५ चैत, मेचीनगर – कोशी प्रदेशकै दोस्रो ठूलो भन्सारका रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ८ महिनामा १० अर्ब १७ करोड ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार ८ महिनाको अवधिमा वार्षिक लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत राजस्व असुली भएको हो ।
गत साउनदेखि फागुनसम्मको यो भन्सार राजस्व असुली गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव २४ प्रतिशतले धेरै हो । सो अवधिमा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको भए पनि विविध कारण लक्ष्यको तुलनामा असुली गर्न नसकेको कार्यालयले जनाएको छ । लक्ष्यको तुलनामा ८ दशमलव ३६ प्रतिशत कम राजस्व संकलन भएको छ । कार्यालयको अभिलेख अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा साउन महिनाबाहेक अन्य कुनै महिना पनि राजस्व असुलीले लक्ष्य भेट्टयाउन सकेको छैन् । साउन महिनामा १ सय ६ दशमलव शुन्य ६ प्रतिशत राजस्व संकलन भएको भन्सारका सूचना अधिकारी किशोर हुमागाईँले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा ७८ दशमलव ४० प्रतिशत, आर्थिक वर्ष २०७९÷०८० मा ७० दशमलव १५ प्रतिशत, आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ११ दशमलव २४ प्रतिशत, आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ८ दशमलव शुन्य ३ प्रतिशत र आर्थिक वर्ष २०७६÷०७७ मा ६३ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको कार्यालयको पञ्चवर्षिय अभिलेखले देखाएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ र आर्थिक वर्ष २०७७÷०७८ वाहेक बाकी आर्थिक वर्षहरुमा कार्यालयले लक्ष्यको तुलनामा राजस्व असुली गर्न असफल भएको छ । चालु आर्थिक वर्षको फागुनमहिनामात्र कार्यालयले ८८ दशमलव ७२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार त्यो महिना १ अर्ब ४८ करोड ९४ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको भएपनि १ अर्ब ३२ करोड१३ लाख ७४ हजार रुपैयाँमात्र राजस्व संकलन गरेको छ ।
राजस्व संकलनका दृष्टिले कोशी प्रदेशमा मेची भन्सार भन्सार कार्यालय विराटनगरपछिको दोस्रो ठूलो भन्सार मानिन्छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकरभिट्टाबाट हुने सरकारी अधिकारीहरुको भनाई छ । भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल हुँदा देशकै अर्थतन्त्रमा समेत असर पुग्ने अर्थविदहरुको भनाई छ ।
पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको यो नाका भएर भारत, भुटान बंगालदेशसँग व्यपार हुने गरेको छ । वैदेशिक व्यापार हुने कोशी प्रदेशकै ठूलो मानिएको मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य भेट्टयाउन असफल हुँदा यसको असर माथि सम्मनै पुग्ने मेची भन्सार एजेण्ट संघका सचिव ‐कृष्णकान्त ) नवराज खनियाँको भनाई छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयात न्यून हुनु , सुपारी आयातमा कोटा प्रणाली लागू हुनु र आसामाबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको भन्सार अधिकारीहरुको बुझाई छ ।
कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, सुपारी पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको थियो ।
नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पनि पूर्वीनाकाबाट व्यापार घटेको व्यवसायीहरुको भनाई छ । विशखा पटनम बन्दरगाहमा ठुल्ठुला जहाजहरु आउँछन् व्यवसायीलाई निक्कै सहज हुन्छ, त्यसले पनि यो नाकाबाट हुने व्यापार क्रमस घट्दै गएको, २०७२ सालको महाभूकम्पबाट तातोपानी र रसुवा नाका अवरोध भएपछि कलकोत्ता हुदैं चाईनिज सामान आयात हुन्थे अहिले ती नाका पनि सञ्चालनमा आएका कारण यस नाकाबाट हुने राजस्व असुली कम भएको अनुमान गरिएको छ ।
काँकरभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।