एक ठाउँबाट अर्काे ठाउँको भ्रमण गर्नु वा घुम्नु बरालिनु पक्कै हैन । भ्रमण वा घुम्नुले आफ्नो ज्ञानको दायरालाई फराकिलो पनि बनाउँछ । यसकारण घुम्नु जीवनलाई फरक कोणले नियाल्नु पनि हो । घुम्नु गन्तव्यमा पुग्नु र मनोरञ्जन गरेर समय बर्बाद गर्नु पनि हैन, भ्रमण गर्नु वा घुम्नु एउटा सिकाइ हो । जीवन बुझ्नु र जिउनु पनि त हो घुम्नु । अर्को अर्थमा यात्रा जीवन जिउने कला सिक्नु पनि हो ।
एउटा बन्द कोठामा जे र जति सिकिन्छ, त्यसको कैयौं गुणा खुल्ला आकाशमा प्रकृतिमाझ सिकिन्छ । पर्यटक र पर्यटन क्षेत्रलाई एकपटक पछाडी फर्केर हेर्ने हो भने विदेशीहरुको इतिहास त धेरै लामो छ । तर, विदेशीहरुको तुलनामा हामी नेपालीहरु घुम्न थालेको इतिहास खासै लामो छैन । नेपालीहरुमा घुम्ने रहर, चाहना र इच्छाशक्तिहरु हुँदा हुँदै पनि विविध बाधक पक्षहरुले रोकेका छन् । विदेशीहरु घुम्न निस्केर घुम्न मात्र सिकेनन्, राम्रा जीवनोपयोगी संस्कारहरु पनि सिके ।


कुन्दन निरौला, हरिनारायण न्यौपाने, इन्दिरा खरेल गाडी चढेर उपप्रमुख मीना पोख्रेल उप्रेती निवासमा आएका थिए । उनीहरुसहित उपप्रमुख मीना पोख्रेल उप्रेती र मलाई चढाएर गाडी गन्तव्यतर्फ लाग्यो । राजकुमार प्रधान आयावारी र अधिवक्ता इन्द्रकमल प्रधान चारआलीबाट चढेका थिए । बाटामा विभिन्न गफगाफ र हाँसीमजाकले बाटो काटेको पत्तै हुदैनथियो । चालक विमल पनि गज्ज्वका । निम्बार्क बैष्णव सम्प्रदायका मादक पदार्थको त कुरै छाडौं । माछा मासु समेत नचल्ने त्यसकारण पनि हामी ढुक्क थियौं उनीप्रति । झापाबाट सिन्धुली पुग्दा उनी चालक होइन सवैको प्यारा भान्जा बनिसकेका थिए । शुरुमा हामीले उनलाई गुरुवा भने पनि सिन्धुलीपछि हाम्रो सम्बन्ध मामा भान्जामा परिणत भयो र एकले अर्कालाई मामा भान्जा भनेर सम्बोधन गर्न थाल्यौं ।


सिन्धुलीबाट करिब २ बजे चालक विमलले यात्रालाई अघि बढाए । सायद खाना खाएरै होला त्यसपछि हामी थुप्रैजना मस्त निन्द्रामा पर्यौं । बेला बेला गाडीमा गीत बज्थ्यो । आज पोखरा बस्ने कि अन्तै बस्ने समूहमा छलफल हुन्थ्यो । पोखरा पुग्न अघि नै बास बस्ने टुङ्गो लाग्यो । हामीले आ आफ्नै तरीकाले साथीभाइहरुसँग फोन गरेर बस्ने होटल लजका विषयमा सोधीखोजी गर्यौं । झमक्कैे साँझ प–यो मुग्लिन बजार टेक्दा । बेलुका ७ बजेकै आसपास हामी पुगेका थियौँ मुग्लिन बजार । त्यसदिनको हाम्रो यात्रा त्यहाँबाट अघि बढेन । रात पर्दै थियो, बास त खोज्नुपर्यो । धादिङको गजुरीबाट ४६ किलो मिटर अघि मुग्लिन । मुग्लिन पृथ्वी राजमार्ग र मदन आश्रित राजमार्गको चोक रहेको चितवन जिल्लाको पहाडी क्षेत्रको प्रमुख बजार रहेछ । भरतपुरबाट ३६ कि.मी राजधानीबाट ११० कि.मी तथा पोखराबाट ९० कि.मी.को दूरीमा रहेछ मुग्लिन बजार । दुई चारवटा होटल चाहार्यौं । अनि माडवाडी भोजनालय बैष्णव लजमा हामी बस्ने टुङ्गो लाग्यो । कसैले रोटी त कसैले भात खाएर हामी सुत्न गयौँ । उपप्रमुखज्यूले ‘बिहान चाँडै हिड्नु पर्छ, चाँडो सुतौं ’ भन्नुभयो । समयमै पोखरा पुगेर त्यहाँको काम सकेर यात्रा जोमसोमको लागि अघि बढ्ने योजनामा थियौं हामी ।

तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा सधैँ दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बीको मन्दिर भए तापनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् । पूजाआजा गर्नकै लागि हाम्रो टोली तालबाराही मन्दिर जाने निर्णयमा पुग्यो । डुङ्गा चढेर मन्दिर पुगेर फर्किनका लागि एकसय रुपैयाँको टिकट लिनुपर्ने रहेछ । अधिकृत इन्दिरा खरेलले हामी आठैजनाको टिकट लिनुभयो । काउण्टरले पनि हामीलाई सुरक्षित सामग्री दियो । पूजाका सामान लिएर डुङ्गा चढेर फेवातालको पानी खेलाउदैं हामी तालवाराही मन्दिरतर्फ लम्कियौं । डुङ्गा खियाउने एकजना १८-२० वर्ष जतिका भाइ थिए ।

दुई पालिकाबीच असल अभ्यासको आदान प्रदान भयो । देशका सबै पालिकाबीच समन्वयको आवश्यकतामा जोड दिँदै पालिकामा भएका असल अभ्यास एक अर्का पालिकामा आदान प्रदान गर्नुपर्नेमा दुवै उपप्रमुखहरुको जोड थियो । संघीयताको सफलताका लागि स्थानीय तहबीच समन्वय हुनुपर्ने पोखरा महानगरपालिकाको धारणा पनि रहेछ ।
सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदान–प्रदान हुने यस अन्तरकृया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधार हुने, स्थानीय तहले स्थानीय आर्थिक विकास, विद्युतीय सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, नवप्रवर्तन साझेदारी कोष, आवधिक योजना लगायतका विषय क्षेत्रमा स्थानीय सरकारहरूले गरेका असल अभ्यास र प्रयासहरू एक अर्काबीच आदान प्रदान गर्नुपर्ने आशा व्यक्त गर्दै हामीले पोखरा महानगरपालिकाबाट बिदा माग्यौं । पोखरा महानगरपालिकाका मन्जु गुरुङले हाम्रो भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै बिदा दिनुभयो । हामी जानु थियो मुस्ताङ । पर्वत जिल्लालाई छिचोल्ने क्रममा कुश्मा नगरपालिका समेत हाम्रो रोजाइमा थियो । त्यहाँ नगर प्रमुख रामचन्द्र जोशी काम विशेषले काठमाडौं जानु भएको, उपप्रमुख स्वास्थानी रिजाल बाहिर भएका कारण प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले मिठो चियाको चुस्कीसहित हाम्रो टोलीलाई स्वागत गर्नुभयो । त्यहाँ पनि निक्कै बेर भलाकुसारी भयो । स्थानीय तहले भोग्नु परेका सारागारा अप्ठयारा विषयमा कुराकानी भए । न्यायिक शाखाका कर्मचारी, न्यायिक सहजकर्ताहरुले त्यहाँको न्याय सम्पादनका विषयमा हाम्रो टोलीलाई जानकारी गराए ।
पर्वतबाट अघि बढ्दै जादाँ हाम्रो यात्रा म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पुगेर अडियो । जहाँ हाम्रो टोलीलाई उपप्रमुख ज्योति लामिछाने पौडेलले स्वागत गर्नुभयो । त्यहाँ पनि पालिकाको कार्य सम्पादन, न्यायिक समितिमा आउने मुद्दाका प्रकार, न्याय सम्पादन तथा अहिले सम्मका असल अभ्यासलगायत विभिन्न विषयमा कुरा भए । असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सु–सुचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास पालिकाका उपप्रमुखहरुले व्यक्त गरे । स्थानीय तहका असल अभ्यासलाई नतिजामुखी बनाउनु पर्ने र यस्ता अन्तरकृया कार्यक्रमहरूलाई स्थानीय तहका उत्पादनहरूको प्रवर्धन गर्ने अवसरको रूपमा समेत लिनुपर्ने विचार दुवै पालिकाका उपप्रमुखको भनाइ थियो । स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम निक्कै प्रभावकारी बन्ने उहाँहरुको निचोड पनि थियो ।


