२ भदौं, धुलावारी : सामान्य स्वास्थ्य परीक्षणका लागि महँगो निजी अस्पताल धाउनुपर्ने मेचीनगरवासीको बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले शुक्रबरबाट नगरमै १५ बेडको नगर आधारभूत अस्पताल सञ्चालनमा ल्याएसँगै नगरवासीको यो बाँध्यताको अन्त्य भएको हो ।
आइतबार मेचीनगर— १० धुलावारी अस्पताल परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासक अधिकृत अग्निप्रसाद अधिकारीले संयुक्तरुपमा अस्पताल सञ्चालनमा आएको जानकारी गराउनुभयो ।
विशेषज्ञ चिकित्सकसहितको आधारभूत नगर अस्पताल सञ्चालनमा आएपछि नगरका आर्थिक अवस्था कमजोर भएका, विपन्न परिवार बढी लाभान्वित हुने विश्वास लिइएको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येका नागरिकको नैसर्गिक अधिकार र हकको रुपमा स्थापित गरेको भन्दैं संघीय संरचनाको वस्तुगत धरातलमा आधारित रहि गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ पहँुचमा पुर्याउन राज्यको दायित्व भएको नगर प्रमुख बुढाथोकीले स्पष्ट पार्नुभयो ।
निःशुल्क स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारामा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनिएको छ । हरेक नागरिकले यो अधिकार सहजरुपमा प्राप्त गर्न सकनु भनेर ०७७ मंसिर १५ गते संघीय सरकारले सात ओटै प्रदेशका ३ सय ९६ ओटा स्थानीय तहमा पाँच, १० र १५ शैयाका अस्पतालको शिलान्यास गरेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख उप्रेतीले संविधानको धारा ३५ मा उल्लेख भए बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार छ त्यसैले सबैलाई स्वास्थ्यको पहुँचमा पु¥याउन आधारभूत नगर अस्पताल सञ्चालनमा ल्याईएको स्पष्ट पार्नुभयो । विभिन्न खाले स्वास्थ्य समस्या भएका, बाहिर टाढा जान नसक्ने स्थानीयको स्वास्थ्य उपचारमा सहजता आउने कुरामा विश्वास व्यक्त गदैं प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले केही त्यस्तो स्वास्थ्यकर औषधीको समस्या भएमा समयमै जानकारी गराउन स्वास्थ्यकर्मीलाई निर्देशन दिदैं नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको बताउँदै सेवा प्रवाहमा लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई नगरपालिकाले माफी नगर्ने भन्दै सेवा सुबिधाका लागि कुनै पनि कमी नगर्ने अस्पतालमा आवश्यक न्यूनतम पूर्वाधारहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अस्पतालमा चारजना एमबीबीएस डाक्टर, पारामेडिक्ससहित २६ कर्मचारी कार्यरत रहेका छन् । अस्पतालबाट स्वास्थ्य वीमाबाट प्राप्त सवैखाले र अन्य ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नगरको स्वस्थ्य शाखाले जनाएको छ । नसर्ने रोगको जाँच, गर्भवती सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधिबाट गर्ने सुरक्षित गर्भपतन, भिडियो एक्स–रे, ईसीजी, सुविधा सम्पन्न प्रयोगशाला ‐ल्याव) कोभिड, डेंगु, जाँचलगायतका स्वास्थ्य जाँच तथा उपचार सेवा दिने र क्षयरोगको परीक्षण निःशुःल्क गरी अस्पतालमा जनशक्ति एवम् उपकरण व्यवस्थापन गरिएको शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार हाल आक्सिमिक सेवा सञ्चालन गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर आशिष निरौलाका अनुसार चौबीसै घण्टा प्रसुती सेवा प्रदान गरिने छ । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले गर्नुभएको थियो ।