
केहीदिन यतादेखि हजुरलाई माया गर्ने परिवारजन, आफन्त, साथीभाई, राजनितिकर्मीहरुले धेरैभन्दा धेरै फोन सम्पर्क गरिरहनु भएको छ । जब हजुर फोन नेटको सम्पर्कबाट बाहिर हुनुभयो, सबैले धेरै चासो र जिज्ञासा राखेर मलाई सोधिरहनुभएको छ । कहाँ पुग्नुभयो ? तपाईसँग सम्पर्क भएको छ कि छैन ? हामी त उहाँले हिमाल चढ्ने आट हिम्मत देखेर अत्यन्तै खुशी छौं तर सम्पर्क नहुँदा आत्तिएका पनि छौं । अनि केही माया गर्ने व्यक्तिहरुको चासोको विषय यस्तो पनि छ, “हैन ! कसरी यस्तो सोच आयो ? कत्रो हिम्मत गरेको को हो ? तपाईले कसरी पठाउनुभयो ? यस्ता यावत प्रश्नहरुको जवाफ धेरैभन्दा धेरै फोनमार्फत जिज्ञासा राख्नुहुने हजुरका शुभेच्छुकहरुलाई दिदै आएकी छु । अप्ठयारोमा सम्झिने नै आफ्नो हुने रहेछ ।

हरेको मानिसको आ–आफ्नै सपना हुदो रहेछ । लक्ष्य हुदो रहेछ । उहाँको सगरमाथा आरोहण गर्ने सपना र लक्ष्यका लागि केहीवर्ष यता उहाँले नियमितरुपमा फुटसल खेलेर स्वास्थ्य बनाएको शरीर र खानपानमा समेत सचेत भएको कुरा नजिकबाट नियाल्दै र साथ दिदै आएकी थिए । अघिल्लो पटक लोबुचे हिमाल आरोहण गरेर आएपछि त्यहाँको अनुभवले उहाँमा थप उर्जा थपियो, र यहि चैत्र महिनामै जाने निर्णय गर्नुभएको थियो । तर पार्टीको केही जिम्मेवारी पुरा गर्नु पर्ने र पार्टीका केहि महत्वपूर्ण बैठकहरुमा उपस्थित हुनुपर्ने नै भयो, संगसँगै शिक्षकहरु सडकमा आन्दोलन गरिरहेको अवस्था थियो । त्यो बेलामा उहाँ आफ्नो जिम्मेवारी पुरा गर्दै शिक्षकहरु जस्तै तेजु सर, तोयासरदेखि देशभरिका शिक्षकहरुसँग नियमित सम्पर्क संवादमा उहाँहरुका माग पुरा हुन् भनेर लागिरहनु भएको कुरा मैले नजिकबाट सुनिरहेको थिए । यस्तै केही जिम्मेवारीहरु पुरा गर्दागर्दै जाने मिति अलि पछि धकेलियो ।

