मेचीनगरको शिक्षा क्षेत्रमा ठूलो लगानी, चालु आवको ४८.५८ प्रतिशत बजेट खर्च

मेचीनगर, १८ फागुन : मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपसचिव होमनाथ भण्डारीका अनुसार साउनदेखि पुससम्ममा कुल ४८.५८ प्रतिशत रकम शिक्षामा खर्च भइसकेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारबाट ४० करोड २२ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। सो रकममध्ये हालसम्म १७ करोड १२ लाख ८१ हजार ९२४ रुपैयाँ खर्च भइसकेको छ। नगरपालिकाले यो वर्ष कुल ९० प्रतिशत बजेट शिक्षामा खर्च गर्ने लक्ष्य राखेको छ।

यसैगरी, नगरपालिकाले आफ्नै तर्फबाट ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ विनियोजन गरेकोमा पुस मसान्तसम्म १ करोड २५ लाख २५ हजार १९१ रुपैयाँ खर्च भएको छ। यस परिमाणमा ३५ प्रतिशत मात्र रकम खर्च भइसकेको छ, तर चालु आर्थिक वर्षमा ९५ प्रतिशत शिक्षामा खर्च गर्ने लक्ष्य रहेको भण्डारीले जानकारी दिए।

गत आर्थिक वर्षमा केन्द्र सरकारले ३९ करोड ३२ लाख ५२ हजार रुपैयाँ बजेट उपलब्ध गराएको थियो, जसमध्ये ३५ करोड ९६ लाख ८८ हजार ९ रुपैयाँ २ पैसा खर्च भएको छ। त्यस्तै, कोशी प्रदेश सरकारले ३६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।

नगरपालिकाले आफ्नो स्रोतबाट ३ करोड ४६ लाख ७५ हजार रुपैयाँ शिक्षा क्षेत्रमा खर्च गर्न छुट्याएको थियो, जसबाट ३ करोड ३१ लाख ९३ हजार ८३४ रुपैयाँ खर्च भइसकेको छ। समग्रमा, गत वर्ष नगरपालिकाले शिक्षा क्षेत्रमा ४३ करोड १५ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेकोमा ३९ करोड ६२ लाख ३१ हजार ८४३ रुपैयाँ खर्च भएको थियो।

मेचीनगरमा ४२ वटा सामुदायिक विद्यालय छन्, जसमा ६ हजार ८४८ छात्रा र ७ हजार १७९ छात्र गरी १४ हजार २७ जना विद्यार्थी अध्ययनरत छन्। संघीय सरकारले तलब दिने गरी ४५४ जना स्वीकृत दरबन्दी शिक्षक कार्यरत छन्। नगरपालिकासहित लेखा कर्मचारी तथा अन्य शिक्षक गरी ६१८ जना शिक्षक नगरपालिकामा कार्यरत छन्।

नगरपालिकाले विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहिद विरेन राजबंशी छात्रवृत्ति अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत ६५९ जना विद्यार्थीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ प्रदान गरिन्छ। वीपी कोइराला छात्रवृत्ति अन्तर्गत प्राविधिक शिक्षामा स्नातक तह पढ्ने ८ जना विद्यार्थीलाई १२ हजारदेखि १६ हजारसम्म छात्रवृत्ति दिइन्छ।

त्यस्तै, संघीय सरकारबाट कक्षा १ देखि १२ सम्मका ३,४५८ जना छात्रा, ५०६ जना दलित, ८५८ जना सीमान्तकृत समुदायका विद्यार्थी र २६ जना अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

नगरपालिकाले प्रारम्भिक वालविकास कक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि सिकाइ सामग्री उपलब्ध गराउँदै आएको छ। साथै, तिनलाई पढाउने शिक्षकहरूलाई मन्टेश्वरी विधिमा आधारित विशेष तालिम पनि दिइन्छ।

नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाइरहेको भन्दै भण्डारीले आगामी दिनमा पनि गुणस्तरीय शिक्षाका लागि आवश्यक कार्यक्रम ल्याइने बताए।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.