२६ कात्तिक मेचीनगर : ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारकालागि मत माग्न प्रधानमन्त्रीदेखि विपक्षी दलका शीर्ष नेतासम्म यतिबेला देश दौडाहामा छन् । मतदातालाई आफ्नो चुनाव चिन्हमा छाप लगाई मतदान गर्न आग्रह गरिरहेका छन् । संघीयतापछि हुन लागेको दोस्रो प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सफलरुपमा सम्पन्न गर्न सरकार पनि कम्मर कसेर लागेको छ । निर्वाचन आयोगले मतदाता शिक्षामा समेत हरेक निर्वाचनमा करोडौं रुपैयाँ खर्च गर्दैछ । तर,मतदाता शिक्षामा गरिने यति ठूलो रकम देशका लागि ‘बालुवामा पानी’ सिद्ध हुँदै आएको छ ।
झापा निर्वाचनक्षेत्र नम्बर १ का मतदाताले मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् । निर्वाचन आउन आठ दिन मात्र बाँकी रहँदा मतदाता शिक्षा दिन गाउँघरमा पर्याप्त जनशक्ति नपुग्दा यस पटक पनि बदर मतको संख्या बढ्ने सम्भावना नेपालमा २०४८ यता ६ पटक संसदिय निर्वाचन भयो । तर, निर्वाचनमा मतदान गर्ने तरीका बारे मतदातालाई पर्याप्त जानकारी नहुँदा औसत ५ प्रतिशत हाराहारीमा मतबदर हुने गरेको छ ।
निर्वाचन कार्यालयले समयमै मतदाता शिक्षा गाउँ गाउँमा पुर्याउन नसक्दा र प्रभावकारीरुपमा काम गर्न नसक्दा ४ मंसिरमा हुने निर्वाचनमा समेत बदर मतको संख्या यसअघिको निर्वाचनमा भएका बदर मतकै प्रतिशत पुग्ने अनुमान गरिएको छ । २०४८ सालको निर्वाचनमा ४ प्रतिशतभन्दा बढी मत बदर भएको थियो । २०५१ मा ३ प्रतिशतभन्दा बढी र २०५६ को आम निर्वाचनमा करीब ३ प्रतिशत मत बदर भएको थियो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार २०६४ सालको पलिहो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५ प्रतिशत र समानुपातिकतर्फ झण्डै ४ प्रतिशत मत बदर भएको थियो । २०७० को दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ करीब ४ प्रतिशत र समानुपातिकतर्फ ३ प्रतिशतभन्दा बढी मत बदर भएको थियो । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ प्रतिशत र समानुपातिमतर्फ झण्डै १० प्रतिशत तथा प्रदेशसभा प्रत्यक्षतर्फ ५ प्रतिशत बढी र समानुपातिकतर्फ १६ प्रतिशत मत बदर भएको सरकारी अभिलेख छ । ०७४ सालको स्थानीय निकाय निर्वाचनमा पनि ३ दशमलव १८ प्रतिशत बदर भएको थियो । आयोगका अनुसार मतदाताले स्वस्तिक छाप सही रूपमा लगाउन नजान्दा मत बदर हुन्छ । एउटै चुनाव चिह्नमा धेरैपटक स्वस्तिक चिह्नको प्रयोग गरेको पनि भेटिन्छ ।
निर्वाचन आयोगले समयमै प्रभावकारीरुपमा काम गर्न नसक्दा ४ मंसिरमा हुने निर्वाचनमा पनि बदर बढ्ने अडकल बाजी गरिएको छ । निर्वाचन आयोगले मतदाता शिक्षाकालागि धेरै काम गरेको दबी गरेको भएपनि प्रभावकारी हुन नसकेको बदर मतको प्रतिशतले नै पुष्टि गर्दछ । छाप लगाउने तरीका, मतपत्र र मसीको रंग, पट्टयाउने तरीका स्वस्तिक छापको साटो औठा छाप लगाउने, कलमको प्रयोग गर्नेजस्ता कारणले मत बदर हुने गरेको छ । अझ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जादा मतदाता झुक्किएर मत बदर हुने सम्भावान बढेको छ ।
फरकफरक दलहरूबीचको गठबन्धनका कारण मतपत्रमा मतदाता झुक्किने सम्भावना विगतको भन्दा पनि बढी छ । निर्वाचन हुनुपूर्व मतदान गर्न नसिकी सीधै मतदान गर्न जाँदा मत बदर हुने सम्भावना धेरै हुने गरेको सरकारी अधिकारीहरुको भनाई छ । फरकफरक दलबीच गठबन्धन भएकाले मतपत्रमा तलमाथि गरेर छाप लगाउनुपर्ने हुन्छ । तर, उक्त कुराको जानकारी बेलैमा मतदातालाई नहुने हो भने यसपटक धेरै मत बदर हुने सम्भावना देखिन्छ । पाँच दलीय गठबन्धन र तालमेलका कारण चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिना मतदान गर्नसक्ने अवस्था छैन । देशव्यापी रूपमा थुप्रै जिल्लामा दलहरुबीच चुनावी तालमेल छ । तर, कुनै पनि उम्मेदवारले मतदातालाई कसरी मत खसाल्ने भनेर तालिम दिएका छैनन् ।
मतदाता शिक्षाको उद्देश्य भनेको कमभन्दा कम मत बदर होस् भन्ने नै हो । यसकारण निर्वाचनको मिति घोषणा गर्नेबित्तिकै मतदाता शिक्षा लागू गर्नुपर्ने धेरैको भनाई छ । निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको स्थानीयवासीको भनाई छ ।
मतदाता शिक्षा प्रभावकारी नभएकै कारण प्रत्येक निर्वाचनमा धेरै मत बदर हुने गरेको राजनीतिक विश्लेषक रामजनम कुर्मीको भनाई छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो मत आफैँ हाल्न नपाउने र सामान्य व्यक्तिले समेत ‘वारेस मत’ हाल्न लगाउने गरेको उहाँको भनाइ छ ।
ठूलो मतपत्रमा मतदाताले आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गर्दा कहाँ र कसरी छाप लगाउने भन्ने विषयमा अझै द्विविधा छ । सरकारले मतदाता शिक्षा निर्वाचनमा खटिने कर्मचारीलाई त दियो तर, जसले मत खसाल्छन्, उनीहरूलाई दिन आवश्यक ठानेन ।
एकजना पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताउनुहुन्छ । समय कम भएका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको उहाँको भनाई छ । गाउँघरमा अधिकांशलाई मत हाल्ने तरिका थाहा नभएपछि स्वास्थ्य स्वयंसेविकाहरू मतदाता शिक्षा दिन आउने गाउँ गाउँ परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।