४ मंसिर, मेचीनगर : पूर्वी काँकरभिट्टानाका बाट भारत तथा अन्य मुलुकसँग हुने व्यपार क्रमस ओरालो लाग्दैं जान थालेको छ । जस्को प्रत्यक्ष असर पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा परेको छ ।
भन्सार अधिकारीहरुका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमाहिनाको कुल राजस्व लक्ष्यको तुलनामा ८६ दशमलव २८ प्रतिशतमात्र राजस्व संकलन भएको छ । यो अवधिमा कुनै महिनामा पनि कार्यालयले लक्ष्यको तुलनामा राजस्व संकलन गर्न सकेको छैन् ।
भारत, बंगलादेश भुटानसँग यो नाका भएर हुने व्यपार केहीवर्षदेखि ओरालो लागेको छ । कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकमहिनासम्मको राजस्व संकलनको लक्ष्य ५ अर्ब ४७ करोड १५ लाख २६ हजार रुपैयाँ थियो । तर, कार्यालयले यो अवधिमा ४ अर्ब ७२ करोड ७ लाख २३ हजार रुपैयाँ वा ८६ दशमलव २८ प्रतिशतमात्र राजस्व संकलन गरेको सूचना अधिकारी कडेलको भनाई छ ।
भन्सार सुनसान र नाका सुस्ताउँदा यसको प्रत्यक्ष असर कार्यालयको राजस्व संलनमा परेको भन्सार अधिकारीहरुको प्रतिक्रिया छ । कुनै बेला भन्सार विभागको राजस्व असुलीमा महत्वपूर्ण योगदान पुर्याउने कोशी प्रदेशकै मुख्यः भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टा पछिल्लो समय राजस्व असुलीमा पछि परेको सरकारी अभिलेखले प्रष्ट पारेको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयको राजस्व असुली ७८ दशमल ६३ प्रतिशत थियो । गत आर्थिक वर्षमा मात्र होइन विगतका आर्थिक वर्षदेखि लगातार मेची भन्सार कार्यालयले वार्षिक लक्ष्य हासिल गर्न नसकेको कार्यालयको अभिलेखले देखाएको छ । लक्ष्य पुरा गर्न अनेक उपायहरु प्रयास अवलम्बन गरे पनि लक्ष्य पूरा गर्न नसकिएको भन्सार अधिकारीहरुको भनाई छ । आर्थिक वर्ष २०७९/०८० मा ७७ दशमलव ५ प्रतिशत राजस्व संकलन भएको कार्यालयको अभिलेखले देखाएको छ । कुनै बेला झण्डै चौबीसै घण्टा भीडभाड र खचाखच रहने पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाको परिसर अहिले सुनसान झै बनेको व्यवसायीहरुको भनाई छ ।
जस्का कारण कार्यालयको राजस्व असुली हरेक वर्ष ओरालो लाग्दैं गएको भन्सार एजेण्ट संघ मेची भन्सारका अध्यक्ष मोहन निरौलाको भनाई छ । भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल हुँदा देशकै अर्थतन्त्रमा समेत असर पुग्ने अर्थविदहरुको भनाई छ ।
वैदेशिक व्यापार हुने कोशी प्रदेशकै ठूलो मानिएको मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य भेट्टयाउन असफल हुँदा यसको असर माथि सम्मनै पुग्ने संघका सचिव ‐कृष्णकान्त ) नवराज खनियाँको भनाई छ ।
पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको यो नाका भएर भारत, भुटान बंगालदेशसँग व्यपार हुने गरेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकरभिट्टाबाट हुने सरकारी अधिकारहरुको भनाई छ ।
विराटनगर भन्सार कार्यालयले ०८०/८१ मा ५९ दशमलव ७३ प्रतिशत मात्र राजस्व असुली गरेको थियो । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को शुरुमहिनादेखि नै लगातार लक्ष्यभन्दा कम राजस्व संकलन गदैं आएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को श्रावणमा ९० दशमलव ९८ प्रतिशत , भदौमा ८८ दशमलव २५ प्रतिशत, असोजमा ८५ दशमलव १५ प्रतिशत र कात्तिकमा ८१ दशमलव ०५ प्रतिशतमात्र राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको साउनमा ९६ दशमलव ४८ प्रतिशत, भदौंमा ७८ दशमलव ७५ प्रतिशत,भदौंमा ७५ दशमलव ९२ प्रतिशत र कात्तिकमा ६७ दशमलव ९० प्रतिशतमात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा क्रमस ९३ दशमलव शुन्य २ प्रतिशत, ७९ दशमलव ६४ प्रतिशत, ६८ दशमलव ९७ प्रतिशत र ७१ प्रतिशतमात्र राजस्व संकलन भएको जनाएको छ ।
कन्टेनरसहित अन्य मालवहाक सवारी साधनको संख्या समेत अहिले निक्कै पातलो भएका कारण कार्यालयका कर्मचारी समेत निक्कै फुसूर्दिला देखिन्छन् । भन्सारभित्र लोड अनलोडमा काम गर्ने ढुवानी मजदुरहरु काम नपाएर रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । मुल्यका आधारमा आयात भएका मुख्यः १० बस्तुहरु र राजस्व संकलनको आधारमा आयात भएका मुख्यः १० बस्तुहरुको आयात समेत क्रमस कम हुदैं गएको छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयात न्यून हुनु , सुपारी आयातमा कोटा प्रणाली लागू हुनु र आसामाबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको भन्सार अधिकारीहरुको बुझाई छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, सुपारी पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको थियो । खुला सिमानाका कारण हुने अवैध आयात निर्यातले पनि राजस्व संकलनमा असर पुग्ने गरेको बुझाई छ ।
नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पनि पूर्वीनाकाबाट व्यापार घटेको व्यवसायीहरुको भनाई छ । विशखा पटनम बन्दरगाहमा ठुल्ठुला जहाजहरु आउँछन् व्यवसायीलाई निक्कै सहज हुन्छ, त्यसले पनि यो नाकाबाट हुने व्यापार क्रमस घट्दै गएको, २०७२ सालको महाभूकम्पबाट तातोपानी र रसुवा नाका अवरोध भएपछि कलकोत्ता हुदैं चाईनिज सामान आयात हुन्थे अहिले ती नाका पनि सञ्चालनमा आएका कारण यस नाकाबाट हुने राजस्व असुली कम भएको अनुमान गरिएको छ । यसनाका हुदैं सुपारीको आयात निक्कै हुन्थयो, खुला थियो जस्ले राजस्व असुलीमा निक्कै टेवा पुगेको थियो । पछिबाट सरकारले सुपारी आयातमा कोटा प्रणाली लागू गर्यो र उद्योगीलेमात्र आयात गर्न पाउने व्यवस्था गर्यो, सुपारी खपत गर्ने उद्योग जिल्लामा नभएकै कारण सुपारी पनि आयात हुन छाड्यो र राजस्व असुलीमा समस्या भयो ।
काँकरभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।