१५ जेठ, काठमाडौं : सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमार्फत सरकारी कर्मचारीको तलब भने नबढाउने निर्णय लिएको छ। यद्यपि महँगीको असरलाई ख्याल गर्दै सरकारले महँगी भत्तामा ५ हजार रुपैयाँको वृद्धि गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै स्रोतको अभावका कारण तलब वृद्धि सम्भव नभएको स्पष्ट पार्नुभयो। विगत तीन वर्षयता कर्मचारीको तलब नबढेको हुँदा यसपटक तलब वृद्धिको अपेक्षा उच्च थियो। तर सरकारले उक्त अपेक्षा पूरा नगरेको भन्दै कर्मचारीहरूमा केही निराशा पनि देखिएको छ।
“तलब वृद्धि गर्न सक्ने अवस्था नभएकाले महँगी भत्तामा पाँच हजार रुपैयाँ थपिएको छ,” अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्दै भन्नुभयो।
सरकारी कर्मचारीका साथै निजामती, सुरक्षाकर्मी, शिक्षक र स्थानीय तहका कर्मचारीलाई समेत उक्त भत्ता लागू हुने जनाइएको छ।
यस निर्णयसँगै सरकारको कर्मचारी खर्च केही परिमार्जन भए पनि प्रत्यक्ष तलब वृद्धिबिना कर्मचारी वर्गको आर्थिक चुनौती यथावत् रहने देखिन्छ।




































