६ असार मेचीनगर : मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०८१-०८२ को एघार महिनाको अवधिमा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन रकम लक्ष्यको तुलनमा ९१ दशमलव ५६ प्रतिशत मात्र हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म कार्यालयले १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गतवर्षको सोहि अवधिको तुलनामा भने चालु आवमा राजस्व संकलन १४ प्रतिशतले बृद्धि हो । आर्थिक वर्ष २०८०-०८१ को एघार महिनामा कार्यालयले ७७ दशमलव ५६ प्रतिशत र आर्थिक वर्ष २०७९-०८० को यहि अवधिमा ६९ दशमलव ९४ प्रतिशत राजस्व गरेको कार्यालयले जनाएको छ ।

हुन्तः कार्यालयको अघिल्लो तीन वर्षको अभिलेख हेर्दा कुनै पनि वर्ष बार्षिक लक्ष्यमा कार्यालय पुगेको छैन् । गत आर्थिक वर्ष २०७९- ०८० मा २० अर्ब २४ करोड १८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिइएको भएपनि १४ अर्ब ५ करोड २० लाख ९० हजार रुपैयाँ वा लक्ष्यको तुलनामा ७० दशमलव २१ प्रतिशतमात्र राजस्व असुली भएको थियो । यसैगरी आर्थिक वर्ष २०८०- ०८१ मा पनि कार्यालयले लक्ष्य भेट्न सकेन । त्यो वर्ष १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ वा ७८ दशमलव ४० प्रतिशत राजस्व संकलन भएको थियो । त्यो वर्ष कार्यालयलाई भन्सार विभागले १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ वार्षिक लक्ष्य तोकेको थियो ।
हरेक वर्ष पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुली ओरालो लाग्ने मुख्यः कारण अबैध व्यपार नै भएको भन्सार अधिकारीको भनाई छ । भारतको पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको यो नाका भएर भारत, भुटान बंगालदेशसँग व्यपार हुने गरेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकरभिट्टाबाट हुने सरकारी अधिकारीहरुको भनाई छ । तर, खुल्ला सिमानाका कारण अबैध व्यपारका कारण राजस्व संकलनमा असर पुगेको भनाई छ ।
भारत, बंगलादेश भुटानसँग यो नाका भएर हुने व्यपार केहीवर्षदेखि ओरालो लागेको छ ।
भन्सार सुनसान र नाका सुस्ताउँदा यसको प्रत्यक्ष असर कार्यालयको राजस्व संलनमा परेको भन्सार अधिकारीहरुको प्रतिक्रिया छ । कुनै बेला भन्सार विभागको राजस्व असुलीमा महत्वपूर्ण योगदान पुर्याउने कोशी प्रदेशकै मुख्यः भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टा पछिल्लो समय राजस्व असुलीमा पछि परेको सरकारी अभिलेखले प्रष्ट पारेको छ ।

‘नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पनि पूर्वीनाकाबाट व्यापार घटेको व्यवसायीहरुको भनाई छ । विशखा पटनम बन्दरगाहमा ठुल्ठुला जहाजहरु आउँछन् व्यवसायीलाई निक्कै सहज हुन्छ, त्यसले पनि यो नाकाबाट हुने व्यापार क्रमस घट्दै गएको, २०७२ सालको महाभूकम्पबाट तातोपानी र रसुवा नाका अवरोध भएपछि कलकोत्ता हुदैं चाईनिज सामान आयात हुन्थे अहिले ती नाका पनि सञ्चालनमा आएका कारण यस नाकाबाट हुने राजस्व असुली कम भएको अनुमान गर्न सकिन्छ ’अंकिता ट्रेडर्सका सञ्चालक समेत रहेको खनियाँले भने ।
कन्टेनरसहित अन्य मालवहाक सवारी साधनको संख्या समेत अहिले निक्कै पातलो भएका कारण कार्यालयका कर्मचारी समेत निक्कै फुसूर्दिला देखिन्छन् । भन्सारभित्र लोड अनलोडमा काम गर्ने ढुवानी मजदुरहरु काम नपाएर रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । मुल्यका आधारमा आयात भएका मुख्यः १० बस्तुहरु र राजस्व संकलनको आधारमा आयात भएका मुख्यः १० बस्तुहरुको आयात समेत क्रमस कम हुदैं गएको छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयात न्यून हुनु , सुपारी आयातमा कोटा प्रणाली लागू हुनु र आसामाबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको भन्सार अधिकारीहरुको बुझाई छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, सुपारी पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको थियो । खुला सिमानाका कारण हुने अवैध आयात निर्यातले पनि राजस्व संकलनमा असर पुग्ने गरेको बुझाई छ ।
काँकरभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।




































