१९ जेठ, मेचीनगर : मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पु¥याउछ । त्यसकारण पनि पछिल्लो समय मकैको माग बढ्दो छ । तर, कृषिप्रधान मुलुक नेपाल मकैमा समेत आयातमै भर पर्नु परेको छ । स्थानीयस्तरमा उत्पादन गर्ने पर्याप्त सम्भावना भए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा आयातमै भर पर्नु परेको हो ।
कृषि विज्ञहरुका अनुसार स्वदेशी उत्पादनले आन्तरिक माग करिब ३ महिनामात्रै धान्ने गरेको छ । बाँकी नौ महिनाका लागि आयातित मकैमा नेपाली निर्भर हुनु परेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाका अनुसार नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिना साउन–वैशाखसम्म ६ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको १ हजार ६ सय २० मेट्रिक टन मकै आयात भएको छ ।
गत वर्ष सो अवधिमा यो नाका भएर ४ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको १ हजार ४ सय ४३ मेट्रिक टन मकै आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाका निमित्त कार्यालय प्रमुख चन्द्रेश्वर ठाकुरले जानकारी दिए । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा ठुलो परिमाणमा मकै आयात भएको प्राविधिक सहायक समेत रहेका ठाकुरले बताए ।
भन्सार विभागको तथ्याङ्क अनुसार मुलुकमा चालु आर्थिक वर्ष २०८१ – ८२ को १० महिना साउन–वैशाखसम्म १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ बराबरको दुई लाख ९९ हजार ९ सय ८९ मेट्रिक टन मकै आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ५६ करोड ५ लाख १५ हजार रुपयाँ बराबरको दुई लाख ७८ हजार ४ सय ७५ मेट्रिक टन मकै आयात भएको थियो । आन्तरिक उत्पादनले मकैको माग पूर्ति गर्न प्रतिहेक्टर ४ दशमलव ५ देखि ५ टनसम्म उत्पादन बढाउनुपर्ने कृषि विज्ञको सुझाँव छ ।

छिमेकी मुलुक भारत, चीन, अर्जेन्टिना, थाइल्यान्ड, ब्राजिल, दक्षिण अफ्रिका र ट्रर्कीबाट मकै आयात हुने गर्छ । पछिल्लो समय मकै पोल्टीफार्ममा कुखुराका लागि दानाको प्रयोग हुनुका साथै च्याख्लाको समेत खपत धेरै हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले मकैको उन्नत जात अनुसन्धान गरी सिफारिस गर्दै आएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पछिल्लो समय मकैको १० हाइब्रिड जात विकास गरेको छ, जसको उत्पादन क्षमता प्रतिहेक्टर एक सय क्विन्टलसम्म छ । तर हाल किसानको पहुँचमा पुगेको मकैको हाइब्रिड जातले करिब ३० देखि ३२ क्विन्टल प्रतिहेक्टर (डेढ बिघा) उत्पादन हुने बताइएको छ । खासगरी मकै बाली खाद्यान्न र पशुपालन क्षेत्रमा खपत हुँदै आएको झापा मेचीनगर—४ बाहुनडाँगीका कृषक रामप्रसाद सापकोटाको भोगाई छ । पहाडी क्षेत्रमा उत्पादन भएको अधिकांश मकै खाद्यान्नका लागि र तराईमा उत्पादन हुने मकै ‘साइलेज’ घाँस, दाना र खानामा प्रयोग हुँदै आएको छ ।

चैत २०—२५ गतेबाट उत्पादन हुने मकै जेठको अन्त्यसम्ममा सकिने बताइएको छ । झापाको मेचीनगर नगरपालिका—६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि अर्काे व्यवसाय एनएमसी कृषि फर्मले यो अवधिमा १६ देखि १७ लाख केजी मकै ‘साइलेज’ घाँस, दाना र खानामा प्रयोग गर्नका लागि खरिद गदैं आएको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।
उनका अनुसार कृषि फर्मले २ देखि ३ लाख रुपैयाँ मुल्यसम्मका बेल भनाएर अन्यत्र विक्री गर्ने गरेको छ । बाकी मकै आफ्नै फर्ममा खपत हुने गरेको छ । उनका अनुसार झापाका अन्य कृषि फर्महरुमा समेत गरी जिल्लामा करीब १ करोड केजी मकैको खरीद बिक्री हुने गरेको छ । झापाली कृषकहरुबाटै संस्थाले मकै खरिद गर्ने गरेको भए पनि स्थानीय किसानको उत्पादनले माग धान्न नसक्दा बाँध्य भएर आयात समेत गर्नुपरेको उप्रेतीको भनाई छ ।
शुरुमा यसको मूलइ महंगो भए पनि पछिल्लो समय प्रति केजी ४ देखि साढे ४ रुपैयाँमा खरिद विक्री हुने गरेको छ । भारतमा अझ सस्तोमा पाइन्छ । ‘जतिबेला हामीले यसको चलन शुरु गर्यौ महंगो थियो’ उप्रेतीले भने —‘क्रमस यसको चलन सवैतिर बढ्दै जान थालेपछि मूल्य सस्तो हुन थालेको छ । शुरुमा ६ रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो । ’
हरेक पशु वस्तुका लागि आवश्यक विभिन्न दानाको कच्चा पदार्थको रुपमा मुख्यः मकै नै हुने गरेको उनको भनाई छ । पशुपन्छीको दानाका लागि करिब एक क्विन्टल दाना तयार पार्न ५० देखि ५५ किलो मकै आवश्यक पर्छ । पछिल्लो समय मकैका विभिन्न परिकार खानेको संख्या पनि बढ्दो रहेके वरिष्ठ फिजिशियन डाक्टर पिताम्बर ठाकुरको भनाई छ ।
मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका रहेको पोषण विज्ञहरुको भनाई छ । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि निकै फाइदा पुग्ने, मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइने, यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्ने, यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्ने, क्यान्सरबाट जोगाउँने, आँखाको लागि फाइदाजनक, छालालाई चम्किलो बनाउँछ अल्छी हटाउँने यसका फाइदा रहेको चिकित्सकहरुको भनाई छ ।

मकैका यति बढी फाइदा भए पनि मकै उत्पादनमा चुनौती निक्कै रहेको कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीको भनाई छ । नेपालमा मकै बाली उत्पादनमा बिउ, मल, सिँचाइ लगायतका चुनौती पाइएका छन् । नार्कले उत्पादन गरेको बिउ किसानसम्म पुग्न सकेको छैन । हाल किसानसम्म पुगेको जात पनि व्यवस्थित रूपले खेती हुन सकेको छैन ।
मकैको राम्रो उत्पादन लिनका लागि उन्नत जात, अनुकूल वातावरण र मलजल उपलब्ध हुनु पर्छ । पछिल्लो समय बद्लिँदो वातावरणका कारणले रोग र किराको प्रकोप पनि बढ्दो छ । त्यसैले बिउको क्षमता अनुसार उत्पादकत्व हुन सकेको छैन । यस्तै किसानले मल, सिँचाइ, प्राविधिकको सल्लाह पाउन सकेका छैनन् ।




































