१० असार, मेचीनगर : देशका सवै स्थानीय तहहरुले आज बजेट पेश गर्ने छन् । संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए अनुसार स्थानीय तहहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिई सकेको छ ।
अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।
जवाफ दिएको पनि थियो । तर यसका लागि ऐन नै संशोधन गर्नुपर्ने भएपछि यो सम्भावना टरेको छ । संघीय सरकारको बजेट जेठ १५ र प्रदेश सरकारको बजेट असार १ गते पेश गर्नुपर्ने हुन्छ । यसैका आधारमा स्थानीय तहले बजेटको अंक टुंगो लगाउनुपर्ने भएकाले पनि असार १० गते स्थानीइ तहहरुको बजेट प्रस्तुत हुने गर्दछ ।
स्थानीय तहमा बजेट बनाउने प्रक्रिया भने पुस मसान्तबाटै शुरु गर्नुपर्छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश र स्थानीय तहले आगामी आवका लागि आय व्ययको प्रक्षेपणसहित विवरण पुस मसान्तमै अर्थ मन्त्रालयमा पठाउनुपर्छ ।
यसैक्रममा, झापा केही स्थानीय तहले यसअघि नै बजेट प्रस्तुत गरिसकेका छन् ।
विर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि सामाजिक सुरक्षा भत्ताबाहेक १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार बराबरको बजेट प्रस्ताव गरेको छ ।
आजदेखि शुरु दोस्रो नगर सभाको सातौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को विभिन्न शिर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गर्दै संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय राजश्व बाँडफाँटतर्फ रु १४ करोड ७६ लाख, प्रदेश समानीकरणतर्फ रु १ करोड ९७ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट रु १ करोड ४५ लाख १४ हजार, आन्तरिक श्रोततर्फ रु २१ करोड, जग्गा रजिष्ट्रेशनतर्फ रु १२ करोड ५० लाख, संघीय सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६ हजार र प्रदेश समपुरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।
उपप्रमुख संग्रौलाले चालु आ.व. २०८१÷०८२ को जेठ मसान्तसम्मको यथार्थ आयव्ययको विवरणसमेत प्रस्तुत गरेका छन् । चालु आ.व.मा आन्तरिक राजश्व २० करोड ५० लाख अनुमानित गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा १३ करोड ९६ लाख ८१ हजार ४२, घरजग्गा रजिष्ट्रेशनमा १२ करोड अनुमानित गरिएकोमा ८ करोड ५९ लाख ९५ हजार ९ सय ६० , त्यसैगरी संघीय समानीकरण १९ करोड ४८ लाख ६हजार ४ सय ८० , संघीय सशर्तमा २८ करोड ९ लाख ९ हजार १ सय ८०, संघीय बिशेष अनुदान ५५ लाख ४५ हजार ६१ , संघीय समपुरक १५ करोड ८० लाख २४ हजार १ सय ४५ र संघीय राजश्व बाँडफाँटबाट १० करोड ८६ लाख १९ हजार ९ सय ३५ रुपैयाँ प्राप्त भएको छ।
यसैगरी प्रदेश समानीकरणमा १ करोड ३ लाख २ हजार ७ सय ५०, प्रदेश सशर्तमा १ करोड ७१ लाख २९ हजार ९ सय ८९, प्रदेश समपूरकमा ४३ लाख ३३ हजार ३ सय ३३ र प्रदेश राजश्व बाँडफाँट १ करोड ४० लाख ३६ हजार ७ सय ९९ रुपैयाँ, जनसहभागिता रु ३ करोड ११ लाख ९५ हजार ४६१ समेत गरी जम्मा १ अर्व ५ करोड ३५लाख ८० हजार १ सय ३५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
दोस्रो नगर सभाको सातौ अधिवेशनको प्रथम बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
यसैगरी, गौरादह नगरपालिकाको १६औं नगरसभा अन्तर्गत पहिलो अधिवेशन आइतवार सम्पन्न भएको छ । नगरप्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
नगरप्रमुख सुवेदीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, चुनौती र आगामी दिशा प्रस्तुत गर्दै नगरपालिकाले वितरणमुखीभन्दा परिणाममुखी कार्यक्रमहरूतर्फ प्राथमिकता दिएको बताए। स्वास्थ्य सेवा, शिक्षा, कृषि, विपद् व्यवस्थापन, वातावरण संरक्षण, भूमि व्यवस्था, भौतिक पूर्वाधार, खेलकुदलगायतका क्षेत्रमा नगरले दीर्घकालीन दृष्टिकोणका साथ कार्य अघि बढाइरहेको बताइएको छ।

नगरप्रमुखले विगत तीन वर्षको समग्र कार्यको समीक्षात्मक विवरण प्रस्तुत गर्दै बेरुजु रकम न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको जानकारी गराए। उनका अनुसार बेरुजुको अङ्क घटाएर हाल १.९ प्रतिशतमा झारिएको छ भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा नगरपालिकाले ७८ अङ्क हासिल गरेको छ, जुन उत्साहजनक उपलब्धि मानिएको छ।
चालु आर्थिक वर्षका लागि १४औं नगरसभाबाट स्वीकृत ८४ करोड ३४ लाख २२ हजार २ सय ८२ रुपैयाँको अनुमानित बजेट संघीय तथा प्रदेश सरकारको विषयगत सशर्त अनुदानसहित ८६ करोड ५१ लाख १२ हजार २ सय ६१ रुपैयाँ ६६ पैसामा पुगेको छ । हालसम्मको खर्च प्रतिशत हेर्दा कुल खर्च ६६.२१ प्रतिशत रहेको छ। त्यसमा पूँजिगत खर्च ५९.९३ प्रतिशत र चालु खर्च ६९.७५ प्रतिशत रहेको जानकारी दिइएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल खर्च ८५ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ।
नगर प्रमुख सुवेदीले नीति तथा कार्यक्रममार्फत जनताको सीप तथा क्षमता विकासमुखी योजना निर्माण तथा कार्यान्वयनमा नगरको प्राथमिकता रहेको र उपलब्ध नतिजाहरूले अझ बढी प्रयास आवश्यक देखिएको टिप्पणी गरे।
कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैठकले नगरको आगामी विकासयात्रालाई प्रभावकारी बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ।
गौरीगञ्ज गाउँपालिकाको १७ औं अधिवेशनमा अध्यक्ष फुलबती राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन भने उपाध्यक्ष पुजन न्यौपाने कूवंरले आज बजेट प्रस्तुत गर्ने तालिका छ । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको सातौ अधिवेशन आज हुदैंछ ।