२२ साउन , मेचीनगर : पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एचपीभी (हृयुमन प्यापुलोना भाइरस) निकैं प्रभावकारी र उपयोगी भएकाले सरकारले यसमा लगानी गर्दा खेर नजाने पूर्वाञ्चाल क्यान्सर अस्पताल विर्तामोडका प्रमुख डाक्टर वीरेन्द्रकुमार यादवले बताउँनुभएको छ । १ सय भन्दा बढी प्रकारका एचपीभी रहेका र सङ्क्रमण भए पनि धेरैजसो कुनै लक्षण नदेखिँने उहाँको भनाई छ । तर केही प्रकारले भने मुहार, हात खुट्टा र यौनाङ्ग र मुखभित्र पनि मुसाहरू उत्पन्न गराउँछ ।
यदि बालबालिकाहरूले एचपीभी भाइरससँग सम्पर्कमा आउनु अघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिने,खोपले सङ्क्रमणबाट बचाउँने, तर शरीरमा पहिले नै भाइरस बसिसकेको छ भने भाइरस मुक्त बनाउन नसक्ने डाक्टर यादवको भनाई छ ।
अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको साप्तहि बैठक अन्तर्गत आइतबार सम्पन्न बैठकमा प्रमुख वक्ताका रुपमा बोल्दैं डाक्टर यादवले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि यसले सहयोग गर्ने र झण्डै ९५ प्रतिशतभन्दा बढी पाठेघर क्यान्सरलाई रोकथाम गर्न सक्ने एउटा अध्ययनले देखाएको स्पष्ट पार्नुभयो ।
तर, यो खोपका बारेमा पहिलादेखि नै उठ्दै आएको कुरा भए पनि सरकारले खासै लगानी नगरेको बताउदैं उहाँले यसको कार्यन्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदैं क्यान्सर लाग्न नदिनु छँदैछ खोपमा लगानी गर्दा खर्च पनि कम हुने दाबी गर्नुभयो । विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित १ सय २५ राष्ट्रले एचपीभी खोप हालसम्म भित्रियाईसकेको एउटा अध्ययनले देखाएको छ ।
‘पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने गर्दछ’ डाक्टर यादवले भन्नुभयो — ‘त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो । यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो ।’ अझ विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेकाले एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने र अध्ययनले यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएको चिकित्सकहरुको भनाई छ । त्यकारण पनि एचपीभी खोप आवश्यक छ ।
विश्व स्वास्थ्य संगठनले यौनसम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि एचपीभीको खोप सिफारिस गरेको हो । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्ने डाक्टर यादवको भनाई छ । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्ने भनिएको छ । यसैगरी १५ वर्षमाथिकालाई ३ डोज भनिएको छ । जुन पहिलो डोज लगाएको २ महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्ने भनिएको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । यसका लागि नियमित स्क्रिनिङ आवश्यक रहेको क्यान्सर रोग बिशेषज्ञ समेत डाक्टर यादवको भनाई छ ।
उहाँले यो खोप यौनसम्पर्कमा आउनुभन्दा पहिले नै किशोरीहरुलाई दिइएको खण्डमा भाइरसविरुद्ध एन्टिबडी बन्ने र यसले रोगबाट बचाउने, पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ क्यान्सरको अन्तिम स्टेजसम्म पुग्न रोक्न मद्दत गर्ने, तर, स्क्रीनिङमा आउने धेरै महिलाहरु अन्तिम स्टेजमा पुगिसकेका हुन्छन् । त्यसकारण परीक्षण गराउनुपर्छ भन्ने जनचेतना दिन आवश्यक रहेको बताउनुभयो । यसका लागि सरकारी, गैरसरकारी विभिन्न संघ संस्था सक्रिय हुनुपर्ने बताईएको छ ।
यो खोप महँगो पर्ने भएकाले पनि कतिपयले लगाउन नचाहने उहाँको अनुभव छ । छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । अस्पताल अनुसार यसको मूल्यमा पनि फरक पर्ने पाइएको छ । तर सरकारले धेरै खरिद गर्ने हो भने यसको मूल्य सस्तो पर्ने डाक्टर यादव बताउँनुहुन्छ ।
नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने यो क्यान्सर विश्वभरका महिलाहरूमा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष ३ लाख महिलाको ज्यान जाने गरेको छ । त्यसपछि महिलामा अत्याधिक स्तन क्यान्सर प्रमाणित भएको डाक्टर यादवको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा ६ लाख ४ हजार वटा पाठेघरको क्यान्सरका नयाँ केस पुष्टि भएका थिए । जसमध्ये ३ लाख ४२ हजार जनाले ज्यान गुमाएका छन् । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २ सय ४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४ सय ९३ जनाको मृत्यु भएको छ ।
क्लबका सन् २०२३–२४ का अध्यक्ष इञ्जिनियर रूद्र मैनालीको अध्यक्षता सम्पन्न बैठकमा उहाँले क्यान्सरका कारण ज्यान नजाने तर,उपचारमा हेलच्याक्रयाई र लापरवाही गरेमात्र मानिसको मृत्यु हुने उहाँको भनाई छ । ‘अहिले पनि क्यान्सर रोग लागेमा लुकाउने चलन छ समाजमा’ डाक्टर यादवले भन्नुभयो—‘खासगरी उच्च घरानका मानिसले यो रोग लुकाउँछन् । समयमै क्यान्सरको पहिचान भए उपचारमा सरलता मिल्छ, ज्यान जानबाट जोगिन्छ, मानिसले नियमित आहारविहार वा खानपिन देखि व्ययाम योगामा ध्यान दिनुपर्छ । ’
स्क्रीनिङमा आउने धेरै महिलाहरु अन्तिम स्टेजमा पुगिसकेपछि आउने र रोग लुकाउनु अहिले क्यान्सरको उपचारमा मुख्यः चूनौती बनेको छ । क्लबका प्रेसिडेन्ट ईलेक्ट डाक्टर आनन्दराज खनालले स्वागत गरेको कार्यक्रममा क्लबका नोमिनी प्रेसिडेन्ट उदयकुमार श्रेष्ठले डाक्टर यादवको व्यक्तित्वका बारेमा चर्चा गर्नुभयो । क्लबका उपाध्यक्षकृष्णप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको बैठमा पूर्व अध्यक्षहरु राजु मर्हजन, रोहितकुमार बुढाथोकी, दिलीप सुवेदी, अशोककुमार श्रेष्ठलगायतले डाक्टर यादवसँग विभिन्न जिज्ञाशा राख्नुभएको थियो ।