३१ भदौ, मेचीनगर : पूर्वी काँकरभिट्टाकाहुदैँ हुने अलैचीको निर्यात घटेको छ भने छुर्पीको निर्यातमा उच्च वृद्धि भएको छ । अलैंची निर्यात तीन दशमलव ७७ प्रतिशतले घट्दा कुकुर वा विरालोको खाना छुर्पी २९ दशमलव ७९ प्रतिशतले निर्यात वृद्धि भएको सरकारी अभिलेख छ । यो नाका भएर निर्यात हुने मुख्यः दश मालवस्तु मध्ये अलैची एक र कुकुर वा विरालोको खाना छुर्पी पाँचौ नम्बरमा छ ।
नेपालबाट बाहिरिने कुल वस्तु निर्यात घटीरहेको बेला पूर्वी काँकरभिट्टानाकाबाट आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/ ०८१ मा छुर्पीको निर्यात भने उच्च वृद्धि भएको मेची भन्सार काँकरभिट्टाको अभिलेखले स्पष्ट पारेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को एकवर्षको अवधिमा काँकरभिट्टा नाका भएर एक अर्ब ४३ करोड ८२ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको ७ लाख ६३ हजार पाँचसय छ केजी छुर्पी निर्यात भएको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनुभयो ।
यसअघिको आर्थिक वर्षमा विदेश छुर्पी निर्यात वापत कार्यालयले एक अर्ब १० करोड ८१ लाख एक हजार रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा पाँच लाख ८७ हजार नौ सय २० किलो छुर्पी निर्यात भएको छ ।
हिमाली तथा पहाडी जिल्लामा पशुपालनबाट उत्पादित छुर्पीको विदेश निर्यात बढेसँगै विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको छ । काँकरभिट्टानाका भएर निर्यात हुने मुख्यः दशवस्तुमध्ये ‐कुकुर वा विरालोको खाना) छुर्पी पाचौँ स्थानमा रहेको अभिलेखमा स्पष्ट छ । पहिला पहिला कोसेलीको रुपमा मानिसले चपाउने छुर्पी अहिले विदेशी बजारमा कुकुरको आहारा बनेको छ । पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनी बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ ।
नेपाली छुर्पीको मुख्यः आयतकर्ता अमेरिका र क्यानडा रहेका छन् । अन्य देशको तुलनामा यी देशमा सवैभन्दा बढी छुर्पी निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । सबैभन्दा कम छुर्पी इजरायल पुग्ने गरेको छ । त्यहाँ रहेका नेपालीले कोसेलीको रूपमा लैजाने गरेको अनुमान छ ।
‘पूर्वी नाकाबाट निर्यात हुने छुर्पीबाट नेपालले अर्बौं रुपैयाँ आम्दानी गरेको छ ’ सूचना अधिकारी भन्सार अधिकृत कडेलले भन्नुभयो —‘हङकङ, इजरायल, जापान, कोरिया, मलेसिया, सिंगापुर, ताइवान, थाइल्यान्ड, युएई, भारत, क्यानडा, अमेरिका, जर्मन, बेलायत र रसियालगायतका देशमा कुकुरलाई खुवाउन थालिएपछि नेपालमा उत्पादित छुुर्पीको माग बढेसँगै निर्यात पनि बढेको हो जस्ले गर्दा विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको छ ।’
कुकुरको खानाका लागि नेपालबाट छुर्पी नै धेरै निर्यात हुने गरेको छ । छुर्पी उत्पादकका अनुसार कुकुर र मान्छेले खानेमा केही फरक छ । कुकुरले खानेमा घिउको मात्रा हुनु हुँदैन भने मान्छेले खानेमा केही भए पनि हुन्छ । तर छुर्पी बनाउने किसानले घिउको मात्रा भने पूरै निकालेर बनाउने गरेको बताईएको छ । चौंरी वा गाई दुहेपछि त्यसलाई चिसो पानी वा चिस्यान गर्ने ठाउँमा राखिन्छ । जमेपछि त्यसको घिउको मात्रा निकालेर त्यसपछि दूधलाई फटाएर छुर्पी बनाइन्छ । यसलाई अँगेनाको भारमा आगोको रापले सेकाउने गरिएको इलामका छुर्पी व्यवसायी डोमा तामाङको भनाई छ । छुर्पीको मूल्य भने ठाउँ अनुसार फरक रहेको छ ।
