२० माघ, मेचीनगर : आगामी माघ २२ देखि २६ गतेसम्म पाठेघरको क्यान्सर विरुद्ध दिईने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानलाई प्रभावकारी बनाउन झापाको मेचीनगर नगरपालिकाले सवैमा आग्रह गरेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरुलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सर निवारण गर्नमा योगदान पुर्याउने अभियानको लक्ष्य रहेको छ ।
राष्ट्रिय खोप कार्यक्रम एच.पि.भि.खोप अभियान २०८१ पालिका स्तरीय खोप समन्वय समिति, आईतबार सम्पन्न एकदिने अभिमुखीकरण कार्यक्रममा नगरपालिकाले सवैमा यस्तो आग्रह गरेको हो । कक्षा छ देखि १० सम्म अध्ययरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिईने छ । विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य राखेको छ ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको सभाहलमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरको मुखको क्यान्सर रोगको अवस्था र एचपिभी खोप र अभियानको ओैचित्यमाथि प्रकाश पार्नुभयो । माघ २२ गतेदेखि २९ गतेसम्म पालिका भित्र खोप अभियान सञ्चालन हुने जनाएको छ । २८ गतेसम्म विभिन्न विद्यालयमा रहेका खोपकेन्द्रबाट र २९ गते खोप लगायन छुटेकाहरुलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट लगाउने योजना छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले खोप समन्वय समिति, नगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधिहरू,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्तीसहित विभिन्न शाखाका प्रमुखहरू स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सराकोरवाला निकायको बिचमा गरेको अभिमुखीकरणमा नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयका कुल ५ हजार ९ सय ८२ जना छात्रा तथा विद्यालय बाहिरका कुल १ हजार ८२ गरी कुल ७ हजार ६४ जनालाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा संयोजक सविता सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप अभियान सञ्चालनका लागि नगर भित्र १ सय ७२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । नगरभित्रका सामुदायिक तथा नीजि विद्यालय तथा स्वास्थ्य केन्द्रलाई केन्द्र निर्धारण गरिएको छ भने जसका लागि एकसय स्वास्थ्यकर्मी र १ सय ९४ जना स्वयम्सेवकसहित २ सय ९४ जना जनशक्ति परिचालन गरिने शाखाका सहसंयोजक राजप्रसाद अधिकारी ‐पुजन) ले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाका उप प्रमुख मीना पोख्रेल उप्रेतीले दोश्रो समस्याकारुपमा पाठेघरको क्यान्सर देखिएकाले यसको विरुद्ध दिईने सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सवैको दायित्व हुने बताउनुभयो । अभिमुखीकरणका सहभागिहरुले बिद्यालयका प्रतिनिधी, संचारकर्मी, उद्योग बाणिज्य संघ, वडाध्यक्ष, नागरिक समाज, आमा समुह लगायत सवै क्षेत्रले खोप सफल बनाउन भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् । तर, सानो परीक्षणले पनि क्यान्सरबाट जोगिन सकिने महिला रोग विशेषज्ञ डाक्टर सिवेश चौधरीको भनाई छ । एचपिभी डिएनए परीक्षणबाट पाठेघरको मुखको क्यान्सर गराउने जीवाणु छ कि छैन भन्ने पहिला नै पत्ता लाग्ने डाक्टर चौधरीको भनाई छ ।
यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सक बताउँछन्। अंकोलोजिष्ट डाक्टर सविता घिमिरेका अनुसार यो विधि ३० वर्ष उमेर पुगेका हरेक महिलामा प्रत्येक पाँच वर्षमा परीक्षण गर्न सकिन्छ ।
परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु भेटिएमा चिकित्सकले भिआइए परीक्षण (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) बाट शरीरमा एचपिभीले कोषिकामा कति असर परेको छ भनेर हेर्न सकिने चिकित्सकहरुको भनाई छ । पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन पाठेघर नै निकालेर फाल्नुभन्दा एचभिपी, भिइआइए परीक्षणजस्ता परीक्षण गरेमा समयमै क्यान्सरको जोखिम पत्ता लगाई उपचार गर्न सकिने डाक्टर चौधरीको सुझाव छ ।
‘पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) को हुँदा खोप लगाउन विज्ञले सुझाव दिएका छन् । रोग लुकाउनु र स्क्रीनिङमा ढिलो आउनु मुख्यःचूनौती रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका प्रमुख डाक्टर वीरेन्द्रकुमार यादवको भनाई छ । यदि बालबालिकाहरूले एचपिभी भाइरससँग सम्पर्कमा आउनु अघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिने,खोपले सङ्क्रमणबाट बचाउँने, तर शरीरमा पहिले नै भाइरस बसिसकेको छ भने भाइरस मुक्त बनाउन नसक्ने डाक्टर यादवको भनाई छ ।
‘पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपिभीको हुने गर्दछ’ डाक्टर यादवले भन्नुभयो — ‘त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो । अझ विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपिभी भाइरसले हुने गरेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपिभी भाइरसले हुने गरेकाले एचपिभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने र अध्ययनले यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएको चिकित्सकहरुको भनाई छ । त्यकारण पनि एचपिभी खोप आवश्यक छ ।
सामान्यतया यो भाइरस शरीरमा प्रवेश गरेको १५ देखि २० वर्षमा मात्र पाठघेरको मुखमा क्यान्सर हुन सक्छ । यो भाइरस शरीरमा प्रवेश गरे पनि ८० प्रतिशत व्यक्तिको शरीरबाट आफैं बगेर बाहिर जाने र बाँकी २० प्रतिशत व्यक्तिमा मात्र पाठेघरको मुखको क्यान्सर हुन सक्ने बताइएको छ । तथ्यांकअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने पहिलो क्यान्सर हो । नेपालमा प्रति एक लाखमा संख्यामा १५ जनामा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गर्छ । यस हिसाबले लक्षित वर्गमा धेरैको संख्यामा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एचपिभी निकैं प्रभावकारी र उपयोगी भएकाले सरकारले यसमा लगानी गर्दा खेर नजाने विज्ञहरुको भनाई छ ।