३ मंसिर, मेचीनगर : सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्ष २०८२—८३ को पहिलो तीन महिनामा फलफूल आयात ८९ दशमलव ४ प्रतितशले वृद्धि भएको छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मानिर्भर बनाउने आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत घोषणा गरेको थियो । आयात बढ्दै जाँदा नेपाली किसानलाई भने फलफूलको उचित मूल्य पाउनै मुस्किल भएको छ । नेपालमा हावापानी र भूगोलको अनुकूलताले फलफूल निर्यातको सम्भावना भएको विज्ञहरुले औंल्याइरहँदा अभिलेखले भने आयात बढिरहेको देखाएको छ । मेची भन्सार नाका भएर मूल्यको आधारमा आयात भएका १० वस्तुहरुको तुलनात्मक विवरण अनुसार फलफूल पाँचौ स्थानमा छ ।
गत आर्थिक वर्ष २०८१—८२ वर्षको पहिलो तीन महिनामा नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका भएर २१ करोड ३५ लाख ५० हजार रुपैयाँको फलफूल आयात भएकोमा चालु आर्थिक वर्ष २०८२—८३ को सोही अवधिमा फलफूल आयात बढेर ४० करोड ४४ लाख ४५ हजार रुपैयाँ पुगेको मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेखले देखाएको छ । नेपालले विभिन्न प्रकारका फलफूल २३ भन्दा बढी देशबाट आयात गर्ने गरेको छ ।

कृषि विज्ञ रामानन्द मण्डलका अनुसार तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर, पनि आयात भने रोकिएको छैन । पछिल्लो समय त नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात हुने गरेको छ । नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना हुँदाहुँदै पनि स्याउको आयात हुनुले पनि नेपालमा फलफूलको परनिर्भरता चुलिँदै स्पष्ट हुन्छ । नेपालमा भारतबाट ठूलो परिमाणमा स्याउ आयात हुने गरेको छ । सरकारले स्याउ आत्मनिर्भर कार्यक्रमका लागि कर्णालीका पाँच जिल्ला, मनाङ, मुस्ताङमा कार्यक्रम विस्तार गरेको छ ।

नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आयात हुने गरेको छ । सुन्तला उत्पादनका लागि गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी ,पाल्पा, गुल्मी, र अर्घाखाँचीमा लगायतका जिल्लामा सुन्तला बगैचा सुदृढिकरण कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले फलफूल उत्पादन गर्नका लागि फलफूल दशक घोषणा बताईएको छ । पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको र यसबाट राम्रो आम्दानी हुने कृषि विज्ञको भनाइ छ।
नेपालमा उत्पादन भएका फलफूलले बजारले नपाएको गुनासो बढि रहेका बखत नेपाली बजार भने आयातित फलफूलले कब्जा गरेको फलफूल व्यवसायी विनोद महलाको भनाई छ । बजारमा स्वदेशी फलफूलभन्दा आयातित फलफूलको वर्चस्व भएकाले स्वदेशी उत्पादनले मूल्य पाउन मुस्किल भएको फलफूल व्यवसायीहरुको भनाई छ । ‘नेपाली बजार आयतित बजारको नियन्त्रणमा छ ’ एकजना व्यवासायीले भने, ‘बजार आयतित फलफूलले भरिएको छ । आयतित फलफूलभन्दा स्थानीय उत्पादनको मूल्य बढी भए पनि राम्रो र गुणस्तरीय छ तर व्यापारी र उपभोक्ताले भने सस्तो खोज्छन् ।’ नयाँ खेतीमा चासो नहुनु र भएको खेती पनि व्यवस्थित गर्न नसक्नुले यस्तो अवस्था आएको हुन सक्ने बताइएको छ । आयातलाई निर्यातले प्रतिस्थापन गर्न सके नेपाली उत्पादन फलफूलको बजार प्रचुर रहेको बताइएको छ ।

नेपालले भारत, बङ्लादेश, थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ । किसानलाई विनियोजन गरेको बजेट लक्षित समूहसम्म पुग्न नसकेकाले उत्पादन वृद्धि नहुँदा परनिर्भरता बढेको आरोप नेपाली किसानहरुको छ । खेतीयोज्य जमिन पनि बाँझो हुँदै जाँदा हरेक क्षेत्रमा उत्पादन घट्दै गएको छ । सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ ।




































