कोरोना भाइरसका नयाँ भेरियन्ट देखिनुका साथै यसबाट सङ्क्रमित हुँदा देखिने लक्षण पनि परिवर्तन भइरहेका छन् ।
केही समययता तीव्र गतिमा फैलिरहेको डेल्टा भेरियन्टबाट सङ्क्रमित मानिसमा सुरुवातको कोरोना भाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणभन्दा फरक अनुभव गरिरहेका छन् । डेल्टा भेरियन्टबारे अझै धेरै जानकारी प्राप्त गर्न आवश्यक छ ।
तर, कुनै पनि भाइरसले लाग्ने रोग भाइरल र होस्ट फ्याक्टर गरी दुई प्रमुख कारकमा निर्भर हुने बताइएको छ ।
पहिलो कारक सङ्क्रमणको दर, भाइरसको प्रतिक्रियाको गति, प्रसारमा निर्भर हुन्छ जुन भाइरसको उत्परिवर्तनसँगै परिवर्तन हुन्छ । त्यस्तै होस्ट कारक उमेर, लिङ्ग, औषधिको सेवन, आहार, व्यायाम, स्वास्थ्य तथा तनावमा निर्भर हुन्छ । बेलायतमा मोबाइल एपको स्वचालित रिपोर्टिङ प्रणालीबाट प्राप्त जानकारीअनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुँदा देखिने सामान्य लक्षणमा परिवर्तनको सङ्केत देखिएका छन् ।
एपमा सङ्कलित तथ्याङ्कअनुसार ज्वरो, खोकी, टाउको दुखाइ र घाँटी दुखाइ सामान्य कोभिडका लक्षण हुन् । अहिले भने रूघा लाग्ने तथा नाकबाट तरल पदार्थ बग्ने सङ्क्रमणको लक्षण हुनसक्ने देखाएको हो । जुन पहिले बिरलै पाइएको थियो । यसबाहेक, सुँघ्ने क्षमता कमजोर हुनु गत वर्ष प्रमुख लक्षण मानिएकामा अहिले यो नवौँ स्थानमा झरेको छ । खोपका कारण पनि लक्षणमा परिवर्तन देखिएको हुनसक्छ ।
वृद्ध उमेर समूहका मानिसलाई खोप लगाउन थालिएपछि कोरोना भाइरसको सङ्क्रमण युवा उमेर समूहमा बढी देखिन थालेको छ । र, उनीहरूमा हल्कादेखि मध्यसम्म सङ्क्रमण देखिने सम्भावना बढी हुन्छ । लक्षणमा देखिएको परिवर्तन भाइरसको क्रमिक विकास तथा डेल्टा भेरियन्टको फरक विशेषताका कारणले पनि हुनसक्छ । तर लक्षणमा देखिएका परिवर्तनको खास कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । (टाइम्स अफ इन्डिया)