२ कात्तिक, मेचीनगर : केहिदिनअघि झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको एउटा औषधि पसलमा आएर एकजनाले दुईवटा ‘एल्थ्रोसिन ’औषधि (एन्टिबायोटिक) मागे । पसलेले उनी सँग डाक्टरले सिफारीस गरेको औषधिको पूर्जा ‐प्रेस्क्रिप्सन) खोजे । त्यसपछि ती मानिसले भने‘ म सँग डाक्टरको कागज छैन् । मेरो घाटी धेरै वर्षदेखि दुःखीरहन्छ, दुखेपछि यही औषधि खान्छु निको भईहाल्छ ।’ औषधि व्यवसायीहरुका अनुसार यो त एउटा प्रतिनिधि घटनामात्र हो । पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधि सेवन बढ्दो छ । जस्का कारण एन्टिबायोटिक रेसिसटेन्सको समस्या विकराल बन्दै गइरहेको विज्ञहरुको भनाई छ ।
एन्टिबायोटिक औषधि प्रयोगबारे नेपाल सरकारले स्पष्ट गाइडलाइन दिएको भए पनि जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नेको संख्या कम छैन् । चिकित्सकको सिफारिसबिना कुनै पनि औषधिको प्रयोग गर्नुहुदैंन, तर जथाभावी एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति बढेसँगै जथाभावी एन्टिबायोटिक औषधिको सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दैं सरोकारवाहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।
‘कुनै रोग लागेमा सम्बन्धित विषयको विशेषज्ञ डाक्टरको सल्लाहमा मात्र एन्टिबायोटिक औषधि सेवन गर्नुपर्छ ’वरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुरले भन्नुभयो—‘ सामान्य रोग लाग्ने वित्तिकै सम्बनिधत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्ने नजीकैको औषधि पसलमा गएर यस्ता औषधि किन्ने र खाने प्रचलन बढ्दो छ ।’ जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको उहाँको अनुभव छ । ‘यस्ता औषधिले विरामीलाई तत्कालै त केही आराम देला तर दीर्घकालिनरुपमा यस्ता स्वास्थ्यमा नकरात्मक असर पार्छ । ’ डाक्टर ठाकुरले भन्नुभयो ।
मेचीनगर नगर अस्पताल झापाका प्रमुख (मेडिकल अधिकृत) डाक्टर आशिष निरौला स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न नहुने बताउँनुहुन्छ । जथाभावी एन्टिबायोटिक औषधि सेवनले मानिसको रोग प्रतिरोधक क्षमतामा कमी आउने र त्यसले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको डाक्टर निरौलाको अनुभव छ । ‘विरामीले तत्काल आरामका लागि जानी नजानी एन्टिबायोटिक औषधि किनेर खाए पनि एन्टिबायोटिक प्रयोग गर्ने बिरामीले डोज अनुसार औषधि प्रयोग नगर्दा बिरामीमा थप अन्य रोग लाग्दा लामो समय निको नहुनेजस्ता समस्या देखिने प्रवल सम्भावना हुन्छ ।’
जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्दा मानिसमा दीर्घकालीन असर पर्ने र पछि बिरामी हुँदा सामान्य एन्टिबायोटिक औषधिले ठीक हुने तथा कडा खालका महँगोका दामका एन्टिबायोटिक औषधिले मात्रै काम गर्ने मेची प्रादेशिक अस्पताल भद्रपुरका इन्टरनल मेडिसिन कन्सलटेन्ट फिजिसियन डाक्टर प्रविन भट्टराई बताउनुहुन्छ । चिकित्सकको प्रेसक्रिप्सनबीना कुनै पनि औषधि व्यवसायीहरुले एन्टिबायोटिक औषधि दिन नहुने मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरका आसञ्चालक दिलीप सुवेदीको भनाई छ । ‘समाजमा एन्टिबायोटिक औषधिका बारेमा चेतना छैन्, फलनाले यहि औषधि खाएर निको भयो अरे, अस्ती नै यहि औषधिले मेरो निको भएको जस्ता कुरा गरेर औषधको खोल बोकेरसम्म मानिस एन्टिबायोटिक औषधि किन्न आउने गरेका छन् ’ स्वास्थ्यकर्मी समेत रहेका सुवेदीले भन्नुभयो—‘एन्टिबायोटिकको सही प्रयोग नभएमा रोगको किटाणु मर्नुको सट्टा पछि त्यही औषधि प्रयोग गर्दा रोगका किटाणु मर्दैनन् यो अवस्थालाई एन्टिबायोटिक रेसिसटेन्स अर्थात किटाणुको प्रतिरोध क्षमतामा वृद्धि भनिन्छ ।’
स्वास्थ्य परीक्षणनै नगरी औषधि दिँदा एन्टिबायोटिकको गलत प्रयोग हुन पुगेको सरोकारवालाहरुको भनाई छ । जथाभावी एन्टिबायोटिक औषधिको सेवनले शरीर रेसिस्ट भइसकेको हुन्छ मेची प्रादेशिक अस्पताल भद्रपुरका वरिष्ट सर्जन डाक्टर विनेश झा भन्नुहुन्छ यस्तो अवस्थामा सामान्य औषधिले काम नगर्दे सम्भावना हुन्छ । चिकित्सकले सिफारीस गरेको पूरा औषधि नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा एन्टिबायोटिकको मात्रा मिलाएर दिन नसक्नेलगायतका कारण पनि जताभावी एन्टिबायोटिकको प्रयोग भईरहेको बताइएको छ ।
संक्रमण रोग विशेषज्ञ डा. सन्तोष दुलालको भनाई सापट लिनुपर्दा विश्वभरमा ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको र यसले आउने दिनमा ठूलै समस्या निम्त्याउन सक्छ । जस्का कारण सबैको पहुँचमा नहुने महँगो औषधि सेवन गर्नुपर्ने बाध्यता सर्वसाधारणले वेहोर्नु परेको छ । गरिब तथा विपन्न वर्गले त खरिद गरेर सेवन गर्न नै सक्दैनन् । जथाभावी एन्टिबायोटिक औषधि सेवनको विषयमा सर्वसाधारणलाई जनचेतना जगाउन आवश्यक रहेको मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरीटेन्टेण्ट डाक्टर रामबाबु खडकाको भनाई छ । एन्टिबायोटिकको व्यापक प्रयोग हुनु र त्यसको अनुगमन नुहुनुले एन्टिबायोटिक रेसिसटेन्सको समस्या विकराल बन्दै गइरहेको विज्ञहरुको भनाई छ ।
चिकित्सकहरुले समेत आफूखुसी बिरामीहरूलाई जथाभावी एन्टिबायोटिक औषधि सेवनका लागि सिफारीस गर्ने गरेको औषधि व्यवसायीहरुको भनाई छ । एकजना औषधि व्यवसायीले नाम नलेखीदिने शतृमा भने —‘एन्टिबायोटिक औषधि प्रयोगबारे नेपाल सरकारले स्पष्ट गाइडलाइन दिएको भए पनि अनुगमन र निरीक्षणको अभावमा चिकित्सकले आफूखुसी बिरामीहरूलाई जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्न दिने गरेका छन् । यसले पनि समस्या पैदा गरेको छ । ’