवको साउनदेखि फागुनमहिनाको अन्त्यसम्म अस्ट्रेलियाबाट ३४ करोड १३ लाख ८६ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको ३५ लाख २५ हजार ७ सय २० केजी र भारतबाट ९ करोड ९८ लाख ११ हजार ९ सय २० रुपैयाँ बराबरको ८ लाख ८६ हजार ५९ केजी मुसुरोको दाल चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो आठमहिनामा काँकरभिट्टा नाका भएर अस्ट्रेलियाबाट नेपालले आयात गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो आठमहिनामा काँकरभिट्टा नाका भएर अस्ट्रेलियाबाट ३५ करोड ९९ लाख ५९ हजार ५५ रुपैयाँको ३५ लाख ६२ हजार ४ सय ३० केजी र भारतबाट १० करोड ७२ लाख ९ हजार ८ सय ३० रुपैयाँ मुल्य बराबरको १० लाख९ हजार १ सय ९० केजी गरी कुल ४६ करोड ७१ लाख ६८ हजार ८ सय ८५ रुपैयाँ बराबरको ४५ लाख ७१ हजार ६ सय २० केजी मुसुरो दाल आयात गरेको सूचना अधिकारी एवम् भन्सार अधिकृत कडेलले जानकारी दिनुभयो ।
‘मुसुरोको निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी देखिन्छ,’ सूचना अधिकारी भन्सार अधिकृत कडेलले भन्नुभयो, ‘मुसुरोको आयात बढ्ने क्रममा जारी छ ।’ उहाँका अनुसार विगतमा मुसुरोको आयात ज्यादै न्यून थियो । केही वर्षयता आयात बढ्न थालेको छ । निर्यात क्रमशः घट्न थालेको छ । चालु आवको यहि अवधिमा नेपालले १३ करोड १५ लाख ८९ हजार ७ सय ८२ रुपैयाँको ९ लाख २ हजार ७ सय केजी मुसुरो दाल बंगलादेश निर्यात गरेको छ । यस अघिको आवको आठमहिनामा २६ करोड४९ लाख ८६ हजार ७ सय ३२ रुपैयाँ मुल्य बराबरको १८ लाख६ हजार ८ सय २४ केजी मुसुरोको दाल निर्यात गरेको सरकारी अभिलेख छ । ‘मुसुरोको आयात अझै बढ्न सक्ने देखिन्छ । तर, निर्यात बढ्ने भन्दा पनि घट्ने सम्भावना बढी छ ।’ एकजना व्यवसायीले भने ।
मुसुरोको घट्दो निर्यातले नेपाल–बंगलादेशबीचको व्यापारमा समेत प्रत्यक्ष असर पुगेको उनको भनाई छ । दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरूले मुसुरो दाल निर्यातका क्रममा अनिवार्य रुपमा खाद्य प्रयोगशालाको सिफारिस पेश गर्नुपर्ने भन्सार अधिकारीहरू बताउँछन् । व्यवसायीले खाद्य प्रयोगशालाको सिफारिस पेश गरे पछि निकासी महशुल वापत प्रति एसेसमेन्ट १ सय १३ रुपैयाँ बाहेक अन्य केही रकम बुझाउनु नपर्ने भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनुपर्छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भए पनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाली सरकारी अधिकारीहरूको भनाई छ ।