साँझ सातबजे हामीले जोमसोम, मुस्ताङ टेक्यौ । पर्यटकको भीड लाग्ने समय भएकाले होटल भेट्न सजिलो भएन । बल्ल बल्ल नन्दिता रेस्टुरेन्ट एन्ड होटलमा कोठा मिल्यो र बास बस्यौं । खासगरी, मुस्ताङ जिल्ला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनीमा आफ्ना पितृहरुको श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत बर्सेनि हजारौँ भक्तजन आउने गरेका कारण पनि जोमसोमका होटलहरु भरिभराउ हुदाँ रहेछन् । शुक्रबार बिहान हामीले पहिलो मुक्तिनाथ जाने निधो गर्यौं । जब मुक्तिनाथतर्फ यात्रा अघि बढ्दै थियो । भान्जा विमलले सोधे‘ कागवेनी पनि जाने कि ? हामीले मुन्टो हल्लायौं । जोमसोमबाट हाम्रो यात्रा कागबेनीतिर सुरु भयो । कालीगण्डकीको स्वच्छन्द रूप देखिएकै छ बायाँतिर । बगरको फराकिलो रूप अचम्म लाग्दो छ । जोमसोमबाट हिँडेको आधा घण्टा जतिमा पुगियो कागवेनी छेउ । कागवेनीवाट मुक्तिनाथ जाने र उपल्लो मुस्ताङ जाने बाटो छुट्टिने रहेछ । उपल्लो मुस्ताङ जाने बाटो अझै तिरैतिर जान्छ भने मुक्तिनाथ जाने चाहिँ आडैको दाहिनेतर्फको पहाडतिर उक्लिन्छ । मुक्तिनाथ जोमसोमवाट २१ कि.मी. टाढा रहेको भन्ने मलाई म्याग्दीका पत्रकार मित्र प्रताप बानियाँले भन्नुभएको थियो । जोमसोम देखि नै हावा निक्कै चलिरहेको थियो ।
कागबेनीबाट उकालो लागेपछि कालीगण्डकीको तिरैतिर हुने यात्रा सकिँदो रहेछ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको निक्कै ठूलो भीड लागेको थियो । कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेहरुको सङ्ख्या ठूलो हुने रहेछ । कागबेनीमा मुक्तिनाथबाट आएको खोला र कालीगण्डकीको दोभान रहेछ । यही दोभानमा बाबुआमा नहुनेहरूले तीर्थश्राद्ध गर्दछन् रे । त्यहाँ केही समयको आनन्द लिएपछि हामीलाई लिएर गाडी मुक्तिनाथतर्फ अघि बढ्यो । मुक्तिनाथतिर उक्लँदा बाटामा थुप्रै झरना देख्यौं । मुक्तिनाथ तीन हजार आठसय मिटरको उचाइमा रहेछ । उचाइमा आएकाले होला शारीरिक रूपमा केही गाह्रो भइरहेको थियो । बिहान नौ बजे हामी मुक्तिनाथको मन्दिर पुग्यौँ । पूजा समाग्री किनेर हामी पनी मुक्तिनाथ मन्दिरका खुट्किला उक्लन थाल्यौँ । एक दुई खुट्किलो उक्लदैँ सास फुल्ने हुनाले बिस्तारै मन्दिर परिसर हेर्दै अगाडि बढ्यौँ । मुक्तिनाथ मन्दिर भन्दा उत्तर पट्टि वरिपरि नै धारा रहेछन् । सबै धाराको पानीले नुहाउनुपर्छ भनेर मान्छेहरू लहरै धारा वनाएर खसालिएका पानी टाउकोमा पार्दै दगुरिरहेको दृश्य कम लोभ लाग्दो थिएन । १०८ धाराबाट झरर पानी झरिरहेको थियो । शिरमा जल सेचन गरेपछि मन्दिरमा पूजाका लागि लाम बस्यौं । एक सय आठ धारामा नुहाएर काँप्दै पूजा गर्न लहरबद्ध हुने मानिसहरु पनि थुप्रै थिए । केही मानिसहरु दर्शनका लागि दक्षिण भारतबाट आएका रहेछन् ।
त्यहाँको पूजाआजा सकेर हामी सोझै मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका छिरियो । जहाँ उपाध्यक्ष जमुना थापा मगरले हामीलाई खादा पहिर्याएर स्वागत गर्नुभयो । खास गरी मुस्ताङ जिल्लाले कृषि र पर्यटनका क्षेत्रले परिचित रहेछ । यो कुराबाट उहाँबाट थाहा भयो । दुवै पालिकाका विषयमा छलफल भए । ५ वटा वडा रहेछ घरपझोङ गाउँपालिकामा । अहिले पनि गाउँ बुढाकै चलन रहेछ त्यहाँ । करीव आधाघण्टाको भलाकुसारी पछि हाम्रो टोली पोखरा तर्फ हिड्यो ।
पोखरा आइपुग्दा झम्मकै साँझ परिसकेको थियो । बाटामा बागलुङ भगवतीको दर्शन गर्दै पोखरामा बास बस्न आइपुगेका थियौँ । शुक्रबार पोखराको बासपछि शनिबार बिहान यात्रा सोझै पूर्वघरतर्फ लाग्यो । शनिबार हेटौडाको शहिद स्मारक हेदैं बर्दिबास आइपुग्दा रात परेका कारण बास भने होटल यसमा भयो । आइतवार दिउँसो टोली झापा आइपुगेको थियो ।
-मुस्ताङबाट फर्केर

























