बढ्दो गर्मीले जनजीवन प्रभावित : स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्यो

६ असोज, मेचीनगर : केहिदिन अघिदेखि प्रचण्ड गर्मी बढेको छ । बढ्दो गर्मीले झापाका कतिपय स्थानको जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकहरुका अनुसार बढ्दो गर्मीसँगै झापामा विभिन्न खालका रोगका बिरामी बढ्दै जान थालेका छन् । चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी वृद्धि हुने गर्दछ ।

यसैका कारण मेची प्रादेशिक अस्पताल भद्रपुरमा बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । सरकारी र निजी अस्पतालदेखि गाउँ शहरमा सञ्चालनमा रहेका औषधि पसलदेखि क्लिनिकहरुमा समेत बिरामीको संख्या बढेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

गर्मीका कारण आँखासम्बन्धीका रोगीदेखि गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण हुने रोगीहरुको संख्या बढेको अस्पतालका वरिष्ठ सर्जन डाक्टर विनेश झाले बताउनुभयो । मानिसको शरीरले केवल ३६ देखि ३८ डिग्रीसम्मको तापक्रममात्र सहन सक्ने भएपनि केहीदिनदेखि ४० डिग्रीसम्म तापक्रम पुगेको बताइएको छ । गर्मीले हाम्रो स्वास्थमा विभिन्न किसिमका नकारात्मक प्रभाव पारिरहेको डाक्टर झाको भनाई छ ।

पछिल्ला केही दिनदेखि गर्मीका कारण जनजीवन नै प्रभावित भैरहेको र बढ्दो गर्मीले विभिन्न रोगहरु समेत उत्पन्न गराउन सक्ने बरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुरको भनाई छ । अस्पतालका अनुसार अहिले छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको डाक्टर ठाकुरले जानकारी दिनुभयो । ‘दुई /चार दिनदेखि देशभरिनै अत्यधिक गर्मी महशुस भईरहेको छ । गर्मी धेरै भएपछि स्वासथ्यमा निक्कै असर गर्छ ’ डाक्टर ठाकुरले भन्नुभयो—‘खास गरी ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीहरुलाई बढी असर पार्छ । जुनसुकै उमेर समूहलाई पनि असर त पार्छ नै । सुगर, प्रेसर,ज्वरोका र दीर्घरोगीहरुलाई त झनै उच्च तापक्रमले धेरै असर पार्छ ।’

बढेको तापक्रमले शरीरका विभिन्न अंगलाई प्रभावित गर्न सक्छ । त्यति मात्र नभएर चर्को घामको सम्पर्कमा लगातार रहनाले क्यान्सरको खतरा पनि धेरै हुने स्वास्थ्य विशेषज्ञहरुको भनाई छ । बरिष्ठ फिजिशियन डाक्टर रामानन्द मण्डलका अनुसार बढ्दो तापक्रम र तिव्र गर्मीका कारण हृदयमा सबैभन्दा धेरै दुष्प्रभाव हुने खतरा हुन्छ । शरीरको तापक्रम बढ्न स्थिति भए पनि मुटु तिव्र गतिमा धड्कन थाल्छ । मुटुको गति उक्त अनियतिताका विभिन्न गम्भिर प्रभाव हुन्छ । लगातार तापक्रम बढ्नाले ब्लड प्रेशर बढ्ने अथवा कम हुने पनि जोखिम हुन सक्छ । जसले मुटु सम्बन्धि रोग बढ्छ । मुटु तिव्र गतिमा धड्कनुको कारण शारीरिक र मानसिक दुवै किसिमको स्वास्थ्यमा असर पार्ने उहाँको भनाई छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा केहीदिन अघिको तुलनामा छाला रोग सम्बन्धी बिरामीको संख्या बढेको छ । गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन छाला चिकित्सकहरुले आग्रह गरेका छन् । विशेषज्ञहरुले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिएका छन् ।

गर्मीका कारण आँखासम्बन्धी रोगीको संख्या वृद्धि भएको झापाको मेचीनगर —६ काँकरभिट्टा पुरानो भन्सारमा रहेको काँकरभिट्टा आई केयर सेन्टर प्रालि आखाँ (अस्पताल)ले जनाएको छ । केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण केहिदिनदेखि आँखाका बिरामीको संख्या अप्रत्याशित रुपमा बढेको छ । अहिले गर्मीका कारण आँखामा एलर्जी, आँखा पाक्ने, आँखा सुक्खा हुने, आँखा चिलाउने, आँखा पोल्नेलगायत समस्या लिएर बिरामी आउन गरेको अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर रोजल थापाले जानकारी दिनुभयो । आँखामा हुने विभिन्न समस्याको प्रमुख कारणका रुपमा अत्यधिक गर्मी, गर्मीसँगै चल्ने तातो हावा, धुलो र धुवाँ रहेको डाक्टर थापाको भनाई छ ।

गर्मी बढेसँगै दिनानुदिन बिरामीको संख्या पनि बढ्दै गएको काँकरभिट्टास्थित मनिषा पोलिक्लिनिक एण्ड डाइगेनिष्टक सेन्टरका सञ्चालक स्वास्थ्यकर्मी दिलीप सुवेदी बताउँनुहुन्छ । उहाँका अनुसार विशेषगरी मौसमी ज्वरो, झाडापखाला, टाउको दुख्ने र शरीर चिलाउने जस्ता समस्या देखिएका छन । बढ्दो गर्मीका कारण फ्लु बिरामीहरुको बढेका छन् । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरोका बिरामीहरूको संख्या बढेको स्वास्थ्यकर्मी सुवेदीको भनाई छ ।

गर्मी बढिरहेको अवस्थामा टाउको दुख्ने, हातखुट्टा, जीउ दुख्ने र ज्वरो आउने तथा रुघाखोकी जस्ताका विरामी बढीरहेका छन् । फ्लूको संक्रमण बढेसंगै विभिन्न स्वास्थ्य केन्द्रहरुमा बिरामीको चाप बढीरहेको उहाँको भनाई छ । फ्लूले सामान्य स्वास्थ्य स्थिती भएका मानिसमा भन्दा मधुमेह, दम र अन्य दीर्घरोग भएका तुरुन्तै लाग्न सक्ने बताईएको छ । यस्तोबेला खानपिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाँव छ । खानपिनमा ध्यान नदिँदा पखला, कलेरा र छालासम्बन्धी रोग देखिने बताइएको छ ।

चिकित्सकहरुका अनुसार गर्मीमा प्रायः मानिसलाई लो ब्लड प्रेशरको समस्या देखिन्छ । तिव्र गर्मीका कारण शरीरबाट पसीनाको रुपमा अत्याधिक तरल पदार्थ र इलेक्ट्रोलाइट्स निस्कन्छ । यसको कमी हुनाले ब्लड प्रेशर कम हुने खतरा बढ्छ । यस्तो स्थितिमा रिँगटा लाग्ने, बेहोस हुने जस्ता समस्या हुन सक्छ । यस्ता समस्याबाट बच्नका लागि नियमित रुपले तरल पदार्थको सेवन गर्नु पर्छ । स्वास्थ्यकर्मीका अनुसार भाइरल ज्वरोबाट बच्न गर्मीबाट जोगिनुपर्ने हुन्छ, पर्याप्त मात्रामा पानी र झोलिलो पदार्थ खानुपर्ने हुन्छ । चर्को घाममा अनावश्यक हिँडडुल नगर्न आग्रह गरिएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.