६ साउन, मेचीनगर : बंगलादेशमा आरक्षणबिरुद्ध भएको आन्दोलन भड्किएपछि त्यहाँ पढन गएका नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । केहीदिनयतादेखि नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका हुँदै पैदलमार्ग भएर स्वदेश फर्किने नेपाली विद्यार्थीहरुको लर्काे निक्कै ठूलो रहेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । एकसाताको अवधिमा काँकरभिट्टा नाका भएर पैदलमार्ग हुदैं सातसय जना विद्यार्थी स्वदेश फर्किसकेको अभिलेख कार्यालयसँग छ ।
बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन केही दिनयता हिंसात्मक बनेको छ । अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन । बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएका छन । बंगलादेश सरकारले देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ । आन्दोलन चर्किंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै फर्कन थालेका अध्यगमन कार्यालय काँकरभिट्टाको भनाई छ ।
त्यसकारण पनि त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थी स्वदेश फर्किन थालेको अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख मोहन पनेरुले जानकारी दिनुभयो । ‘विहीबार यो नाका भएर ८५ जना विद्यार्थी स्वदेश आएका थिए ’ कार्यालय प्रमुख पनेरुले भन्नुभयो—’ त्यसपछिदेखि दैनिक यो संख्या बढ्दो छ । ’ आइतबार मध्यान्हसम्म काँकरभिट्टा नाका हुर्दै पैदलमार्ग भएर तीनसय ९० जना विद्यार्थी फर्किसकेका छन् । शुक्रबार एकसय १४, शनिबार एकसय ४१ र आइतबार मध्यान्हसम्म ५० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । कार्यालय प्रमुख पनेरुका अनुसार असुरक्षित महशुस गरेर नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।
बंगलादेशमा करीव तीनहजार विद्यार्थी अध्ययनका क्रममा रहेको अनुमान गरिएको छ । दिनप्रतिदिन आन्दोलनले उग्ररुप लिएपछि नेपाल फर्किनेको संख्या निक्कै ठूलो रहेको बंगलादेशबाट आइतबार मध्यान्ह काँकरभिट्टा अध्यागमन कार्यालय काँकरभिट्टा आईपुगेका विद्यार्थीहरुको भनाई छ । ‘ अब हामी बंगलादेश कहिले फर्किने हो कुनै टुङ्गो छैन् ’ती विद्यार्थीहरु भन्छन—‘ आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको महशुस गरिहेका छन । ’ असुरक्षित महशुस गरेका नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्काउन शुरु गरेको छ । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन ।
बंगलादेशबाट स्वदेश फर्किन चाहने विद्यार्थीलाई परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयन गरिरहेको बताईएको छ । हालसम्म झण्डै आठसय नेपाली विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै बंगलादेशबाट नेपाल आउने क्रममा छन् । ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ । बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको छ ।