७ साउन, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक आयतर्फ विभिन्न शीर्षकमा १३ करोड रुपैयाँबढी राजस्व संकलन गरेको छ ।
कार्यालयको राजस्व उपशाखाका अनुसार नगरभित्रका १५ वटा वडा र नगरपालिकाको राजस्व उपशाखाबाट कुल विभिन्न ५० वटा करको शीर्षकमा १३ करोड ५२ लाख ५ हजार ८ सय ९७ रुपैयाँ राजस्व संकलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ६१ लाख २१ हजार ६ सय ९७ रुपैयाँ संकलन भएको थियो । जुन रकम आर्थिक वर्ष २०८०/०८१ को तुलनामा एक करोड ९० लाख ८४ हजार दुईसय रुपैयाँले कम हो ।
नगरका १५ वटा वडामध्ये सवैभन्दा बढी वडा नम्बर —६ ले एक करोड ७६ लाख २७ हजार ७ सय एक रुपैयाँ र सवैभन्दा कम वडा नम्बर — ५ ले २२ लाख ४९ हजार ८ सय ९१ रुपैयाँमात्र संकलन गरेको छ । वडानम्बर—६ पछि बढि राजस्व संकलन गर्ने दोस्रोमा वडा नम्बर —१० ले १ करोड ६३ लाख ९९ हजार ५ सय ४५ राजस्व संकलन राजस्व उपशाखाको अभिलेखले देखाएको छ ।
वडा नम्बर —१ ले ३४ लाख ८९ हजार ७ सय ३ रुपैयाँ राजस्व संकलन गर्दा वडा नम्बर — २ ले ३६ लाख २७ हजार २ सय ५९ रुपैयाँ राजस्व संलन गरेको राजस्व उपशाखाले जनाएको छ । यसैगरी वडा नम्बर— ३ ले ३३ लाख ५१ हजार ६ सय ५ रुपैयाँ, वडा नम्बर —४ ले २६ लाख १७ हजार ३ सय ८२ रुपैयाँ, वडा नम्बर—७ ले ७७ लाख ७० हजार ३ सय १८, वडा नम्बर— ८ ले ५१ लाख ४३ हजार १ सय ९७ रुपैयाँ, वडा नम्बर — ९ ले ६८ लाख ५२ हजार ६ सय ६२ रुपैयाँ वडा नम्बर —११ ले ३५ लाख ६६ हजार ५५ रुपैयाँ, वडा नम्बर १२ ले ३६ लाख ८६ हजार ६ सय ८९ रुपैयाँ, वडा नम्बर —१३ ले ६५ लाख ५२ हजार ८ सय ९० रुपैयाँ संकलन गरेको छ ।
यसैगरी, वडा नम्बर —१४ ले ४७ लाख ७९ हजार ८ सय २६ रुपैयाँ र वडा नम्बर— १५ ले ५९ लाख ४९ हजार ७ सय ६४ रुपैयाँ राजस्व संकलन गरेको राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सवैभन्दा बढी सम्पति करतर्फ तीन करोड ४० लाख १९ हजार ६ सय ४५ रुपैयाँ संकलन भएको छ । दोस्रोमा अन्य सेवा शुल्क वापत दुई करोड ३१ लाख ९७ हजार तीनसय ८१ रुपैयाँ संकलन भएको छ । संकलित राजस्व नगरभित्रका १५ वटा वडा र नगरपालिकाको राजस्व उपशाखाबाट भएको हो । सम्पति कर नगरपालिकाको राजस्व उपशाखाबाट मात्र ११ लाख ४२ हजार पाँच सय ८४ रुपैयाँ संकलन भएको छ । वडागत रुपमा सवैभन्दा बढी सम्पति कर संकलन गर्नेमा वडा नम्बर —१० ले ५९ लाख ७९ हजार ४३ रुपैयाँ र सवैभन्दा कम वडा नम्बर ५ ले सात लाख १६ हजार ६२ रुपैयाँ संकलन गरेको अभिलेख कार्यालयको राजस्व उपशाखामा छ ।
व्यवसाय करतर्फ कुल एक करोड ५० लाख ९९ हजार सात सय ८७ रुपैयाँ संकलन भएको छ । त्यो मध्ये १४ लाख ३६ हजार छ सय ७२ रुपैयाँ कार्यालयको राजस्व उपशाखामा जम्मा भएको हो । व्यवसाय करमा सवैभन्दा बढि वडा नम्बर — ६ ले ३८ लाख ९३ हजार सात सय ८८ र कम वडा नम्बर १० ले ३४ लाख ४० हजार सात सय ४२ रुपैयाँ संकलन गरेको संयोजक उप्रेतीले जानकारी दिनुभयो ।
नक्शा पास दस्तुर वापत कार्यालयको राजस्व उपशाखाले ९५ लाख ८५ हजार तीन सय ३२ रुपैयाँ संकलन भएको छ । नक्शा पासको काम वडाहरुमा नहुने भएकाले कार्यालयको राजस्व उपशाखामा जम्मा हुने गरेको छ । सिफारीस दस्तुर वापत कुल दुई करोड तीन लाख ८७ हजार एकसय ४३ रुपैयाँ संकलन भएको छ । कार्यालयको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीका अनुसार उक्त संकलित राजस्व रकम नगरको राजस्व उपशाखा र १५ वटा वडाबाट संकलन भएको हो ।
कार्यालयले चालु आर्थिक वर्ष२०८१/०८२ मा प्रत्येक वडालाई ६० लाख रुपैयाँ बजेट दिएपनि आन्तरिक आयतर्फ बढि राजस्व संकलन गर्ने वडालाई थप ३० प्रतिशत रकम दिने वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले जानकारी दिनुभयो । वडाको भूगोल जनसंख्या तथा आन्तरिक आयतर्फ बढि राजस्व संकलन गर्ने वडालाई प्राथामिकतामा राखेको उहाँको भनाई छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रुपैयाँमध्ये आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ ।