२० कात्तिक, मेचीनगर : नेपालको पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा मुसुरो दालको निर्यातको ग्राफ बढ्दै गएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार चालु आवको साउनदेखि असोज महिनासम्मको अवधिमा काँकरभिट्टा नाका भएर नौ करोड १२ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको छ लाख तीन हजार केजी मुसुरो दाल आयात भएको छ ।
गत आर्थिक वर्ष २०८१-८२ को यहि अवधिमा यो नाका भएर एक करोड ५७ लाख १३ हजार रुपैयाँ मुल्य बराबरको एक लाख आठ हजार केजी मुसुरोको दाल आयात भएको थियो । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोहि अवधिमा काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात सात करोड ५५ लाख ७३ हजार रुपैयाँ वा चार सय ८१ प्रतिशतले बृद्धि भएको कार्यालयको अभिलेखले जनाएको छ ।

दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरूले मुसुरो दाल निर्यातका क्रममा अनिवार्य रुपमा खाद्य प्रयोगशालाको सिफारिस पेश गर्नुपर्ने भन्सार अधिकारीहरू बताउँछन् । व्यवसायीले खाद्य प्रयोगशालाको सिफारिस पेश गरे पछि निकासी महशुल वापत प्रति एसेसमेन्ट १ सय १३ रुपैयाँ बाहेक अन्य केही रकम बुझाउनु नपर्ने भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट आयात भएको दालमा १० प्रतिशत भन्सार महशुल बुझाउनुपर्छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भए पनि माग अनुसार अझै पनि पूर्ति गर्न नसकिएको नेपाली व्यवसायीहरुको भनाई छ ।
व्यवसायीहरुका अनुसार नेपालबाट बंगलादशमा सबैभन्दा बढी मुसुरो निर्यात हुन्छ । कुनै समय बंगलादेशसँगको व्यापारमा मुख्य हिस्सा ओगट्ने मुसुरो (दाल) को निर्यात क्रमशः घट्दै जाँदा आयात भने दोब्बर बढिरहेको थियो । भन्सार अधिकारीहरुका अनुसार खासगरी अस्ट्रेलिया र भारतबाट मुसुरोको आयात भइरहेको छ । यी देशसहित क्यानाडा, म्यानमारलगायतका मुलुकहरूबाट मुसुरोको आयात हुने सरकारी अधिकारीहरुको भनाई छ ।

मुसुरो नेपालमा अत्यन्त लोकप्रिय कोसे बालीको रूपमा रहेको छ । नेपालमा यसको खेती धान अथवा मकै बाली आधारित प्रणालीमा गर्ने प्रचलन छ । कुल कोसे बाली खेती मध्ये यस बालीले मात्र ६४ प्रतिशत क्षेत्रफल ओग्टन सफल रहेको छ ।
यसको महत्व निर्यात बालीको अलावा मुसुरोको दाल प्रोटिन तथा विभिन्न खनिज पदार्थहरू आइरन, जिङ्क आदिको घनिभूत श्रोत भएकोले नेपालको मध्यम वर्गीय समाज तथा गरिब कृषकहरूको लागि भरपर्दो श्रोत भएको छ ।
नेपालमा झण्डै छ लाख घरधुरी कृषकहरू मुुसुरो खेतीमा संलग्न रहेका छन् । यस बालीले हावामा भएको नाइट्रोजन मल माटोमा स्थिर करण गर्ने भएकोले माटोको उर्वराशक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले वाली विविधीकरणमा समेत सहयोग पग्ने कृषि विज्ञ रामानन्द मण्डलको भनाई छ ।




































