७ साउन मेचीनगर : ‘सेतो सुन’ को उपमा दिइने तथा नेपालमा उत्पादन हुने कृषि उपज लसुनको आयात भने अस्वाभाविक रूपमा बढेको छ । पूर्वी काँकरभिट्टा नाका भएर गत आर्थिक वर्ष २०८१—८२ को एकवर्षे अवधिमा नेपालमा एक अर्ब ३० करोड ३९ लाख रुपैयाँ बराबरको दश करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन आयात भएको छ । उक्त परिमाणको लसुन आयातबाट मेची भन्सार कार्यालय काँकरभिट्टाले ३३ करोड ६६ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०८०—८१ को सोहि अवधिमा ४० करोड सात लाख ९४ हजार रुपैयाँको ३२ लाख १६ हजार २० किलोग्राम लसुन आयात भएको थियो । त्यस वापत कार्यालयले १० करोड ३५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष काँकरभिट्टा नाका लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले बृद्धि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ ।
नेपालमा पछिल्लो समय लसुन आयात अस्वाभाविक भएकोे तथ्याङ्कले देखाउँछ । आयात बृद्धि भएसँगै अघिल्लो वर्षको तुलनामा गत आव २०८१—८२ मा राजस्व समेत बृद्धि भएर २३ करोड ३१ लाख छ हजार रुपैयाँ पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा एउटा नाकाबाटमात्रै अस्वाभाविक रूपमा लसुन आयात भएकोमा यसका सरोकारवालाहरुले भने चिन्ता व्यक्त गरेका छन् । मेची भन्सार कार्यालयमा लामो समय काम गरेका एकजना प्रमुख भन्सार अधिकृतका अनुसार पछिल्ला वर्षमा काँकरभिट्टासहित वीरगञ्ज, भैरहवालगायतका क्षेत्रबाट बढी मात्रामा लसुन आयात हुने गरेको छ । केही व्यवसायीहरू सीमावर्ती भारतीय बजारमा ठूलो मात्रामा चाइनिज लसुन बिक्री हुने भएको कारण आयात बढी भएको तर्क गर्छन् ।

अस्वाभाविक रूपमा लसुन आयात भए पनि त्यसको मूल्य पनि बेला बखत अकासिएको छ । धेरै परिमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन नसकेको उपभोक्ताहरुको भनाई छ । नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठुलो परिणाममा लसुनको प्रयोग गर्ने गरेका छन् । आएको मध्ये लगभग सबै आयात चीनबाट नै भएको बताइएको छ । बजारको माग पूरा हुन नसकेपछि छिमेकी देश चीनबाट लसुनको आयात गरिँदै आएको व्यवसायीहरूले बताउने गरेका छन् ।
तुलनात्मक रूपमा नेपाल र भारतमा फल्ने लसुनको तुलनामा चाइनिज लसुन पोटिलो र ठूलो छ, यसको प्रयोग पनि सहज हुने भएको कारण चाइनिज लसुनप्रति आर्कषण देखिएको समाचार स्रोतको भनाई छ ।
भन्सार विभागको तथ्याङ्कले हेर्दा आर्थिक वर्ष २०८१-८२ मा लसुनको आयात मात्रै दुई गुणाले बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ७० करोड बराबरका ५ करोड ७ लाख ९३ हजार किलोग्राम लसुन आयात भएको यसबापत मात्रै भन्सारले १ अर्ब ७२ करोड रुपैयाँ कर संकलन गरेको छ । आएको मध्ये लगभग सबै आयात चीनबाट नै भएको छ । अघिल्लो आर्थिक वर्षमा सोही वस्तुको आयात २ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख किलोग्राम आयात भएको थियो ।

सो आयातबाट ५७ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो । यो वर्ष आयात लागत, परिमाण तथा राजस्व सबै करिब दुईसय प्रतिशतले बढेको देखिन्छ ।




































