२९ साउन, काठमाडौँ : पैसा वस्तु र सेवाहरूको आदानप्रदान गर्न प्रयोग हुने एउटा साधन हो । यही साधन अहिले सबैको जीवनयापनको लागि अपरिहार्य बनेको छ । वित्तीय लेनदेन गर्न पैसा चाहिन्छ । संसारका हरेक देशले आफ्नै प्रकारका मुद्रा छापेर वित्तीय लेनदेन पूरा गर्दै आएका छन् । हरेक देशमा आवश्यकअनुसार केन्द्रीय बैंकले पैसा छाप्ने अधिकार राख्छ र प्रक्रिया अघि बढाउँछ ।
हरेक देशको केन्द्रीय बैंकलाई पैसा छाप्ने अधिकार भए किन चाहिए जति छापेर गरिबी निवारण गरिँदैन भन्ने प्रश्न सर्वत्र गरिन्छ । साँच्चै किन कुनै पनि देशले चाहे जति पैसा छाप्दैन ? यहाँ यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं ।
शक्तिशाली देशहरुले जति पनि पैसा छाप्नसक्ने अवस्था रहन्छ, तर यसले व्यवहारमा असाध्यै समस्या ल्याउनसक्ने विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार कुनै पनि देशले चाहे जति पैसा छाप्न सक्ने भए पनि यसले आर्थिक अस्थिरता निम्त्याउने भएकाले सोचविचार गरेरमात्र केन्द्रीय बैंकहरुले पैसा छाप्ने गरिन्छ ।
पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल अमेरिकाले जति पनि पैसा छाप्नसक्ने अवस्था रहने बताउँछन् । उसको मुद्रालाई संसारभर नै मान्यता दिने भएकाले उसले चाहिए जति पैसा छाप्नसक्ने नेपाल बताउँछन् । यद्यपि आफ्नो पैसाको मूल्य बढाइराख्न उसले पनि मनलाग्दी पैसा भने छाप्दैन ।
अर्का पूर्वगभर्नर डा. तिलक रावल पैसा छाप्ने बेला कुनै पनि केन्द्रीय बैंकले आँखा चिम्लेर मनलाग्दी नछाप्ने गरेको बताउँछन् । उनले पछिल्लो समय आफूसँग भएको डलरको सञ्चितीको आधारमा पैसा छाप्ने क्रम बढ्दै गएको बताउँछन् ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक अर्थशास्त्री नरबहादुर थापा कुनै पनि देशले आफ्नो मुद्राको साख जोगाइराख्न मनलाग्दी पैसा नछाप्ने बताउँछन् ।
कसरी छापिन्छ पैसा ?
अर्थशास्त्री थापाका अनुसार पैसा छाप्ने तीनवटा विधि छन् । पहिलो- करेन्सी बोर्ड विधि हो । जति विदेशी मुद्रा (डलर) आयो त्यति बराबरको सम्बन्धित देशको मुद्रा छाप्ने विधि करेन्सी बोर्ड विधि हो । बुल्गेरिया, हङकङलगायतका देशले यो विधिबाट पैसा छाप्ने गरेका छन् । पछिल्लो समय यो विधि बढी प्रयोगमा छ ।
दोस्रो- गोल्ड स्ड्यान्डर्ड विधि हो । यो विधिमा सुन तथा बहुमूल्य धातु धितो राखेर पैसा छाप्ने गरिन्छ । यो पुरातन विधि हो । सन् १९७१ मा अमेरिकी राष्ट्रपति निक्सनले यो विधिको अन्त्य गरेका हुन् । त्यसअघि पैसा छाप्न सुन नै चाहिने अवस्था थियो । उनी राष्ट्रपति हुँदा डलर र सुनको सम्बन्धलाई विच्छेद गरेका थिए ।
तेस्रो- समानुपातिक विधि हो । यसमा सुन र विदेशी मुद्रा गरी ५० प्रतिशत र अर्को ५० प्रतिशत सरकारी बन्ड धितो राखी पैसा छापिन्छ । नेपालले अपनाउँदै आएको विधि समानुपातिक हो ।
विश्वका धेरैजसो मुलुकमा आफ्नै प्रिन्टिङ प्रेस छ । आफ्नै प्रेस भएका देशले उनीहरुको देशभित्रै मुद्रा छपाइ गर्छन् । नेपालको सन्दर्भमा भने आफ्नै प्रिन्टिङ प्रेस छैन । यसकारण पैसा छाप्न विदेशी प्रिन्टिङ प्रेस धाउनुपर्ने बाध्यता छ । यसैकारण नेपालको पैसा छपाइ, पासपोर्ट, अन्तःशुल्क स्टिकरलगायतको छपाइको गोपनीयताका विषयमा बेला बेला प्रश्न उठ्ने गरेको छ ।
कुनै पनि देशको पैसाको मूल्य कसरी हुन्छ निर्धारण ?
