धुलाबारी, भदौ ६: मेचीनगर-१० मा रहेको धुलाबारी माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (PTA) को अध्यक्षमा लेखनाथ शर्मा पराजुली पुनः चयन हुनुभएको छ। शुक्रबार सम्पन्न अभिभावक भेलाले पराजुलीलाई पाँचौँ कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
विद्यालयका निमित्त प्रधानाध्यापक तेजप्रसाद चौलागाईले दिएको जानकारीअनुसार, नयाँ समितिको सदस्यहरूमा खेम गौतम, लक्ष्मण प्रसाई, शर्मिला नेम्वाङ, सुनिता राजबंशी, सोमनाथ ढुंगाना, सुनिता मोते र निर्मल अधिकारी सर्वसम्मत चयन हुनुभएको छ। शिक्षक अभिभावक संघमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र एक जना शिक्षक प्रतिनिधि गरी जम्मा ११ सदस्यीय रहने व्यवस्था रहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङ्गको सभापतित्वमा सम्पन्न भेलामा मेचीनगर-१० का वडा अध्यक्ष नारायण खनालले विद्यालयलाई गुणस्तरीय बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
भेलामा विद्यालय नर्स ज्योस्ना बुढाथोकीले विद्यार्थीहरू बिरामी हुँदा विद्यालयमा नै गरिने उपचारबारे जानकारी गराउनुभयो। साथै, उहाँले महिनावारी भएका छात्राहरूका लागि सेनिटरी प्याडलगायतका सामग्रीहरू निःशुल्क उपलब्ध गराउने बताउनुभयो। नर्स बुढाथोकीले अभिभावकहरूलाई घरबाटै स्वस्थकर खाजा तयार गरी पठाउनसमेत आग्रह गर्नुभएको थियो।
कार्यक्रम विद्यालयका शिक्षक रमेश दाहालको सञ्चालनमा सम्पन्न भएको थियो, जसमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू किशोर क्षेत्री, ऋषीराज तिम्सिनालगायतको पनि सहभागिता रहेको थियो।




































