एसईई मौका परीक्षाको तयारी पूरा, ५५० परीक्षा केन्द्र तोकियो

१४ साउन, काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका छन्। यही साउन २३ गतेदेखि हुने एसइई परीक्षा (ग्रेडवृद्धि) अर्थात् मौका परीक्षाको लागि उक्त परीक्षा केन्द्र तोकिएको हो।

२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुँदै छ। उक्त मौका परीक्षामा करिब दुई लाख विद्यार्थीहरू सहभागी हुँदै छन्।

०८० को एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ६७ हजार ७८५ जनाले मात्रै परीक्षा दिए। परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित थिए। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका थिए।

नयाँ लेटरग्रेडिङ लागू गर्दा ४८ प्रतिशतमात्रै उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो। तर सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए। ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल (एनजी) भए।

बोर्डले ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय गरेको थियो। जसअनुसार धेरै विद्यार्थीहरू फेल भएपछि सरकारको चर्को आलोचना भयो। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात् नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको थियाे। जसअनुसार ती सबै ननग्रेडेड भएकाले मौका परीक्षा दिन पाएका छन्।

मौका परीक्षाको लागि सबै तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले एसइई मौका परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिए। उनले भने,‘५५० परीक्षा केन्द्र तोकियो,प्रश्नपत्र सम्बन्धित ठाउँमा पुगिसकेको छ,त्यसैले लगभग सबै परीक्षाको तयारी सकियो।’

चैतमा भएको एसइई परीक्षामा देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएको थियो। जापानमा एउटा परीक्षा केन्द्र तोकियो। गत वर्षको एसइई परीक्षामा पनि जापानबाट १४ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

परीक्षा हलमा मोबाइल भेटिए परीक्षा रद्द​ गरिने

पछिल्लो समय परीक्षा हलमा परीक्षा मर्यादा र आचारसंहिताविपरीत मोबाइलबाट चिट चोर्ने क्रम बढेको छ। यसअघि भएको एसइई परीक्षामा मोबाइलबाट चिट चोरेको पाइएपछि कतिपय परीक्षार्थीहरूको परीक्षा रद्द गरिएकाे थियो। त्यस्तै,वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा–१२ को परीक्षा पनि फेसबुक म्यासेन्जरमा ग्रुप नै बनाएर चिट चोर्ने गरेको फेला परेको परेको थियो। जसमा शिक्षकहरूले प्रमुख साथ दिइरहेको पाइयो।

दाङको तुलसीपुर उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमन गरेका वेला परीक्षा हलबाट पहिलो चरणमा २४ वटा मोबाइल बरामद गरेको थियो। त्यसो त यो एसइईकाे मौका परीक्षामा पनि यस्तै खालको परीक्षा मर्यादा विपरीतका कार्य हुने जोखिम छ।

तर,परीक्षामा कडाइ गरिने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक गोदारले बताए। उनले भने,‘पहिलो त परीक्षामा मोबाइललगायत डिजिटल घडी परीक्षा हलमा लैजान पाइँदैन,यदि लगेको पाइए गेटमै जफत गरिने छ,भित्रै मोबाइल लगेर हेरेको पाइए परीक्षा नै रद्द गरिने छ,त्यसैले यसमा पहिला नै परीक्षार्थीहरू सचेत हुन जरुरी छ,’उनले भने। आवश्यकताअनुसार परीक्षामा जनशक्ति परिचालन गरिने उनको भनाइ छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.