पैसाको मूल्य पनि माग र आपूर्तिमै निर्भर हुन्छ । माग बढी र आपूर्ति कम हुँदा पैसाको मूल्य बढ्छ । अमेरिकी डलरको माग संसारभर नै भएकाले यसको मूल्य बढी छ । कुनै पनि देशले कति वस्तु तथा सेवा किन्न सक्छ भन्ने आधारमा मुद्राको मूल्य तोक्न थालिएको हो । अर्थतन्त्रको अवस्था, वस्तु निर्यातको अवस्थाले पनि मुद्राको मूल्य निर्धारण हुन्छ । उच्चस्तरको आर्थिक वृद्धिले अर्थतन्त्रलाई स्थिर देखाउँछ । यसले गर्दा मूल्य बढ्न सघाउँछ । पैसाको भ्यालु बढाउन महँगी घटाउनुपर्छ । वस्तु तथा सेवाको मूल्य बढ्न दिएन भने मुद्राको भ्यालु बढ्दै जान्छ ।
वस्तुको मूल्य निर्धारण जस्तै पैसाको मूल्य निर्धारण हुन्छ । जस्तै अमेरिकी डलर भारतको बजारमा महँगो भयो भने भारतीय रिजर्भ बैंकले आफूसँग भएको डलर बजारमा पठाउँछ र मूल्य घटाउन प्रयास गर्छ । युरोप अमेरिकालगायतमा अर्थतन्त्र राम्रो छ । यसकारण उनीहरुको मुद्राको मूल्य उच्च छ ।
अर्कोतर्फ जनताको विश्वासले पनि काम गर्छ । मानौं, नेपालले नेपाली रुपैयाँभन्दा बढी भारतीय मुद्रा सञ्चितीमा जोड दिन्छ । यस्तै भारतीयभन्दा बढी डलरको सञ्चितीमा जोड दिन्छ । कारण डलर भए जहाँसुकै काम लाग्नु हो । यसले डलरप्रति विश्वास पनि देखियो ।
समृद्ध जापानको मुद्राको मूल्य किन कम ?
औद्योगिक र प्रविधि उत्पादनमा फड्को मारेको जापानको अर्थतन्त्र समृद्ध छ, तर पनि उसको पैसाको मूल्य कम छ । अटोमोबाइल्स, इलेक्ट्रोनिक्स र मेसिनरी उत्पादनको हब जापानले आफ्नो वस्तुको माग संसारभर नै सृजना गर्न उसले आफ्नो मुद्राको मूल्य कम गरेको जानकारहरु बताउँछन् ।
उसले जति निर्यात गर्छ, त्यति नै आयात पनि गर्छ । अन्तर्राष्ट्रिय व्यापारमा सन्तुलन कायम गर्न जापानले मुद्राको मूल्य कम गरेको छ । ९० को दशकमा जापानले जति चाहियो उति पैसा छापेर आफ्नो मुद्रा कमजोर बनाएको अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । यद्यपि पछिल्लो समय जापानी येन केही स्थिर जस्तो देखिएको छ ।
जति पनि पैसा छाप्न सक्ने देश अमेरिकामात्र हो : पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल
संसारमा जति पनि पैसा छाप्न सक्ने देश अमेरिकामात्र हो । उसको पैसालाई संसारभर मान्यता दिएर डलर भनेर राख्ने चलन छ । अमेरिका जति पनि पैसा छापेर बजारमा ल्याउनसक्ने क्षमता भएको देश हो । अहिलेको ग्लोबलाइजेसनमा जति पनि पैसा छाप्ने भन्ने हुन्न । पैसा बढी छापे बजारमा त्यसको मूल्य कम हुन्छ । बजारको भ्यालु हेरेर पैसा छाप्नुपर्छ । वस्तुको मूल्य निर्धारण जस्तै पैसाको मूल्य निर्धारण हुन्छ । अर्थतन्त्र राम्रो हुनेबित्तिकै मुद्राको मूल्य बढ्छ । जनताको विश्वासले पनि काम गर्छ । हामी नेपाली मुद्राभन्दा भारतीय मुद्रा रोज्छौं र भारतीय मुद्राभन्दा डलर रोज्छौं । किनभने डलरप्रति विश्वास छ ।
नेपालसँग प्रिन्टिङ प्रेस छैन । पैसा छाप्ने, महत्वपूर्ण पासपोर्ट छाप्ने काम बाहिर देशमा हुन्छ । यसकारण कति सुरक्षित रहन्छ भन्ने डर छ । भारतमा १ हजार र ५०० को नोट बन्दी गर्दा भारतले २ महिना अघिदेखि नै पैसा छापिरहेको थियो, त्यो कसैलाई थाहा थिएन ।
चाहे जति पैसा छाप्ने देश जिम्बावेमा पैसाको मूल्य निकै कमजोर भएको उदाहरण छ । त्यहाँ १० लाखमा एउटा पाउरोटी आउँछ । अर्थतन्त्र सानो र अविकसित छ भने त्यसले पैसाको मूल्यमा प्रभाव पर्छ ।
