२१ फागुन, मेचीनगर : झापाको मेचीनगर नगरपालिकामा क्षयरोग बिरामीहरुलाई पोषण प्याकेज बितरण गर्न थालिएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्यः नारासहित मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत सोमबारबाट पोषण प्याकेज वितरण कार्य शुरु गरिएको हो ।
नगरपालिका वडानम्बर —१० का २२ जना क्षयरोगका बिरामीहरुलाई पोषण प्याकेज वितरण गरिएको हो । नगरको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले पोषण सामग्री प्रदान गर्नुभयो । स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार चामल २५ केजी ‐एक बोरा), बदाम, दाल, सातु, एक÷ एक केजी, तेल एक लिटर, अण्डा एक क्यारेटसहित यातायात खर्चका रुपमा नगद चारसय रुपैयाँ प्रदान गरिएको हो ।
धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा केन्द्रका प्रमुख डाक्टर आशिष निरौला, वडानम्बर -१० का वडा सदस्य सोमनाथ ओझालगायतले संयुक्तरुपमा पोषण सामग्री प्रदान गर्नुभएको थियो । स्वास्थ्य शाखाका अनुसार नगरपालिका क्षेत्रमा क्षयरोगका बिरामी बढ्दै गएका छन् । नगर स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन सदिक्षा भटट्राईका अनुसार मेचीनगरमा २०८० साउनदेखि माघ मसान्तसम्म १ सय १३ जना क्षयरोगका बिरामी फेला परेको छन् । चालु आर्थिक बर्ष २०८०/०८१ को यो अवधिमा सबैभन्दा बढी मेचीनगर वडा नम्बर ६ मा २४ जना क्षयरोगी फेला परेका छन् । गत आर्थिक बर्ष २०७९/०८० मा नगरमा २०५ जना क्षयरोगी फेला परेकामध्ये जटिल प्रकृतिको क्षयरोगी ७ जना भेटिएको उहाँको भनाई छ ।
अहिले नगरको स्वास्थ्य शाखाको प्राविधिकहरुले क्षयरोगी खोजी रहेको बेला भएकाले रोगीको संख्या बढ्ने क्रममा रहेको र भेटिएका रोगीको उपचार समेत गर्ने काम तत्कालै सुरु भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले बताउनु भयो । प्रमुख सापकोटाका अनुसार क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था रहेको छ । मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाएको सापकोटाले बताउनु भयो ।
मेचीनगर नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका बनाउने अभियान थालिएको छ । सरकारले मेचीनगर पालिकालाई क्षयरोगमुक्त पालिका बनाउने योजना बनाएको हो । क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम थालिएको छ ।कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ ।