भारतका वैज्ञानिकले संक्रमण सम्बन्धमा गरेकाे एक अनुसन्धानले आश्चर्यजनक तथ्य पत्ता लगाएकाे छ। अर्थात् सरसफाइ भएका क्षेत्रमा भन्दा कम सरसफाइ भएका क्षेत्रमा काेराेनाबाट मृत्यु हुने जाेखिम कम!
यस्तो राज्य जहाँ सरसफाइको स्तर कमजोर छ र पानीको गुणस्तर पनि राम्रो छैन, त्यहाँ कोरोना संक्रमणका कारण मृत्यु हुने जोखिम कम अनि यस्तो राज्य जुन निकै विकसित छ, जहाँ सरसफाइ पनि विशेष ध्यान दिइन्छ, तर त्यहाँ मृत्युको जोखिम ज्यादा पाइयाे।
यो आश्चर्यजनक अध्ययन प्रतिवेदन सेन्टर फर साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चका वैज्ञानिकले सार्वजनिक गरेका हुन्।
वैज्ञानिकका अनुसार न्यून आय भएका मुलुकमा परजीवी र ब्याक्टेरियाबाट फैलिने रोग धेरै हुन्छ। जसले गर्दा त्यहाँ बसोबास गर्ने मानिसको प्रतिरक्षा प्रणाली भविष्यमा आउने यस्ता रोगसँग लड्न तयार भएर बस्छ।
वैज्ञानिक परिभाषामा यसलाई इम्युन हाइपोथेसिस भनिन्छ। यो प्रतिरक्षा प्रणालीका लागि एउटा तालिमजस्तो हुन्छ। पहिले नै संक्रमणसँग जुधिसकेको हुने कारण त्यस्ता मानिसलाई कोरोनाबाट मृत्यु हुने जोखिम कम हुन सक्छ।
भारतमा यस्तो तथ्य पाइयो
बिहार, झारखण्ड, केरल र असमा मृत्यु दर कम
वैज्ञानिकका अनुसार यसलाई केस फ्याटलिटी रेसियो (सिएफआर) बाट बुझ्न सकिन्छ। सिएफआर भनेको महामारीका कारण हुने मृत्युको अनुपात हो। उदाहरणका लागि सामाजिक एवं आर्थिक रूपमा पिछडिएको बिहारमा कोरोना कारण हुने मृत्यु दर ०.५ प्रतिशत छ, यो देशभरको औसत मृत्यु दरको एकतिहाइ हो।
बिहारमा मात्र होइन, केरल (०.४ प्रतिशत), असम (०.४ प्रतिशत), तेलगंना (०.५ प्रतिशत), झारखण्ड (०.९ प्रतिशत) र छत्तीसगढ (०.९ प्रतिशत) जस्ता राज्यमा मृत्यु कम भएका छन्।
महराष्ट्र, गुजरातजस्ता विकसित राज्यमा मृत्यु दर अधिक
अनुसन्धान भन्छ– महराष्ट्र, गुजराज र पन्जाबजस्ता विकसित राज्यमा मृत्यु दर २ प्रतिशत वा यसभन्दा बढी छ। वैज्ञानिकका अनुसार यो अनुसन्धान पानीको गुणस्तर, सरसफाइको स्तर र प्रति १० लाख कोरोना संक्रमितमा हुने मृत्युको संख्यामा आधारित छ।
संक्रमणले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
यसअघि भएका संक्रमणका कारण प्रतिरक्षा प्रणालीमा परेको असरबारे अध्ययन गरिएको थियो। अनुसन्धानले मानिसमा हुने परजीवी र ब्याक्टेरियाको संक्रमणले भविष्यका लागि उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाएको देखायो।
अनुसन्धानमा सहभागी महामारी विशेषज्ञ प्रवीणकुमार भन्छन्, ‘कम सरसफाइ भएका क्षेत्रमा कोरोनाबाट कम मृत्यु भएको पाइयो।’
उनी थप्छन्, ‘तर प्रतिरक्षा प्रणालीको यो प्रक्रियाबारे पूरै जानकारी प्राप्त भइसकेको छैन, किनकि यो निकै ठूलो विषय हो।’
उक्त अनुसन्धानमा सेन्टर फर साइन्टिफिक एन्ड इन्डस्ट्रियलका अलावा नेसनल सेन्टर फर सेल साइन्स पुणे र चेन्नई म्याथमेटिकल इन्स्टिच्युट पनि संलग्न थिए। दैनिक भास्करबाट