६ बैशाख, मेचीनगरः भारतलगायत बंगलादेशसँगको व्यापारमा घाटा बेहोरिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ । पूर्वी काँकरभिट्टा नाकाबाट मात्र मुलुकले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो नौ महिनामा भुटानासँग ५० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिसकेको छ ।
नेपालले निर्यात गर्ने मालवस्तुको तुलनामा आयात बढी भएका कारण साउनदेखि चैतमहिनाको अन्त्यसम्म यी दुई देशबीच हुने व्यापार भुटानको पक्षमा मजवुत छ । जानकारहरुका अनुसार भूगोल, जनसंख्या तथा यातायात पूर्वाधारका हिसाबले नेपालभन्दा सानो मुलुक हो भुटान ।
यो अवधिमा आफुभन्दा सानो मुलुक भुटानबाट नेपालले ९० करोड ५७ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको मालवस्तु आयात गर्दा ४० करोड ५६ लाख १५ हजार रुपैयाँ मुल्य बराबरको सामान मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै पठाएको भन्सारको अभिलेखले स्पष्ट पारेको छ । आयात भन्दा निर्यात ५५ प्रतिशतले कम भएका कारण नौमहिनामा नेपालले ५० करोड ११ लाख ३ हजार रुपैयाँ व्यापार घाटा बेहोरिरहेको कार्यालयका सूचना अधिकार भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिकवर्षको सोहि अवधिमा नेपालले भुटानसँग ६६ करोड ६४ लाख ३८ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । ९६ करोड ३७ लाख ३९ हजार रुपैयाँ बराबरको सामान आयात गर्दा नेपालले २९ करोड ७२ लाख ९८ हजार रुपैयाँ मुल्य बराबरमात्रको सामाननिर्यात गरेको कार्यालयको अभिलेखले देखाएको छ । आयातको तुलनामा निर्यात ६९ प्रतिशतले कम हो । तर, अघिल्लो आवको तुलनामा आयात भने ५ करोड ८० लाख ८ हजार रुपैयाँ वा ६ दशमलव शुन्य २ प्रतिशतले कम भएपनि निर्यात भने १० करोड ८३ लाख १७ हजार रुपैयाँ वा ३६ दशमलव ४३ प्रतिशले बृद्धि भएको कार्यालयको अभिलेखले देखाएको छ । हस्तकला, तयारी पोशाक, रत्नमाला तथा जडीबुटीका उत्पादनहरू, चाउचाउ, जडीबुटीका साबुन, पेष्टजस्ता वस्तुहरूको भुटानमा उच्च माग रहेको छ । त्यस्ता मालवस्तुहरुको गुणस्तर अहिलेसम्म कायम नै रहेपनि विगतमा पश्मिना सल तथा ऊनी गलैंचामा नेपालले गुणस्तर कायम गर्न नसक्दा रातारात बजार गुमाउनुपरेका कारण यी दुई देशबीच हुने व्यापारमा ‘ठूलो खाडल’ देखिएको बताइएको छ ।
भुटानबाट आयात हुने मुख्यः मालवस्तुमा ‐जिप्सन) सिमेन्ट उद्योगहरूमा चाहिने कच्चा पदार्थ, पहिलो नम्बरमा छ । भुटानबाट आलु आदि कृषि उत्पादन पनि नेपाल आयात हुनेगर्छ । तर ती वस्तुको मात्रा अन्य वस्तुको तुलनामा कम छ । त्यस्तै धातुका अवशेषहरु, स्न्याक्स नुडल्स, चीजवल, आफु चिप्सलगायत नेपालले निर्यात गर्ने मुख्यः मालवस्तुहरु हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल र भुटानबीच व्यापारसम्बन्धी पहिलो वार्ता २०१० र दोस्रो वार्ता २०११ मा भएको थियो । पहिलो र दोस्रो वार्ता भएको करिब आठ वर्षपछि तेस्रो वार्ता भएको थियो । तेस्रो वार्ताबाट भुटानसँग व्यापार सम्झौताका लागि बाटो खुलेको सरकारी अधिकारीहरुको भनाई थियो ।
व्यापार सम्झौताका लागि एउटा मस्यौदा नेपाल र भुटानलाई मान्य हुनेगरी तयार पार्ने सहमति भएको छ । नेपाल र भुटानबीचको व्यापारका लागि मुख्य नाका पूर्वी नाका काँकरभिट्टा रहेको मेची भन्सार कार्यालयका अधिकारीहरुको भनाई छ । काँकरभिट्टाबाट करिब ५ घण्टाको यात्रापछि भुटान र भारतबीचको सीमा जयगाउँ–फुन्त्सोलिङ पुगिन्छ । यो नेपाल तथा भारतबाट भुटान प्रवेशका लागि मुख्यद्वार भएको व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार नेपालबाट भुटान सामान निर्यात गर्दा होस् वा भुटानबाट नेपाल सामान आयात गर्दा भारतको पनि बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नेपाल–भुटान व्यापारलाई दिगो र भरपर्दो बनाउन थुप्रै चुनौतीहरू नेपालसामु रहेको, जसको सम्बोधन अपरिहार्य रहेको सरोकारवालाहरुको भनाई छ ।
भुटान निर्यात हुने मालवस्तुका गुणस्तरका प्रावधानहरू अनुकूल नेपाली उत्पादनहरूलाई उपभोक्तामैत्री बनाउनु मुख्यः चुनौती रहेको बताइएको छ । भुटानले आयातमा प्रतिबन्ध लगाएको अवस्थामा नेपाली उत्पादनमा कैफियत देखिएमा भुटानले छुट दिन्छ होला भनेर नेपालले कल्पनासमेत पनि गर्न नसक्ने सरोकारहरुको बुझाई छ । यी दुई देशबीच हुने व्यापारमा देखिएका चुनौतीहरु समाधा गर्ने हो भने नेपाल–भुटान द्विपक्षीय आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने निश्चित रहेको अर्थविद ज्ञानराज प्रसाईको भनाई छ ।