१५ चैत, मेचीनगर : पूर्वी नाकाबाट हुने व्यापार सुस्ताएको प्रत्यक्ष असर सीमानाकामा रहेका दुईवटा भन्सार विन्दुले खेप्नु परेको छ । हरेक महिना व्यापार खस्किदैं जादा मेची भन्सार कार्यालय काँकरभिट्टा र भद्रपुर भन्सार कार्यालयको राजस्व असुली हरेक महिना ओरालो लाग्दैं गएको छ ।
भद्रपुर भन्सार कार्यालय झापाले चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा १३ करोड ३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व संकलन गरेको कार्यालय प्रमुख भन्सार अधिकृत अर्जुन सिटौलाले जानकारी दिए ।
फागुन महिनामामात्र कार्यालयले २ करोड ४७ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । त्यो महिना २ करोड ८३ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोे भएपनि लक्ष्यको तुलनामा असुली ८७ दशमलव १ प्रतिशत मात्र हो ।
आर्थिक वर्षको शुरु साउन महिनामा ४९ प्रतिशत, भदौमा ६२ दशमलव ४ प्रतिशत, असोजमा ६८ दशमलव ५ प्रतिशत, कात्तिकमा ४८ दशमलव १ प्रतिशत, मंसिरमा ५९ दशमलव १७ प्रतिशत, पुसमा ५९ दशमलव १५ प्रतिशत माघमा ५० दशमलव शुन्य ४ प्रतिशतमात्र राजस्व असुली भएको मासिक लक्ष्य तथा प्रगति विवरणमा उल्लेख छ । तर, भन्सार अधिकृत अर्जुन सिटौलाले कार्यभार सम्हाले लगत्तै सवैभन्दा बढी फागुन महिनामा राजस्व असुली भएको अभिलेखमा उल्लेख छ । यसक्षेत्रका उद्योगी, व्यवसायीले यसलाई सकरात्मक लिएको बताएका छन् ।
चालु आर्थिक वर्ष २०८१÷८२ शुरुभएयतादेखि कुनै पनि महिना कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन् । भद्रपुरले मात्र होइन पूर्वी सीमानाकामा रहेको भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाकाले समेत यो अवधिमा सन्तोषजनक राजस्व असुल गर्न नसकेको जनाएको छ । कोशी प्रदेशकै दोस्रो ठूलो भन्सारका रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ८ महिनामा १० अर्ब १७ करोड ७२ हजार रुपैयामात्रँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार ८ महिनाको अवधिमा वार्षिक लक्ष्यको ९१ दशमलव ६४ प्रतिशतमात्र राजस्व असुली भएको हो ।
भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको विराटनगरपछिको पूर्वकै ठूलो भन्सार विन्दु मेची भन्सार र भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्जनाकासँग सीमा जोडिएको भद्रपुर भन्सार कार्यालय भएर हुने आर्थिक कारोवारमा कमि आएका कारण लक्ष्यको तुलनामा राजस्व असुली गर्न नसकिएको सरकारी अधिकारीहरुको भनाई छ । व्यापार घटेलगत्तै यसको असर यी दुई भन्सार कार्यालयको राजस्व संकलनमा परेको बताइएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टा पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । यो नाका भएर भारत, भुटान बंगालदेशसँग व्यापार हुने गरेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकरभिट्टाबाट हुने सरकारी अधिकारहरुको भनाई छ । भद्रपुर– गलगलिया सीमा नाका जोड्ने मेची नदीमा पक्की पुल सञ्चालनमा आए लगत्तै सरकारले २०७५ भदौ १ गते छोटीबाट स्तरोन्नति