तर,आर्थिक वर्ष २०७९/०८० को अवधिको तुलनामा गत आर्थिक वर्षमा काँकरभिट्टानाकाबाट अलैचीको निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को एकवर्षे अवधिमा यो नाका भएर आठ अर्ब २४ करोड १३ लाख रुपैयाँ बराबरको ९९ लाख ३१ हजार दुई सय ६४ मेट्रिक टन अलैँची निर्यात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा सात अर्ब ९३ करोड नौलाख आठ हजार रुपैयाँ मुल्य बराबरको ५० लाख नौ हजार ९० मेट्रिक टन अलैँची निर्यात भएको छ ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा तीन दशमलव ७७ प्रतिशतले निर्यात व्यापार कम हो । परिमाणको तुलनामा अलैची निर्यात बढि भए पनि मूल्यमा भने कम भएको छ । पूर्वीनाकाहुदैँ निर्यात भएका मुख्यः दश वस्तुहरुमा अलैची पहिलो नम्बरमा पर्दछ । ।
पछिल्लो समय मुलुकबाट अलैंची निर्यात कम हुँदैं गएको भन्सार अधिकारीहरुको भनाई छ । नेपाली अलैंचीको मुख्य बजार भारत रहेपनि पछिल्लो समय अन्य मुलुकमा समेत निर्यात हुने क्रम बढेको । नेपाली अलैंची भारत, पाकिस्तान, जर्मनी, इटाली, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छ । तर, नेपाली अलैँचीको सबैभन्दा ठुलो बजार भनेको छिमेकी मुलुक भारत हो । मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिने अलैची भारतमै ९९ प्रतिशत नेपाली पुग्ने गरेको बताईएको छ । अधिकांश अलैंची भारततर्फ निकासी हुने गरेकाले भारतमा उत्पादित अलैंचीले नेपाली बजारमा प्रभाव पार्ने गरेको छ । पूर्वी पहाडी जिल्लाका किसानको प्रमुख नगदेबाली अलैँची मुख्य आम्दानीको स्रोतमा मानिएको छ ।
नेपालको पहाडी जिल्लाहरुमा अलैँचीको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् भने नेपाल, भारत र भुटान विश्वका अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । विशेषगरि अलैँची भदौ÷असोजमा टिप्ने गरिन्छ । भारत र भुटानको अलैची उत्पादन घटेका कारण नेपालको अलैँची निर्यात बढेको आशंका गरिएको छ ।
नेपाल उत्पादित कृषिजन्य वस्तुको निकासीमा अलैँचीको हिस्सा सबैभन्दा ठुलो छ । पछिल्लो समय यसको उत्पादन वृद्धि भएसंगै निर्यातमा पनि बढोत्तरी देखिएको सरकारी अधिकारी र व्यवसायीहरु बताउँछन् । पूर्वी काँकरभिटटानाका भएर निर्यात हुने मुख्यः दश मालवस्तुमध्ये अलैची पहिलो स्थानमा छ ।
भारत र भुटानमा अलैचीको उत्पदान घटे पछि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग उच्च रहेको व्यवसायीको भनाई छ । अलैची विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकिएको भन्सार अधिकारीहरको भनाई छ । हालसम्म नेपालका ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको र उत्पादनको दुई प्रतिशतमात्रै आन्तरिक खपत हुने गरेको अनुमान छ । नेपालमा १८ हजार हेक्टर जमिनमा अलैंची खेती हुँदै आएको भएपनि ३५ देखि ४० हजार हेक्टरमा गर्न सकिने बताईएको छ ।