२६ कात्तिक, चारआलीः झापाको मेचीनगर –१३ चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसले सोमबार चारजनालाई सम्मान गरेको छ । क्याम्पसको १७ ओैँ क्याम्पस सभा– २०८१ को अवसर पारेर प्राध्यापक र कर्मचारी गरी चारजनालाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ विवेक उप्रेती, मातृका पोखरेल र कर्मचारीतर्फ कार्यालय सहायक राजन कट्वाल र सह—लेखापाल प्रदिप चौधरी रहनु भएको छ ।
क्याम्पस सभा उद्घाटन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले, विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष हरिचरण बानियाँ, क्याम्पस प्रमुख माधव प्याकुरेललगायतले अविर, टीका, दोसल्ला पहिर्याएर संयुक्तरुपमा सम्मान पत्रसहित मायाको चिनो प्रदान गर्नुभयो ।
प्रमुख अतिथि उपप्रमुख उप्रेतीले क्याम्पस सभाको पानसमा दीप प्रज्वलनगरी उद्घाटन मन्तव्य राख्दैं हरेक क्षेत्रलाई समाजसँग जोड्न र शैक्षिक संस्थाको सवैखाले सुधारका लागि सवैको भूमिका महत्वपुर्ण हुने भएकाले एक्लै नभई सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । त्यसमा स्थानीय सरकारले निभाउने भूमिकामा स्थानीय सरकार, मेचीनगर नगरपालिका र आफूले पुलको काम गर्ने स्पष्ट पार्नुभयो ।
पछिल्लो समय अप्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण घटिरहेकाले अब प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने उपप्रमुख उप्रेतीले आवश्यकता ओैँल्याउँनुभयो । उहाँले प्राविधिक विषयको स्वीकृति प्राप्ति ,सञ्चालनमा आर्थिक व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन र दक्ष जनशक्ति व्यवस्थापन पनि उत्तिकै कठिनाई रहेको समेत विचार राख्नुभयो । शैक्षिक सुधारकालागि अब हरेक शैक्षिक संस्थाहरू लाग्नु पर्ने उहाँको भनाई थियो ।
त्रिदेव क्याम्पससँग निक्कै अवसर रहेकाले ती अवसरलाई सदुपयोग गर्न सके आगामी दिनमा राम्रो परिणाम हात पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । क्याम्पसको प्रभाव क्षेत्रभित्र साथै बाहिरबाटसमेत विद्यार्थी पढ्न आउने सम्भावना रहेकाले हरेक अभिभावक र विद्यार्थीका लागि क्याम्पस आकर्षक बन्न सक्नुपर्ने सुझाव समेत दिनुभयो ।
विद्यार्थीहरूमा नजिकमा प्राप्त हुने उच्च शिक्षाप्रति भन्दा टाढा गएर प्राप्त हुने शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ त्यसको कारण खोज्न उपप्रमुख उप्रेतीले सुझाव दिनुभयो । ‘स्थानीय स्तरका शैक्षिक संस्थाहरू स्थानीय स्तरकै अभिभावक र विद्यार्थीहरूका लागि आकर्षण बन्न सक्नुपर्छ ’उहाँले भन्नुभयो । शैक्षिक संस्थाको प्रभाव क्षेत्रभित्रका विद्यार्थी अन्यत्र पढ्न गए यसको सकरात्मक सन्देश नजाने भएकाले सञ्चालक, शिक्षकहरू यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । नगरभित्र रहेका सवै शैक्षिक संस्था तथा काँकरभिट्टा, धुलावारी तथा चारआलीमा सञ्चालनमा रहेका सामुदायिक क्याम्पसहरु नगरकै गहना भएकाले यी शैक्षिक संस्थाहरुको संरक्षण, शैक्षिकस्तरमा सुधारलगायतका काम गर्नु सवैको दायित्व हुने उहाँको भनाई थियो ।
उपप्रमुख उप्रेतीले नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने स्पष्ट पार्नुभयो । यसका लागि स्थानीय सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराउनुभयो । स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं उहाँले शिक्षा, स्वास्थ्य, कृषिलगायत स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राख्नुभयो ।
क्याम्पसको विगतदेखि बर्तमानसम्मको सवै अवस्थाका बारेमा स्थानीय सरकार जानकार रहेको र क्याम्पसको शैक्षिकसुधारकालागि हरेक वर्ष बजेटमा सम्बोधन हुदैं आएको समेत उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं उहाँले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताएका थिए । उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्न वक्ताहरुले सुझाव दिएका थिए । ‘उद्यमशीलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाई सीपसँग जोड्नुपर्छ’ सहभागी वक्ताहरुले भने —‘ हामीले पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आउदैनन् , व्यवहारमा प्रयोग हुदैन् भने डिग्री गरे पनि त्यस्तो शिक्षाको महत्व के ? व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दैं उनीहरुले पढौं पढाऔँ र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ पुस्तकालयको महत्व र पठन संस्कृतिको विकास गर्न आग्रह गरेका थिए ।
उद्घाटन सत्रमा विशिष्ट अतिथि विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष हरिचरण बानियाँ, निवर्तमान अध्यक्ष सन्तोष नेउपाने, दाताहरुका तर्फबाट दिलीप कार्कीलगायतले बोल्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा क्याम्पस प्रमुख माधवप्रसाद प्याकुरेलले शैक्षिक,भौतिक, सामाजिक, आर्थिक तथा प्रशासन प्रगति प्रतिवेदन – २०८१ प्रस्तुत गर्नुभयो ।
क्याम्पसको वर्तमान अवस्था, शैक्षिक प्रगति,विद्यार्थी भर्ना विश्लेषण , विद्यार्थी उतिर्ण दर विश्लेषण , तहगत उतिर्ण दर विश्लेषण , क्याम्पसमा सञ्चालित कार्यक्रम , शिक्षण विधि, भौतिक प्रगति र संरचना विकाश, शैक्षिक अनुदान, वित्तीय प्रगति र स्रोत विश्लेषण ,खर्च विश्लेषण,लेखापरीक्षण अवलोकन, सामाजिक प्रगति, सामाजिक क्रियाकलापमा क्याम्पसको संलग्नता, क्याम्पसमा समुदायको योगदान, योगदानसम्बन्धि योजना, समुदायको संलग्नता वृद्धि गरिने योजना, अवसर तथा चुनौतीहरू, क्याम्पसका सबल पक्षहरूलगायत प्रतिवेदनमा समेटिएको छ ।
प्राध्यापक सावित्रा दाहाल भट्टराईले सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सवैलाई क्याम्पस सञ्चालक समिति सदस्य भक्त खेवाङले शब्दद्वारा स्वागत गर्नुभयो ।