जीवनको दोस्रो ‘इनिङ’मा पूर्व मन्त्री डिगबहादुरलाई साथ दिन पुगिन् संविधान सभा सदस्य उषा

१९ जेठ, मेचीनगर : नेपाली काँग्रेसका लोकप्रिय तथा समाजसेवी र परिपक्क नेताहरुले पाको उमेरमा घरजम गरेका छन् । संविधान सभा सदस्य झापा मेचीनगर—६ काँकरभिट्टा निवासी ५३ वर्षीया उषा गुरुङ र मोरङ लेटाङ नगरपालिका—६ निवासी पूर्व युवा तथा खेलकुद मन्त्री ६१ वर्षीय डिगबहादुर लिम्बुले पाको उमेरमा घरजम बसाएका हुन् ।

१८ माघ २०८१ मा लेटाङ नगरपालिका—६ नम्बर वडा कार्यालयमा विवाह दर्ता गरी दुवैले विवाहलाई औपचारिक रूपमा पूर्णता दिएको नेतृ गुरुङले जानकारी दिईन् । उनले सामाजिक सञ्जालमा समेत जोडीको फोटो पोस्ट गरेकी छन् । गुरूङ २०६४ र २०७० को संविधान सभाको सदस्य भएकी थिइन् ।

पाको उमेरमा घरजम गर्ने यी जोडी त प्रतिनिधि पात्र मात्र हुन् । साहित्यकार कृष्ण धरावासीले पनि पाको उमेरमा आएर मञ्जु विमलीसँग दोस्रो विवाह गरेका थिए । काँग्रेस नेता बलबहादुर केसीको पनि पाको उमेरमा बिहे भएको हो । उनले राजनीतिमा सक्रिय रिना केसीसँग २०५९ सालमा विवाह गरेका हुन् । लामो समयको प्रेम सम्बन्धपछि उनीहरू एक भएका हुन् । रिना काँग्रेसको भगिनी संगठन नेपाल महिला संघको केन्द्रीय नेता हुन् ।

हुन त धेरैको पहिलो विवाह रहरको विवाह भएपनि र दोस्रो विवाहलाई आवश्यकताको विवाह हुने बताइएको छ । नेपालका थुप्रै नेताहरुले मात्र नभएर सेलिब्रेटिहरु समेत पाको उमेरमा विवाह बन्धनमा बाधिएका छन् ।

नेतृ गुरुङको पहिलो विवाह करीब १५/१६ वर्षमा भएको थियो । विविध कारणले पहिलो विवाह सफल नभएपछि उनले पाको उमेरमा दोस्रो विवाह गर्नु आवश्यकता र बाध्यता भएको प्रतिक्रिया दिईन् । नेपाली काँग्रेस महासमिति सदस्य समेत रहेकी समाजसेवा र होटल व्यवसायमा सक्रिय गुरुङले आफ्नो साथमा छोरा, बुहारी र नाति बस्दै आएको बताईन् । त्यसपछि,उनले विगत उप्काउन चाहिनन् ।

मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेस मोरङका सभापति पूर्व मन्त्री लिम्बुकी श्रीमती गंगामायाको २०८० पुसमा निधन भएको थियो । उनीहरूका १ छोरी र १ छोरा छन्

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा काँग्रेस नेता लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

विवाह पूर्व दुई नेताबीच लामो समयसम्म विवाहकै विषयमा छलफल भएको थियो । तर, दुवै परिपक्क, देश, समाज, परिवार बुझ्ने नेताहरु भएकै कारण निर्णयमा पुगेको बताइएको छ । ‘हाम्रो यो विवाह ‘जनवादी विवाह’ जस्तै भयो ’ नेतृ गुरुङले भनिन्— ‘न जन्ती न घर गाउँले, न पाटी न भोज न सिन्दुर न पोते एक पैसा खर्च नगरी हामीले वडा कार्यालयमा गएर विवाह दर्ता गरी यो यात्रा अघि बढाएका हौँ ।’

२०८० वैशाखमा युवा तथा खेलकुद मन्त्री बनेका लिम्बु अहिले एउटा विषयमा विद्यावारिधी ‘पीएचडी’ को तयारीमा छन् । उनै लिम्बुको स्थायी बसोबास रहेको मोरङको लेटाङ घरमै रहेको नेतृ गुरुङले बताईन् । आवश्यकता अनुसार उनको माइती घर झापाको मेचीनगर पनि आउने उनले बताईन् । दुबै सकरात्मक सोचका साथ यो निर्णयमा पुगेको उनको भनाई छ । नेताद्वय लिम्बु र गुरुङले आफ्ना सन्तानलाई हुर्काएर बढाएर उचित शिक्षादिक्षा प्रदान गरी विवाह दान समेत गरेका कारण उनीहरु आफ्नै खुट्टामा उभिन सक्ने भएको बताएका छन् ।

प्रेममा उमेरको हदबन्दी लागू हुँदैन भने बिहेमा पनि त्यो लागू नहुने रहेछ । पाको उमेरमा व्यक्तिलाई झन् बढी सहारा र साथको खाँचो हुन्छ । यस्तो उमेरमा एक्लो व्यक्ति उदासी र रुग्णताबाट व्यथित हुन्छ । जीवनको परिपक्व कालखण्डमा जीवनसाथीको अँगालोमा बाँधिएका थुप्रै व्यक्ति हाम्रो गाउँघर र समाजमा छन् । ‘बुढेसकालमा साथीको आवश्यकता पर्छ’ गुरुङले भनिन् यसकारण हामीले एक अर्कालाई बुझ्यौ, चिन्यौँ, हरेक दुःखसुखमा एकले अर्कालाई साथ सहयोग गर्ने बाचा र अठोटका साथ आगामी यात्रा अघि बढाएका हौँ ।’ जीवनको दोस्रो ‘इनिङ’मा साथ दिन आइपुगेकी उषाले गर्दा जीवन व्यवस्थित हुनेमा पूर्व मन्त्री लिम्बु समेत ढुक्क छन् । ‘जीवनसाथी साथी नै हुनुपर्छ भन्ने दुवैको मान्यता छ । ’

साहित्यकार कृष्ण धरावासीको भनाई सापट लिने हो भने आफ्नो पहिलो विवाहलाई रहरको विवाह र दोस्रो विवाहलाई आवश्यकताका विवाह भन्छन् उनी । ‘किनभने बुढेसकालमा साथीको आवश्यकता पर्छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.