आज मात्र मेरो उहाँसँगै रहेका दुईजना शेर्पा भाइहरुसँग कुरा भयो र उहाँहरुको भनाइ पनि मौसम त्यति अनूकुल नरहेको र आरोहण गर्ने मिति अलि ढिला नै भएको कुरा बताउनुभयो । अब सगरमाथाको शिखर पुग्नका लागि १५०० मिटर मात्र रहेको बताएपछि मैले उहाँहरुलाई सोधे, “दाइको स्वास्थ्य कस्तो छ ? जान सक्ने अवस्था छ कि छैन ?,“ भन्दा भाइहरुले भन्नुभयो, “दाइ एकदम दरो छ, हिड्न पनि सक्छ तर मौसमले के गर्छ ? मौसम राम्रो भएन भने अर्को सिजन पर्खिनुपर्छ,“ । यति सुनेपछि मन अलि शान्त भयो। घरमा श्रीमती, छोरा–छोरी आत्तिएलान् भनेर उहाँका अफ्ठ्यारा परिस्थितिहरु हामीलाई नभनेको हुन सक्छ भनेर मैले शेर्पा भाइहरुसँग आफै सम्पर्क र सम्बाद गरे ।
उहाँ घरबाट हिडेको दिनदेखि नियमितरुपमा फोन सम्पर्क मै हुनुहुन्थ्यो । त्यहाँका सबै भिडिओहरु पठाई रहनु हुन्थ्यो । छोरा–छोरीसँग भिडिओ कलमा जिस्कीरहनुहुन्थ्यो । बेसक्याम्पबाट माथि चढेपछि टेलिफोन–नेट सम्पर्क नहुदा जीवनकै सबैभन्दा ठुलो छटपटी , डर र चिन्ता लाग्यो । मध्यरातमा पनि झसंग–झसंग हुदै फोन आयो कि मेसेज आयो कि भनेर हेरिरहे । कुनै पल पनि फोन छेवैमा राखिरहे । नेटवर्क नहुने तर दिउसो घाम लाग्दा मात्र सोलारमार्फत आएको नेटले दुई दिन पछि कुरा हुदाँ मन एकदमै भक्कानियो । आज पनि केहि बेर मात्र कुरा भएपछि फोन काटियो । त्यसपछि सम्पर्क भएको छैन् । शेर्पा भाइहरुसँगको कुरा उहाँको अनुभवको कुराले अब थप यात्रा मौसमको अनूकुलतालाई हेरेर निर्णय गर्ने भन्नुभएको छ । केही दिनदेखि उहाँको पोस्टको शेयर अनि सकारात्मक प्रतिक्रिया, मिडियाहरुले लेखेका सकारात्मक समाचार, परीवार, साथीभाई, राजनीतिसहकर्मी, विपक्षी दलका शुभेच्छुकहरु सबैको कामना, प्रार्थना र चाहना आरोहण गरेर नै फर्किनुहोस् भन्ने छ । कतिपयले सोचेर निर्णय गर्नु भन्नुभएको छ । ९९ प्रतिशतलेगरेको माया दिएको हौसला र आर्शीवाद देखेर मन हर्षित भएको छ । सबैप्रति मेरो व्यक्तिगत रुपमा आभार, धन्यवाद र नमन गर्दछु ।
यद्यपि केही नकारात्मक टिप्पणी पनि नआएका हैनन् । तर , सागरमाथा आरोहण मनोरञ्जन मात्र भए सबै जाने थिए होला । यो कठिन यात्रा र दर्बिलो आत्मबलको कुरा हो । त्यहाँ पुगेर पछि त्यहाँको नेट टेलिफोनको समस्या, पर्यटक हरूको सुरक्षाको समस्या फोहर व्यवस्थापनको समस्यादेखि यावत समस्याको समाधान कसरी गर्न साकिन्छ भनेर गृह मन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई बोलाएर त्यहाँका स्थानीयहरू संग छलफल गराएको कुरा सामाजिक सञ्जालदेखि मिडियाहरूमा आएता पनि मनस्थिति नकारात्मक भएकाहरूले नकारात्मक प्रतिक्रिया दिनु स्वाभाविक हो ,कलियुगमा छौ हामी ।

म भगवान प्रति अलि बढी नै विश्वास गर्छु । कुनै पनि कुरा देखेको होइन लेखेको हुनुपर्छ भन्ने कुरा विश्वास र अनुभवले सिकेको छ । यति कडा परिश्रम र मिहिनेतका साथ सबैभन्दा जोखिम यात्रा खुम्बु, आइस् फल पार गरिसक्नु भएको छ । अब सगरमाथाको चुचुरोमा पुग्नका लागि डेढ किलोमीटर (१५०० मिटर) भएपनि मौसम अनुकूल भएन भने नजानु होला भनेर आग्रह गरेकी छु । स्वास्थ्यले साथ दिए अर्को सिजनमा समयमै जानु होला भनेकी छु । तेञ्जिग शेर्पाले ७ औं पटकमा आरोहण गरेको कुरा हामीसबैलाई थाहा छ । भने यस पटक हजुरले पुरा गर्न नसकेको कुरा, अर्को पटक अझ बढी तयारीका साथ पुरा गर्नु होला परिवारको तर्फबात मैले दिनुपर्ने साथमा केहि कमि हुनेछैन, । तर मौसम प्रतिकुल हुदाँहुदै जाने कुरामा चाहिँ गम्भीर भएर सोच्नु होला भनेकी छु । श्रीमान–श्रीमती भनेको जीवन रहेसम्मको सबैभन्दा नजीकको साथी रहेछ । भगवान श्री कृष्णले तातो दुध पिउदा उता रुक्मिणीको ओठ पोलेको थियो रे । पक्कै श्रीमान–श्रीमतीको सम्बन्ध यस्तै रहेछ । हजुरका हरेक कठिन परिस्थितिहरु मैले पल पल महशुस गरिरहेकी छु । भागवानसँग प्रार्थना छ र हजुरको आत्मबलप्रति विश्वास छ । बाकी यात्रा सहज रहने छ ।
{नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको श्रीमती कविता शर्माको मुहार पुस्तिकाबाट हामीले जस्ताको तस्तै साभार गरेका हौ । }





































विश्वप्रकाशजीले हिमाललाई नजिकबाट चिनेर, अझ सर्वोच्च चुलीको सफल आरोहण नै गरेर आएपछि देशलाई पनि नीतिनिर्माणको काममा ठूलो सघाउ पुग्नेछ । नत्र त सरकारमा नै हिमालको यथार्थ बुझेको कोही नभएपछि त नीतिनिर्माणको काम पनि हचुवा हुने । हामी केही मान्छेले वर्षाैंदेखि भन्दै आएको कुरो बुझाउन सजिलो हुनेछ अब ।