४ बैशाख, मेचीनगर : हात्तीपाइले रोग विरुद्धको औषधि प्रत्येक मानिसले सेवन नगर्नु र यसका विषयमा हुने अनर्गल प्रचार नै हात्तीपाईले रोग अन्त्यको मुख्यः समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।
मंगलबार ‘मेचीनगर नगरपालिकाको आहान, हात्तीपाईले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने मुख्यः श्लोग्नसहित हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०८०÷०८१ नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीका क्रमका यसका विज्ञहरुले प्रत्येक नागरिकले औषधि नखाइदिनु नै हात्तीपाईले रोग निवारणको ठूलो चूनौती बनेको धारणा राखेका थिए । पछिल्लो समय वैदेशिक रोजगारकालागि मलेसिया पुगेका नेपाली कामदारको त्यहाँ रगत परीक्षण गर्दा हात्तीपाईले रोगको ब्राक्रोप्टी नामको परजीवि फेला परेपछि अहिले उनीहरु नेपाल फर्कन थालेका छन् । जस्ले हात्तीपाईले रोगको निवारणमा झन चूनौती र जोखिम थपिएको हात्तीपाईले रोगका फोकलपर्सन डाक्टर सञ्जिव यादवले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले कार्यालयको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नगरका जनप्रतिनिधिहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न क्षेत्रका अगुवासहित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुबीचको गोष्ठीमा हात्तीपाईले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न स्थानीयलाई आग्रह गरेका थिए । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाईले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न आग्रह गर्नुभएको छ । गतवर्ष मेचीनगरमा ८१ प्रतिशतलाई यो औषधि सेवन गराईएको शाखा संयोजक निरौलाले जानकारी दिनुभयो । यो अभियानमा नगरका १ लाख ३३ हजार ९० जनालाई यो औषधि खुवाउने नगरपालिकाको स्वास्थ्य शाखाले लक्ष्य लिएको छ ।
यो औषधि सेवन गरी आफु र समुदायलाई सुरक्षित गर्न सवै प्रतिबद्घ रहनु पर्ने बताउँदै उहाँहरुले हरेक वडावासीले सेवन गरेको औषधिले आफुलाई मात्र नभएर आफु र आफ्नो परिवार र छिमेकका मानिसलाई सुरक्षित राख्ने उहाँको भनाई छ । औषधि नखाइदिनु नै हात्तीपाइले रोग निवारणको ठूलो चूनौती रहेको भन्दैं उहाँले सरकारले हात्तीपाईले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गरेपनि सर्वसाधारणले औषधि नखाइदिनु सवैभन्दा ठुलो चूनौती भएको स्पष्ट पार्नुभयो ।
औषधिप्रतिको गलत धारणा, मलाई रोग नै लागेको छैन्, त्यसैले औषधि आवश्यक छैन भन्ने गलत बुझाई, खानेले सधै खाने र नखाने समुहले कहिल्यै नखाने, धार्मिक तथा साँस्कृतिक परम्परा, लक्षण बिहिन रोगी वा बाहक रहनु, लामो समयदेखि औषधि वितरण गर्दा स्वास्थ्यकर्मी तथा अन्य निकायहरु थकित अभियानका मुख्यः चूनौती रहेको बताईएको छ ।
सरकारले करोडौं रुपैयाँ खर्च गरेर हरेक वर्ष यस्तो अभियान सम्पन्न गरेपनि सवैले यो औषधि खाने गरेका छैनन् । विशेषगरी, ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुमा रहेको हात्तीपाईले विरुद्धको औषधिलाई लिएर परेको भ्रमका कारण पनि ती क्षेत्रमा औषधि सेवन गर्नेको संख्या न्यून रहेको छ । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको मेचीनगर स्वास्थ्य शाखाका सह संयोजक रामप्रसाद अधिकारीको भनाई छ । हात्तीपाईले रोगको संक्रमणबाट प्रभावित जिल्ला झापामा औषधि नखाने प्रवृत्ति छ ।
सन् २०२० मै नेपालबाट हात्तीपाईले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको यसका जानकारहरु बताउँछन् । ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाईले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा हात सुनिने, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुनिने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधी सेवन गर्नुपर्ने डाक्टर पिताम्बर ठाकुरको भनाई छ । नेपालको कुल अंपाङ्गतामध्ये करिब ३० हजार अपाङ्गता हात्तीपाईले रोगकै कारण हुने गरेका छन् । त्यसमा सबैभन्दा धेरै हाइड्रोसिलका विरामी रहेपछि नेपाल सरकारले हाइड्रोसिलका विरामीको निःशुल्क शल्यक्रिया सुरु गर्दै आएको छ । हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो ।
यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ ।
अभियान लिएर औषधि खुवाउन गाउँ—गाउँ टोल—टोल पुगेर औषधि खानुहोस भनेर दिँदासम्म मानिसले खान नमान्ने गरेका कारण समस्या हुने गरेको स्वयम्सेविका आरती गौतम बताउँनुहुन्छ । जिल्ला स्वास्थय कार्यालयका अनुसार दुइ वर्ष मूनिका बालबालिका, गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामीले हात्तीपाइले रोगको औषधि खान हुँदैन र अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाले पनि यस्ता व्यक्तिलाई औषधि सेवन गराउनु हुँदैंन । स्वास्थ्यकर्मीहरु भन्छन् हात्तीपाइले रोगको एउटै उपाय भनेको औषधि सेवन नै हो तर, यो औषधि खाना खाएको दुइ घण्टा भित्रमा सेवन गर्नुपर्छ ।