१२ जेठ, मेचीनगर : झापा जिल्लाका विभिन्नक्षेत्रबाट काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेका कारण ग्रामीण क्षेत्रबाट तस्करी बढेको प्रहरी अधिकारीहरुको भनाई छ।
जिल्लाका अलग अलग स्थानबाट प्रहरीले ६ सय क्युविक फिट भन्दा बढीका अवैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो समय काठको अवैध कारोवारको चर्चा चले लगत्तै प्रहरी गोप्यरुपमा परिचालन भएको थियो भने, प्रहरीको नजर पनि काठतिरै थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण्कुमार चन्दका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को दशमहिनामा जिल्लाका अलग अलग स्थानबाट ६ सय ९१ क्युविक फिट काठ बरामद भएको छ । यस वापत ४० लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । त्यसमा प्रयोग भएका ८ वटा सवारी साधन र त्यसमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयो ।
प्रहरीले सवैभन्दा बढी असोज महिनामा २ सय २२ क्यू.वि. काठ , त्यसमा प्रयोग भएको दुईवटा सवारी साधन र त्यसमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । त्यस वापत १३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौंमा ३४ क्युविक फिट काठ बरामद हुँदा त्यस वापत १० लाख रुपैयाँ राजस्व जम्मा भएको कार्यालयको अभिलेखले देखाएको छ । भदौंमा अबैधरुपमा कामको काम गर्ने १ जना पुरुष र एउटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।
श्रावण महिनामा २ सय १९ क्युविक फिट काठ, २ वटा सवारी साधन र ४ जना मानिस पक्राउ परेका थिए । बरामद काठबाट ७ लाख ७६ हजार ८० रुपैयाँ राजस्व जम्मा भएको थियो । मंसिरमा ९४ क्युविक फिट काठ २ वटा सवारी साधन र २ जना मानिस पक्राउ हुँदा २ लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको छ । पुस महिनामा १५ क्युविक फिट काठ बरामद गर्दा ३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चैत महिनामा ३४ क्युविक फिट काठ नियन्त्रणमा लिदा १ लाख २७ हजार तथा बैशाख महिनामा ७३ क्युविक फिट काठ एउटा सवारी साधन बरामद हुँदा २ लाख १९ हजार ४ सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । प्रहरीले बरामद सवै काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाएको छ । जिल्लामा बेला–बेलामा तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदैआएका छन् । इलाम र झापा खुल्ला सिमाना भएको क्षेत्र भएकाले काठ तस्करी हुँदैआएको बताउनुभयो । केहीवर्षअघिमात्र सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ठुलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको थियो ।
मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो । ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्न साथ ट्याक्टर छाडेर भागेका थिए । त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको थियो । ३ जेठमा इलामका चुरे क्षेत्रमा रहेका वनबाट चोरी तस्करी गरी माई खोलामा बगाएर ल्याउँदै गरेको काठ झापाको दोमुखामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसअघि गत बैशाख १५ गते माई खोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माई खोलाको पानीमा बगाएर इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रम प्रहरीको भनाई छ । केही समययता सक्रिय देखिएको अवैध काठ चोरी तस्करी कात्तिक, माघ र फागुनमा शुन्य छ । खासगरी भित्रि मधेस र चुरे क्षेत्रका सामुदायिक र सरकारी वन क्षेत्रबाट दिनहुँ अवैध काठ चोरी निकासी हुने गरेको बताईएको छ ।
राती र विहानको समयमा काठ तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी टोली खटाएर काठ पक्राउ गरिएको कार्यालयको भनाई छ । सम्भावित काठ तस्करी रोक्न सुरक्षाकर्मी प्रभावकारी परिचालन गरिएको छ । इलामका वनजंगलबाट अवैध रूपमा काटिने रुख चिरान गरेर वा गोलिया आकारमै काठ झापातिर तस्करी हुने गरेको वन अधिकारीहरुको भनाई छ । झापासँग सिमाना जोडिएको इलामका सीमावर्ती वन क्षेत्रबाट तस्करी गरी ल्याइएको अवैध काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले बरामद गर्ने गरेका छन । अवैध काठ चोरी मुद्धामा वन ऐन् २०४९ अनुसार कानुनी कारवाही गरिने वन कार्यालयले जनाएको छ ।