गर्दै भद्रपुर भन्सार कार्यालयलाई मूल भन्सार बनाएको थियो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको वार्षिक लक्ष्य पुरा गर्न यसले तात्कालिन भद्रपुर छोटी भन्सारले निक्कै टेवा पुर्याएको थियो । यो मुल भन्सारमा स्थापना भएपछि मेची भन्सार कार्यालय काँकरभिट्टालाई वार्षिक लक्ष्य पुर्याउन गाहे परेको छ । भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्जनाका भएर भद्रपुर हुर्दै प्रमुख रुपमा सुर्ती खैनी अत्याधिकरुपमा आयात हुने गरेको छ । यसपछि कपडा, जुत्ता चप्पल आयात वापतको राजस्व असुलीले पनि कार्यालयमा उल्लेखिय रुपमा राजस्व संकलन हुने गरेको छ । यी सँगै चिया उद्योगको प्याकिङ्गका सामाग्री तथा मेशिनरी पार्टस्, ल्याइउड, उद्योगको पाटपूर्जाको केमिकल, तथा फलफूल र खेतीपातीमा प्रयोगहुने विषादी अत्याधिकरुपमा आयात हुने गरेको छ ।
पछिल्लो समय यो नाका भएर हुने व्यापार निक्कै सुस्ताएको छ भने थुप्रै व्यवसायीहरु पलायन भएका कारण पनि यो अवस्था आएको भन्सार अधिकृत सिटौलाले बताए । सीमापारी छोटी भन्सारमात्र हुनु, मुल भन्सारमा स्तोरन्नती भए पनि पूर्वाधारको समस्या ज्यूँ का त्यूँ हुनुु, पर्याप्य जनशक्ति नहुनु , मेचीपारी पनि नेपाली गाउँ हुनुलगायत थुप्रै समस्या छन् भद्रपुर भन्सार कार्यालयका, त्यसका बावजुद पनि कार्यालय फागुनमा ८७ दशमलव १ प्रतिशत राजस्व असुली गर्नु निक्कै राम्रो सन्देश भएको व्यवसायी रञ्जन अग्रवालको प्रतिक्रिया छ ।
भद्रपुर भन्सार कार्यालय विहारको गलगलिया छोटी भन्सारसँग सीमा जोडिएको छ । गलगलिया छोटी भन्सारले ५ लाख भन्दा बढीका सामान निर्यात गर्न नपाउने त्यहाँको कानूनी व्यवस्थाको असर नेपालको भद्रपुर भन्सार कार्यालयले भोग्नुपरेकोे छ । भद्रपुरतर्फ व्यवस्थित संरचना भएपनि विहारतर्फ नभएका कारण व्यवसायीले समस्या झेल्नुपरेको छ ‘तर, थुप्रै चूनौतीहरु हुँदाहुँदै पनि कार्यालयले अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणमा निगरानी बढाएको छ । जति स्रोत साधनहरु छन् त्यसको प्रयोग गदैं कर्मचारीहरु कामप्रति वफदार छन् । परिणाम शतप्रतिशत राजस्व संकलन गर्न सफल नभए पनि राजस्व संकलन बृद्धिका व्यवसायीको साथ सहयोग, कर्मचारीको लगनशिलतालाई सक्रिय बनाएको कार्यालय प्रमुख सिटौलाको भनाई छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयात न्यून हुनु , सुपारी आयातमा कोटा प्रणाली लागू हुनु र आसामाबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको भन्सार अधिकारीहरुको बुझाई छ । नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पनि पूर्वीनाकाबाट व्यापार घटेको व्यवसायीहरुको भनाई छ ।
विशखा पटनम बन्दरगाहमा ठुल्ठुला जहाजहरु आउँछन् व्यवसायीलाई निक्कै सहज हुन्छ, त्यसले पनि यो नाकाबाट हुने व्यापार क्रमस घट्दै गएको, २०७२ सालको महाभूकम्पबाट तातोपानी र रसुवा नाका अवरोध भएपछि कलकोत्ता हुदैं चाईनिज सामान आयात हुन्थे अहिले ती नाका पनि सञ्चालनमा आएका कारण यस नाकाबाट हुने राजस्व असुली कम भएको अनुमान गरिएको छ ।