नेपालले विदेशी मुद्राको भरमा पैसा छापिरहेको छ : अर्थशास्त्री नरबहादुर थापा
पैसा छाप्ने विभिन्न विधि हुन्छन् । पहिलो विधि करेन्सी बोर्ड विधि हो । यो विधिमा जति विदेशी मुद्रा मुलुकमा आयो, त्यसको आधारमा पैसा छाप्ने भन्ने हुन्छ । बुल्गेरिया, हङकङले पनि करेन्सी बोर्डको अवधारणामा मुद्रा छाप्ने गरेका थिए । यो जति विदेशी मुद्रा आयो, त्यो बराबरको पैसा छाप्ने विधि हो ।
अर्को भनेको गोल्ड स्ट्यान्डर्ड हो । यसमा सुन धितो राखेर पैसा छाप्ने भन्ने हुन्छ । तेस्रो भनेको समानुपातिक रिजर्भ विधि हो । समानुपातिक विधिले विदेशी मुद्रा र सुन गरेर ५० प्रतिशत र बाँकी ५० प्रतिशत सरकारको बन्ड धितो लिएर मुद्रा छाप्ने भन्ने हुन्छ । नेपालले अपनाएको विधि समानुपातिक रिजर्भ सिस्टम हो ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले नोट छाप्दा पूरै विदेशी मुद्रा राखेर नोट निष्कासन गर्ने गरेको छ । यसमा नेपाल सरकारको ऋणपत्र राख्नैपरेन । १५-१६ वर्षयता विदेशी मुद्राको भरमा पैसा छापिरहेको छ । अमेरिकाले सुन धितोमा लिएर छाप्छ । सन् १९७१ मा निक्सन राष्ट्रपति हुँदा सुन र डलरको सम्बन्धलाई विच्छेद गरिदिए । त्यस अघिसम्म सुन धितो राखेर केन्द्रीय बैंकले डलर छाप्थ्यो ।
कसैले डलर लिएर आए सुन मागे दिन सक्तैनौं । अर्को नयाँ डलर दिन्छौं भन्ने रिचर्ड निक्सनको अभिव्यक्ति नोटको सुरक्षणको हिसाबले सन् १९७१ विशेष वर्ष हो । अहिले अमेरिकामा पनि समानुपातिक विधिबाट नोट छापिरहेको छ । उसको करेन्सी विश्वभर चल्छ । सुन केही अुनपातमा राखिएको छ ।
पहिले सुनसँग पैसा जोडिन्थ्यो, अब सुनसँग सम्बन्ध विच्छेद भइसक्यो । कति वस्तु तथा सेवा किन्नसक्छ भन्ने आधारमा मुद्राको मूल्य तोकिन थाल्यो । जुन मुलुकमा मुद्रास्फिती भइरहेको छ, त्यो मुलुकमा मुद्राको मूल्य घट्छ । वस्तु तथा सेवाको मूल्य बढ्दा लोकल करेन्सीको भ्यालुविपरीत सम्बन्ध हुन्छ । पैसाको मूल्य बढाउन महंँगी घटाउनुपर्छ । वस्तु तथा सेवाको मूल्य बढ्न दिएन भने नोटको भ्यालु बढ्दै जान्छ ।
जपानले ९० को दशमा पैसा धेरै छाप्यो । दोस्रो विश्व थियो । जापानी येनको भ्यालु विश्व बजारमा घट्यो । अरु मुद्रासँग पनि घट्यो । पछिल्लो समय उसको मूल्य स्थिर छ । उसले युद्धको बेला आफ्नो वस्तुको माग सृजना गर्न मुद्राको मूल्य घटाएको थियो, तर अहिले स्थिर छ । कुनै समयमा एउटा सेट हुन्छ ।
मनलागे जति पैसा छापे अर्थतन्त्रमा विचलन ल्याउँछ : पूर्वगभर्नर डा. तिलक रावल
कुनै पनि देशले आँखा चिम्लेर मुद्रा निष्कासन गर्न सक्तैन । जस्तै : नेपालले पनि आफ्नो विदेशी मुद्राको सञ्चितीलाई ध्यानमा राखेर नोट छाप्ने चलन छ । पहिले पहिले गोल्ड स्टयान्डर्ड हुन्थ्यो । त्यतिबेला सुन राखेर पैसा छापिन्थ्यो । विदेशी विनिमयको स्थिति हेरेर बहुमूल्य धातु हेरेर नोट निष्कासन गरिन्छ । जति मन लाग्यो, त्यति पैसा छाप्दा अर्थतन्त्रमा विचलन ल्याउँछ, मुद्रास्फिती बढाउँछ । अर्थतन्त्र कमजोर र निर्यात कमजोर भएपछि मुद्रा पनि कमजोर हुन्छ ।
जापानमा पनि धेरै कुरा आायत हुन्छ । पहिलेदेखि नै निर्यात गर्न पनि ठूलो मात्रामा आयात गरिरहेको छ । अन्तर्राष्ट्रिय व्यापारलाई सन्तुलनमा राख्न उसले आफ्नो मुद्रालाई बढ्न दिएको छैन ।
साभार : नेपालप्रेसबाट एलिजा उप्रेतीको लेख