१३ दशमलव ३१ प्रतिशतले आयात बृद्धिहुँदा २१ दशमलव शुन्य ८ प्रतिशतले निर्यात घट्यो

१९ कात्तिक, मेचीनगर : पूर्वीनाका काँकरभिट्टाबाट हुने निर्यात व्यापार ओरालो लागेको छ । उता आयातमा भने उल्लेखिय वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०८१-८२ को पहिलो तीन महिनामा चालु आर्थिक वर्ष २०८२-८३ को सोहि अवधिमा नेपालको पूर्वीनाका काँकरभिट्टाबाट हुने व्यापार निक्कै ओरालो लागेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । पूर्वी नेपालको मुख्य प्रवेशद्वारका रुपमा विक्रम संम्वत २०१३ (इ.सं. १९५६) सालमा स्थापित मेची भन्सार कार्यालय नेपालकै ठूला भन्सार कार्यालयहरुमध्ये एक महत्वपूर्ण कार्यालयको रूपमा परिचित छ । मुख्य भन्सार कार्यालयहरु बीरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, रसुवा, त्रिभुवन विमानस्थल, नेपालगञ्ज, र तातोपानी पछि राजस्व संकलनको आधारमा नवौं स्थानमा रहेको छ मेची भन्सार कार्यालय ।

यस भन्सार कार्यालयबाट भारत, चीन, बंगलादेश, भुटान लगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ ।

चालु आवको पहिलो तीन महिनामा १२ अर्ब २८ करोड ३० लाख ५५ हजार रुपैयाँका मालवस्तु आयात भएका छन् भने चार अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँ मुल्य बराबरका मालसामान विभिन्न मुलुक निर्यात भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा छ अर्ब आठ करोड ६९ लाख रुपैयाँ मुल्य बराबरका मालवस्तु निर्यात भएको थियो । अघिल्लो आवको सोहि अवधिको तुलनामा चालु आवको तीन महिनामा यो नाकाबाट हुने निर्यात व्यपार २१ दशमलव शुन्य ८ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।

काँकरभिट्टा नाका भएर खासगरी अलैची, फलामे पाता, चिया, प्लाईउड, छुर्पी, अम्रिसो भेयनिर सिट, लगायतका माल वस्तु निर्यात हुने गरेका छन् ।

आयात भने, १३ दशमलव ३१ प्रतिशतले बृद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा यो नाका भएर १० अर्ब ८४ करोड तीन लाख २७ हजार रुपैयाँका मालवस्तु नेपाल भित्रिएका छन् । अघिल्लो आवको तुलनामा चालु आवको पहिलो तीन महिनामा एक अर्ब ४४ करोड २७ लाख २८ हजार वा १३ दशमलव ३१ प्रतिशतले आयातमा बृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयको अभिलेखअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट चार अर्ब १५ करोड २० लाख आठ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्ष २०८१-८२ को सोहि अवधिको तुलनामा ५६ करोड २९ लाख ९७ हजार रुपैयाँ वा १५ दशमलव ६९ प्रतिशतले बढी हो ।

यसैगरी, पूर्वीनाकाबाट आयात हुने मुख्यः वस्तुमा पेट्रोलियम पदार्थ, जुट, दल्हन, पशु आहारको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन तयारी कपडालगायत रहेका छन् । सरकारले सबैभन्दा पहिला निकासी बढाउने र आयातलाई सन्तुलनमा राख्ने बताए पनि मुलुकमा अहिले यसको ठिक उल्टो भएको एकजना अर्थशास्त्रका प्राध्यापक धर्मानन्द शर्माको भनाई छ ।
व्यापार घाटा कम गर्न सरकारले निर्यात बढाउने नीति र योजना बनाएर काम गर्न सक्नुपर्ने उनको सुझाँव छ । निर्यात बढाउने योजनाबद्ध कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र अप्ठेरोमा परेको र सरकार अब तत्कालै गम्भीर भएर नलाग्ने हो भने अन्य मुलुकसँगको पनि व्यापार घाटा बढ्ने उनको बुझाई छ । ‘निर्यातयोग्य वस्तुको छुट्टाछुट्टै नीति बनाएर वैदेशिक व्यापारलाई सन्तुलनमा राख्ने गर्नुपर्ने पहिलो काम उत्पादन क्षमता वृद्धि गर्नु नै हो ’ उनले भने, —‘मुलुकभित्र वस्तु उत्पादन नगर्दासम्म निर्यात बढाउन सकिँदैन ।’

भारतसँगको निर्यात व्यापारमा अहिलेको मुख्य समस्यामध्ये गैरभन्सार अवरोध पनि भएको व्यवसायीहरुको बुझाई छ । निर्यात सम्भावना बोकेका विभिन्न वस्तुलाई भारत निकासीमा बेला बेलामा हुने अवरोधले समस्या पर्दै आएको उनीहरुको भनाई छ । अदुवा, चिया, वनस्पति घिउ जस्ता निर्यातका सम्भावना बोकेका उत्पादन भारत निकासी गर्न सहज नभएको नाकामा देखिएको अवरोधले प्रष्ट हुने एकजना व्यवसायीको भनाई छ ।
मुलुक कृषि क्षेत्रमा यति धेरै निर्भर हुँदाहँुदै पनि यो आकर्षक पेशाको रुपमा आउँन नसकेको भन्दैं कृषि कर्ममा क्रियाशील रामनन्द ठाकुर कृषिलाई आकर्षक पेशाका रुपमा अघि बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने धारणा राख्छन । परम्परागत उत्पादनलाई व्यावसायिक बनाउने र प्रविधियुक्त बनाउन आवश्यक छ । मुलुकमा परम्परागत रुपमा चल्दै आएको उत्पादनभन्दा पनि उच्च मूल्यका कृषिजन्य उत्पादन बढाउनुपर्ने सुझाव उनको छ ।

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.